+
+

गोरखा नगरपालिकामा नगरसभा माग गर्दै मेयरलाई ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:१९

२४ माघ, गोरखा। जिल्लाका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिका निर्धारित समयमा नगर सभा गर्न असफल भएको छ । पुस महिनाभित्र नगर सभा गरिसक्नुपर्ने भएपनि नगर प्रमुख कृष्ण रानामगरले हालसम्म नगरसभाको आह्वान रगेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि (ऐन) २०७५ मा एउटा सभा सम्पन्न भएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने प्रावधान छ ।

सोही अनुसार गत असारमा बर्षे अधिवेशन गरेको नगरपालिकाले पुस महिनामा नगर सभा अधिवेशन गर्नुपर्ने हो, तर हुन सकेको छैन ।

मेयर रानाले हालसम्म नगर सभाको आह्वान नगरेको भन्दै उपप्रमुख मसलीमाया थोकरले असन्तुष्टि जनाइन् । ‘मेयरसाबले आह्वान नै नगरेकाले नगरसभा हुन नसकेको हो’, उनले भनिन्, ‘उहाँ बहुमत कार्यपालिका सदस्यको अस्तित्व स्वीकार्न सक्नुहुन्न । सबैसंग समन्वय र सहकार्य गर्नुपर्छ भन्ने मानसिकता नहुँदा उहाँ कार्यपालिका बैठक डाक्न पनि सक्नुहुन्न, नगरसभा आह्वान गर्न पनि सक्नुहुन्न ।’

नगरसभा नहुँदा धेरै कामहरु प्रभावित बनेको उपप्रमुख थोकरले बताइन् । नगर सभाको अधिवेशन बोलाउन माग गर्दै उनीसहित ४३ जना नगर सभा सदस्यहरुले मेयरको ध्यानाकर्षण गराएका छन् ।

सोमबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले नगर सभाको बैठकबाट निर्णय गरी सम्पादन गर्नुपर्ने कामहरु सभा नभएकै कारण प्रभावित भएको बताएका छन् ।

सभा नभएकै कारण कार्यपालिका बैठकमा पेश गरिएका खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन लगायतका प्रस्तावहरु निर्णय हुन सकेको छैन । ‘भू-उपयोग क्षेत्र बर्गीकरण नभएकाले जग्गा खरिद बिक्री अवरुद्ध भई जनताको आयस्रोतमा असर परेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नदिजन्य पदार्थ रहेको क्षेत्रहरुको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म स्वीकृत हुन नसक्दा उपयोग र बिक्री वितरणमा पनि प्रभाव परेको ।’

नगरसभा नभएकै कारण पृथ्वी जयन्तीका दिन भएको खर्च भुक्तानी हुन नसकेको र कृषि र पशु विकासका कार्यक्रमहरु समेत कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तत्काल अधिवेशन गरी प्रभावित बनेका कार्यहरु सञ्चालन गर्न उनीहरुले माग गरेका छन् ।

समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रशासकीय अधिकृतको भूमिका एकांगी प्रवृत्तिको भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । नगरसभा सम्बन्धी एजेण्डामा नै प्रवेश नगरी कार्यपालिकाको बैठक अन्त्य भएकाले नगरसभा आह्वान गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

‘गत पुस १७ गते कार्यपालिकाको बैठक आह्वान भएको थियो । त्यो बैठकमा २० भन्दा धेरै एजेण्डाहरु थिए । तीमध्ये एक नगरसभा आयोजना सम्बन्धी पनि थियो, तर तीन/चार वटा एजेण्डामा छलफल हुन नपाउँदै बैठक टुंगियो’, उनले भने ।

यता नगर प्रमुख रानाले छिटै नगरसभा गर्ने बताएका छन् । कार्यपालिकाको बैठक हुन नसक्दा नगरसभा हुन नसकेको बताउँदै उनले कार्यपालिकाको बैठक गरेर नगरसभा गर्ने जानकारी दिए ।

पुस मशान्तभित्र नगरसभा गरिसक्नुपर्ने बाध्यकारी नियम भने नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?