+
+

चुपचाप काठमाडौं हिंडेका मिटरब्याज पीडितको टाउकोमा बोतल, रड र ढुंगा

उपचार खर्च नहुँदा बिचल्लीमा घाइते

सुवास पण्डित सुवास पण्डित
२०८० फागुन ३ गते २०:५४

३ फागुन, काठमाडौं । आफ्ना पीडा राज्यलाई सुनाउन भन्दै काठमाडौंतर्फ पैदल हिंडेका १६ जना मिटरब्याज पीडितहरू अहिले चितवन मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।

कसैको टाउको, कसैको खुट्टामा, कसैको कम्मरमा, कसैको गालामा पट्टी बाँधिएको छ । गत मंगलबार साँझ मकवानपुरको मनहरीमा स्थानीय बासिन्दाले उनीहरुमाथि आक्रमण गरेका थिए । ७० वर्ष कटेका सर्लाही हरिपुर नगरपालिका लक्ष्मीपुरका सागर मन्सुरको टाउकोमा १७ वटा टाँका लगाइएको छ ।

रगताम्य भएर सडकमा ढलेका सागरले लगाएको भित्री गन्जी र सर्टमा रगत सुकेको दाग देखिन्छ । टाउकोमा पट्टी बाँधिएका उनको ढाँडमा समेत चोट छ । बेडबाट उठ्न पनि समस्या छ । सागरको प्रश्न छ, ‘म मेरा दुःख र कष्ट सुनाउन हिंडेको बुढाले कसको के बिगारिदिएको थिएँ र मलाई रगाम्य हुने गरी कुटपिट गरियो ?’

१७ दिन अगाडि झापाको काँकडभिट्टाबाट हिंडेका मिटरब्याज पीडितहरुको टोली र पश्चिमको कञ्चनपुरबाट हिंडेको पीडितहरूको टोली बिहीबार साँझ नारायणगढ आइपुगेको छ ।

यो टोली मकवानपुरको मनहरीमा आइपुग्दा केही स्थानीयले आक्रमण गरी घाइते बताएको महोत्तरीका राकेश चौधरीले बताए । घटनामा टाउकोमा चोट लागेर घाइते भएका चौधरी पनि चितवन मेडिकल कलेजमा उपचार गराइरहेका छन् ।

‘हामी लाइनमा नै आइरहेका थियौं, एउटा स्कुटरले आएर ठक्कर दियो, हामीले केही गरेका थिएनौं, अलि अगाडि पुगेपछि २५/३० जना केटाहरु आएर आक्रमण गरे’, चौधरी भन्छन् ‘एम्बुलेन्समा हालेर हामीलाई अस्पताल ल्याए, अरु के के भाछ थाहा भएन ।’

खुट्टामा चोट लागेका सर्लाही चन्द्रनगर गाउँपालिकाका तैयव मन्सुरले १५ दिनदेखि सडकमा अनुशासित भएर हिँडेका आफूहरुलाई मनहरीमा आएपछि अन्धाधुन्ध आक्रमण गरिएको बताए ।

‘हामी आफैं पीडित हौं, कसैसँग पनि अरुको ठाउँमा निहुँ खोज्ने कुरा हुँदैन, कसैको केही बिगारेका छैनौं, पैदल यात्रा गर्दा धेरै ठाउँमा पीडित हुन् भनेर स्थानीयले सकेको सहयोग पनि गर्नुभयो, तर मनहरीमा आउँदा रड, बियरका बोतल र ढुंगा हानियो’ मन्सुर भन्छन् ।

उनले अगाडि भने, ‘हामीले यो देशको नागरिक जस्तो पनि भइएन । मान्छे जस्तो पनि गरेनन् पशु जस्तो ब्यवहार गरेर पिटे ।’ घटनामा मिटरब्याज पीडित १६ जना र एक स्थानीय बासिन्दा घाइते भएका छन् । तैयवले प्रहरी प्रशासन घटनास्थलमा भए पनि मुकदर्शक बनेको गुनासो गरे ।

अस्पतालमा उपचारको खर्च तर्न नसकेपछि उनीहरु डिस्चार्ज हुन पाएका छैनन् । मिटर ब्याज पीडित मजदुर संघर्ष समितिका प्रवक्ता प्रवक्ता निर्ग नविनले घाइतेहरुको उपचारमा सहजीकरण गरिरहेका छन् ।

खुट्टामा चोट लागेर हिँड्न नसक्ने अवस्था भए पनि अस्पतालबाट डिस्चार्ज भए काठमाडौं जाने तैयव बताउँछन् । ‘जग्गा पनि छैन, पैसा पनि छैन, सडकमा हिँड्दा पनि मार्न लागे, बरु सरकारले नै हामीलाई गोली हानोस्, मारिदियोस्’, तैयव आक्रोश पोख्छन् । अर्का घाइते राकेश चौधरीले अस्पतालबाट डिस्चार्ज हुन पाए घाइते अवस्थामै भए पनि काठमाडौं जाने बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले मिटरब्याज पीडित माथि आक्रमण गर्ने कसैलाई पनि अहिलेसम्म पक्राउ नगरिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रजिअ सेढाईले मिटरब्याज पीडितहरु अराजक, आक्रामक र गाली गलौजमा उत्रिएको आरोप लगाए । घटनापछि घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाउन आफूले समन्वय गरेको उनको भनाइ छ ।

चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले घाइतेहरूको उपचारमा अहिलेसम्म १ लाख ८० हजार रुपैयाँ खर्च भएको बताए । ‘पहिला उहाँहरुको उपचार गर्नमा लाग्यौं, पैसा पनि मागेनौं, समयमा नै उपचार पाउनुभयो’ देवकोटाले भने, ‘अहिले सबैको अवस्था स्टेबल छ, डिस्चार्ज गर्न मिल्ने अवस्थामा हुनुहुन्छ ।’

देवकोटाले उपचारमा लागेको रकमको केही छुट अस्पतालले गर्न सके पनि पूर्ण छुट भने गर्न नसकिने बताए । संघर्ष समितिका प्रवक्ता प्रवक्ता निर्ग नविनले उपचारमा लागेको खर्च तिर्ने रकम आफूहरुसँग नभएकाले सरकार र अस्पतालले सहयोग गर्नुपर्ने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?