+
+
आईसीसी क्रिकेट विश्वकप लिग-२ :

एसोसिएट बादशाह नेदरल्यान्ड्सविरुद्ध नेपालको अग्नि परीक्षा

‘डच टोली धेरै माथिल्लो स्तरको टोली हो, हामी एसोसिएटको नम्बर वान् टिम बन्ने हो भने उनीहरुलाई हाम्रो घरेलु मैदानमा हराउनु पर्छ’

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन ४ गते २१:१२

४ फागुन, काठमाडौं । पछिल्लो एक वर्षमा घरेलु मैदानमा नेपाली क्रिकेटले सफलता हात पार्न सायद केहि बाँकी रहेन । त्यसैले धेरैले नेपाललाई घरेलु मैदानमा हार्न नजानेको टोली पनि भने ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा अन्तिम ८ खेल (नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईसँग समान २)मा जित र एसीसी प्रिमियर कपको उपाधि उचाल्दै नेपालले पहिलो पटक एसिया कप खेल्यो ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट सेमिफाइनलमा युएईलाई हराउँदै ९ वर्षपछि पुन विश्वकपमा पुग्यो । मोन्टी देशाई गतवर्ष नेपालको मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले नयाँ ब्रान्डको क्रिकेट खेल्यो । नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध क्रमशः २८५, २७४, २७४ र २१२ रनको लक्ष्य सफल पूर्वक पूरा गरेको थियो ।

मोन्टीको ह्याप्पी ड्रेसिङ रुम र एक बलको युद्ध मन्त्रमा नेपालले एकपछि अर्को जित हात पार्‍यो । मोन्टीको आगमनमा लगातार १३ ओडीआई खेल घरेलु मैदानमा जितेको थियो । त्यो जित यात्रामा नामिबियाले बिहीबार ब्रेक लगाएको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजबाट लिग-२ को २०२४/२०२७ सिजन सुरुवात भएको छ । एसोसिएटको बादशाह नेदरल्यान्ड्सले नेपालसँग खेल्दै लिग–२ को सुरुवात गर्नेछ । यसअघि नेदरल्यान्ड्सले १२ टेस्ट टोलीसँग सुपर लिगमा प्रतिस्पर्धा गरेको थियो ।

नेदरल्यान्ड्सको अविश्वसनीय सफलता

नेदरल्यान्ड्स विश्व क्रिकेटमा एसोसिएटको प्रेरणादायी टोली बन्दै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल ए टीमका प्रशिक्षक ज्ञानेन्द्र मल्लको मुल्यांकन अनुसार डच टोली ठूला खेल खेलेर नै यो स्थितिमा आएको हो ।

इंग्ल्यान्ड, दक्षिण अफ्रिकामा घरेलु क्रिकेट तथा विश्वभरका फ्रेन्चाइज लिग खेलेर डच खेलाडी निखारिएका छन् ।

गत जुनमा आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्स पहिलो रोजाइका ८ खेलाडी बिना नै जिम्बाब्वे, आयरल्याण्ड र वेस्टइन्डिज जस्ता टेस्ट टोलीलाई पछि पार्दै विश्वकपमा पुगेको थियो । काउन्ट्री टोलीले खेलाडी फुकुवा नगर्दा दोस्रो रोजाइका खेलाडी लिएर नेदरल्याण्ड्स विश्वकप छनोटमा आएको थियो ।

नेपाललाई १६७ रनमा अल आउट गर्दै ७ विकेटले हराएको थियो । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिजले दिएको ३७५ रनको विशाल लक्ष्य बराबरी गर्दै सुपर ओभरमा जित निकालेको थियो । सुपर ओभरमा जेसन होल्डरलाई लोगन भान बिकले ३० रन हानेका थिए ।

यी तथ्य अनुसार नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स उच्च स्तरको टोली हो । यसअघि स्कटल्यान्ड थियो । नेपालले घरेलु मैदानमा अमेरिका, ओमान, युएई, पपुवा न्युगिनी, क्यानडा, नामिबिया, स्कटल्यान्डसँग ओडीआई खेलिसकेको छ ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन

विश्वकपमा नेदरल्यान्ड्सले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई ३८ रनले स्तब्ध पार्‍यो । २४६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमै अल आउट गरेको थियो ।

क्विन्टन डि कक, रास्सी भान डर डुसेन, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता ब्याटर डच बलरसामु चुक्न पुगेका थिए ।

कागिसो रबाडा, लुन्गी एनगिडी, जेराल्ड कोट्जी र मार्को यानसन जस्ता तीव्र गतिका बलरविरुद्ध ११२–६ को अवस्थाबाट २४५ रनमा पुगेको थियो ।

२०२२ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको थियो । त्यो हारले दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न सकेको छैन ।

स्टार ब्याटरको बाहुल्यता

डच टोलीको मुख्य विशेषता नै उत्कृष्ट ब्याटिङ लाइनअप र अनुभवी खेलाडी हुनु हो । ओपनरमा म्याक्स ओडाउड र विक्रमजित छन् । ओडाउड एसोसिएटका एक आक्रामक ब्याटर र भारतीय मुलका बायाँ हाते सिंह क्लासले भरिपूर्ण ब्याटर हुन् ।

