+
+

नामिबिया नेदरल्यान्ड्ससँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १५:०८

१७ फागुन, काठमाडौं । माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ ।

पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो ।

नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए ।

जेपी कोट्जी १५ बलमा ३ चौका र २ छक्कासहित २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए ।

नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी-२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी-२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो ।

नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले ।

नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी-२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध टीयूमा नै १३३ रनको शतकीय इनिङ खेलेका थिए ।

साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।

दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । यो टी-२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो ।

स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका थिए ।

तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा रन आउट भए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १-१ विकेट लिए ।

नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो ।

नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?