+
+

लोकतन्त्र जोगाउन हरेक दिन लड्नुपर्छ : ईयू राजदूत लोरेन्जो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते ११:५०

४ फागुन, काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले लोकतन्त्र र स्वतन्त्रतामाथि हमला भइरहेको भन्दै त्यसलाई बचाउन हरेक दिन लड्नुपर्ने बताएकी छन् ।

यूरोपेली संघ र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठका अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजदूत लोरेन्जोले नेपालमा मात्रै नभएर विश्वभरि राजनीतिक ध्रुवीकरण तीव्र भइरहेको भन्दै त्यसको रक्षाका लागि मिलेर काम गर्नुपर्ने बताएकी हुन् ।

‘विश्वभर नै राजनीतिक ध्रुवीकरण भइरहेको देखिन्छ । त्यसमा मुख्य गरी गलत सूचना, अफवाह र भ्रामक समाचारले इन्धनको काम गरिरहेको देखिन्छ’ उनले भनिन्, ‘लोकतन्त्र र स्वतन्त्रतामाथि हमला भइरहेको छ । त्यसलाई बचाउन हामीले हरेक दिन लड्नुपर्छ ।’

उनले नेपालमा संघीयता कार्यान्वयनका लागि यूरोपेली संघको साथ र सहयोग रहने बताइन् । स्थानीय शासन, संघीयताको सुदृढीकरण, समावेशिता, हरित ऊर्जा प्रवर्द्धन र मानव पूँजी विकासलाई तीव्रता दिन नेपाललाई युरोपेली संघले सहयोग गरिरहने उनको भनाइ थियो ।

‘नेपालमा लोकतन्त्र र सुशासन सुदृढ गर्न तथा संघीयता कार्यान्वयन र स्थानीय तहको कार्यसम्पादनलाई अभिवृद्धि गर्न आगामी दिनमा यूरोपेली संघले नेपालसँग सहकार्य गर्नेछ’ उनले भनिन्, ‘शान्ति प्रक्रियापछि  शिक्षादेखि रोजगारी सिर्जनासम्म हामी नेपालको शान्ति र समृद्धिका लागि साझेदारको रूपमा काम गरिरहेका छौं। त्यसलाई जारी राख्ने छौं।’

राजदूत लोरेन्जोले शिक्षा क्षेत्रलाई ईयूको सहयोगले नेपालमा धेरै सकारात्मक परिणाम दिएको दावी गर्दै जलवायु परिवर्तनसँग जुध्न, रोजगारी सिर्जना गर्न, व्यापारका अवसरहरू सिर्जना गर्न र हरित अर्थतन्त्रमा निर्माणमा पनि मद्दत पुग्ने बताइन् ।

नेपालमा संघीयतामाथि प्रश्न उठिरहेका बेला उनले त्यसको  बचाउ गर्दै नेपालको संविधानले राजनीतिक स्थायित्व दिएको तर्क गरिन् । नेपालको संविधान भर्खर मात्रै ७ वर्ष पुरानो भएको भन्दै अहिले नै प्रश्न गर्ने बेला भइनसकेको उनको तर्क थियो । ‘नेपालको संविधान बनेकै सात वर्ष मात्रै भयो । केही प्रश्नहरू उठेको साचो हो, तर त्यसलाई सम्बोधन गर्ने एउटै उपाय भनेको प्रभावकारी वितरण सुनिश्चित गर्नु हो । अहिले पनि संघीयताले उल्लेखनीय प्रगति गरेको छ, तर केही भ्रम पनि रहेको देखिन्छ ।’

ईयू र नेपालले सन् १९७४ मा स्थापना गरेको राजनीतिक तथा आर्थिक सम्बन्धको ५० औं वर्षगाँठलाई ‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ मनाइरहेको छ । उनले नेपालको शान्ति र समृद्धिको लागि सँगसँगै काम गर्ने दृढ प्रतिबद्धताका कारण दुई पक्षबीचको साझेदारी हरेक वर्ष थप बलियो हुँदै गएको बताइन् ।

नेपाल संघीय लोकतन्त्रको रुपमा स्थापित भएको छ भने तत्कालीन युरोपेली आर्थिक समिति सन् १९९३ मा इयू भएको छ । यस्तै, सन् २०१० मा इयू एक्सटर्नल एक्सन सर्भिस स्थापना गर्दै साझा वैदेशिक तथा सुरक्षा नीति तर्जुमा गरेको छ ।

सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नति गर्ने सन्दर्भमा ईयू र यसका सदस्य राष्ट्रहरूले सहयोग गर्ने बताइरहेका छन् ।

राजदूत लोरेन्जोले वर्षभरि मनाइने विभिन्न कार्यक्रमहरुको पनि जानकारी दिइन् । त्यसमध्ये नेपाल ईयू चलचित्र महोत्सव मार्च २० मा सुरु हुने बताइन् ।

उनले नेपालले वायुसेवा सुरक्षाको क्षेत्रमा प्रगति भइरहेको उल्लेख गर्दै ईयूको सूची सुरक्षा सूचीबाट हट्नको लागि अझै स्पष्ट योजना सहित अघि बढाउनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?