कप्तान तथा विकेटकिपर स्कटको जति तारिफ गरे पनि कम हुन्छ । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ७८ र बंगलादेशविरुद्ध ६८ रन उदाहरण मात्रै हुन् । एसोसिएटका वर्तमान समयका उत्कृष्ट कप्तान र ब्याटर उनको विकेट निकै महत्वपूर्ण हुनेछ ।

भारतीय मुलका तेजा निडामानिरु हिटर हुन् । अलराउन्डर बास डि लिडे, वेस्ली ब्यारेसी र दक्षिण अफ्रिकी मुलका स्याब्रान्ड एंगेलब्रेक्ट जस्ता ब्याटर मध्यक्रममा छन् ।

विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रनको शतकीय इनिङ र पाँच विकेट लिएका लिडे वर्तमान एसोसिएटका उत्कृष्ट अलराउन्डर हुन् ।

नेदरल्यान्ड्सले खराब सुरुवातबाट पनि राम्रो पूनरागमन गर्न सक्छ । नेदरल्यान्ड्सको स्पिन अलराउन्डर रोलेफ भान डर मर्वे, आर्यन दत्त र शरिज अहमद जस्ता खेलाडीले ९ नम्बरसम्म ब्याटिङ देखिन्छ ।

दक्षिण अफ्रिकामा तयारी

नेदरल्यान्ड्सले अघिल्लो महिना दक्षिण अफ्रिकाको फ्रेन्चाइज लिग एसएस टी-२० का ६ फ्रेन्चाइज टोली सनराइजर्स इस्टर्न केप, डुर्बिन सुपर जायन्ट्स, पार्ल रोयल्स, जोबुर्ग सुपर किंग्स, प्रेटोरिया क्यापिटल्स र एमआई केप टाउनसँग टी–२० खेल खेलेको थियो ।

ती टोलीबाट विश्वका चर्चित खेलाडीहरुले खेलेका थिए ।

नेदरल्यान्ड्सको कमजोरी

डच खेलाडीको मुख्य समस्या स्पिनमा संघर्ष गर्नु हो । टियुको मैदान पनि स्पिनर सहयोगी छ । त्यो कमजोरीमा नेपालले भरपूर्ण फाइदा उठाउन सक्छ । कप्तान स्कट एडवार्ड्स बाहेक अन्य खेलाडी स्पिन खेल्न कठिन मान्ने गर्दछन् ।

बास डि लिडे र भिभियन किंग्मा तीव्र गतिका बलरको रुपमा छन् । लोगन भान बिक र पाउल मार्केन दुई प्रमुख तीव्र गतिका बलर छन् । नेदरल्यान्ड्सले नेपाली ब्याटरलाई शर्ट बल लक्ष्य बनाउनेछ ।

जेसन होल्डरलाई सुपर ओभरमा ३० रन प्रहार गर्ने लोगन भान बिक, मध्यक्रमका दुई भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलर पाउल भान मार्केन र ब्रेन्डन ग्लोभर यस पटक नेपाल भ्रमणमा छैनन् ।

नेपालमा खेलेको अनुभव

२०२१ मा नेदरल्यान्ड्स त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाल आएको थियो । नेपालसँग फाइनलमा २३९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेदरल्यान्ड्स ९६ रनमा अल आउट भएको थियो ।

सिरिजको दोस्रो खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य पूरा गरेको थियो । पहिलो खेलमा ९ विकेटले पराजित भएको थियो । त्यो समय नेपाल आएका ओडाउड, लिडे, स्कट एडवार्ड्स, भिभियन किंग्मा, विक्रमजित र आर्यन यसपटक पनि छन् ।

कडा प्रतिस्पर्धाको अपेक्षा

नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी उपलब्ध हुनेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउन चाहन्छ ।

पछिल्लो खेलमा नामिबियाविरुद्ध १३३ रनमा ६ विकेट लिएको हुँदा मनोबल उच्च छ । ब्याटिङ त ललित राजवंशी बाहेक सबै खेलाडीले राम्रो गर्छन् । शनिबार हुँदा दर्शकको पनि बाक्लो उपस्थितिको अपेक्षा छ । विश्वकपमा तहल्का पिटेको नेदरल्यान्ड्स र नेपालबीच कडा प्रतिस्पर्धा हुने छ ।

‘डच टोली धेरै माथिल्लो स्तरको टोली हो, हामी एसोसिएटको नम्बर वान् टिम बन्ने हो भने उनीहरुलाई हाम्रो घरेलु मैदानमा हराउनु पर्छ,’ पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन, ‘त्यसका लागि एक उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । सामान्य प्रदर्शन पर्याप्त हुनेछैन ।’

नेपाली क्रिकेटमा असम्भव केही नरहेको दाबी गर्दै उनी नेदरल्याण्ड्ससँगको खेलले त्यसलाई फेरि प्रमाणित गर्नु पर्ने बताउँछन् ।

नेपालको टोली :

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?