+
+

वीपीमा सहमति : तोकियो अन्तर्वार्ता मिति, काममा फर्किए शिक्षक कर्मचारी

हरि अधिकारी हरि अधिकारी
२०८० माघ २७ गते १७:२७

२७ माघ, विराटनगर । एक महिनादेखि काम छाडेर आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् ।

रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी काममा फर्किएका हुन् ।

शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले छ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णयपछि शनिबार उपकुलपतिको कार्यलयमा भएको छलफलले आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्किने सहमति भएको हो ।

उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र सो को नतिजा एक साताभित्र प्रकाशन गर्ने, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ ।

वर्षाैदेखि रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग गर्दै शिक्षक कर्मचारी पटक पटक आन्दोलित भएका थिए । प्रतिष्ठानले २०७९ पुस २० र माघ २५ गते बढुवाका अन्तर्वार्ताको सूचना निकालेको थियो । तर बढुवा प्रक्रिया रोकिएको थियो ।

रोकिएको बढुवा प्रक्रिया बारेमा निर्णय गर्न भन्दै उपकुलपति कार्कीले २५ पुसमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर उपकुलपति कार्कीले बैठक नराखेपछि शिक्षक कर्मचारी २९ पुसदेखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए ।

कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपकुलपति कार्की अन्तर्वार्ता सञ्चलन गर्न तयार भएका हुन् ।

एक वर्षअघि प्रकाशित विज्ञापन अनुसार बढुवा प्रक्रिया रोकिएपछि २३ असोजमा पनि प्रतिष्ठनका १७७ चिकित्सकले कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएर आन्दोलनमा उत्रिएका थिए ।

२० कात्तिकमा आन्दोलनरत शिक्षक, कर्मचारीहरु र व्यवस्थापन पक्षको छुट्टा छुट्टै ४ बुँदे सहमति भयो । सहमतिमा आवश्यक विधि र प्रक्रिया पूरा गरेर बढुवाका लागि पुष २ देखि १५ गतेसम्म अन्तर्वार्ता सञ्चालन गर्ने बुँदा उल्लेख थियो ।

तर उपकुलपतिले चासो नदिएपछि २६ पुसमा बसेको शिक्षक तथा कर्मचारी कल्याण समाजको संयुक्त बैठकले उपकुलपति विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?