+
+

प्रदेश र स्थानीय तहले बल्ल पाए पोहोरको रोयल्टी हिस्सा

२०७९/८० मा सरकारले कुल ११ अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो । त्यसको आधा संघ र बाँकी प्राकृतिक स्रोत तथा वित्त आयोगले बनाइदिएको मापदण्डका आधारमा प्रदेशबीच बाँडफाँट हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २०:२८

८ फागुन, काठमाडौं । सरकारले गत वर्ष प्राकृतिक स्रोत प्रयोगबापत् संकलन गरेको रोयल्टी हिस्सा प्रदेश र स्थानीय तहले बल्ल पाएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक स्रोतबाट गत वर्ष संकलन भएको रोयल्टीमध्ये प्रदेश र स्थानीय तहले पाउने हिस्सा उनीहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियोे ।

‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार, विधि र वित्तीय हिस्सासहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने’ भन्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको ५० प्रतिशत हिस्सा संघमा रहन्छ । बाँकी ५० प्रतिशतबाट २५–२५ प्रतिशत प्रदेश र स्थानीय तहले पाउने व्यवस्था ऐनमा छ ।

प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँट गर्न विभाज्य कोष खडा गर्ने प्रावधान छ । पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतको रोयल्टीबाट प्राप्त रकम उक्त कोषमा जम्मा गरिन्छ ।

गत आव २०७९/८० मा सरकारले कुल ११ अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो । त्यो रोयल्टीको आधा हिस्सा संघले राख्छ । बाँकी रकममध्ये आधा प्राकृतिक स्रोत तथा वित्त आयोगले बनाइदिएको मापदण्डका आधारमा प्रदेशबीच बाँडफाँट हुन्छ ।

त्यसैगरी बाँकी २५ प्रतिशत रकम पनि आयोगको सिफारिस बमोजिम स्थानीय तहहरूले प्राप्त गर्छन् ।

जुन स्रोतबाट रोयल्टी संकलन भएको हो, त्यसको ५० प्रतिशत संघ सरकारले प्राप्त गर्छ । प्रदेश र स्थानीय तहले पाउने रकममध्ये जुन स्थानको प्राकृतिक स्रोतबाट रोयल्टी संकलन भएको हो, त्यसलाई प्राथमिकता दिएर आयोगले तय गरेको मापदण्डका आधारमा रोयल्टी बाँडफाँट हुन्छ ।

उदाहरणका लागि सुपर मादी जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टीमध्ये प्रदेशले पाउने २५ प्रतिशतको सबै हिस्सा गण्डकी प्रदेशले प्राप्त गर्छ । किनभने, यो आयोजना गण्डकी प्रदेशमा मात्रै छ ।

त्यस्तै स्थानीय तहले पाउने २५ प्रतिशतको सबै हिस्सा मादी गाउँपालिकाले मात्रै पाउँछ । तर, रुकुमगाड जलविद्युत् आयोजनाबाट प्रदेशले पाउने सबै रकम लुम्बिनीले पाउने भए पनि स्थानीय तहले पाउनेमध्ये ६२.५ प्रतिशत सिस्ने गाउँपालिका र ३७.५ प्रतिशत भूमे गाउँपालिकाले प्राप्त गर्ने वित्त आयोगले सिफारिस गरेको छ ।

विद्युत् आयोजनाको भौगोलिक अवस्थितिलाई ५० प्रतिशत भार, प्रभावित प्रदेश वा स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई २५–२५ प्रतिशत भारका आधारमा उनीहरूले पाउने रोयल्टीको हिस्सा तय भएको हो ।

हिमाल, वनलगायत प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटमा पनि फरक–फरक मापदण्ड तय गरिएको छ ।

किन ढिलो भयो रोयल्टी बाँडफाँट ?

महालेखा नियन्त्रकको कार्यालयले निकालेको संघ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरणमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँटका लागि आवश्यक सूचक पूर्णरूपमा प्राप्त हुन नसक्दा २०७९/८० को रोयल्टी बाँडफाँट हुन नसकेकाले उत्त रकमलाई संघीय विभाज्य कोषमा नगद मौज्दातका रूपमा देखाइएको उल्लेख छ ।

तर, गत आव संकलन भएको सबै रोयल्टी बाँडफाँट गर्न भने बाँकी होइन । कुल संकलन भएको ११ अर्ब ८ करोडमध्ये ४ अर्ब ३६ करोड बाँडफाँट भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यसका लागि गत वर्ष चैतमै सिफारिस भएको आयोगका सहसचिव होमनाथ पौडेलले बताए ।

गत वर्ष संकलन भएको थप रोयल्टीको बाँडफाँट निर्णय अहिले भएको हो । गत वर्षको रोयल्टीमध्ये ६ अर्ब ७२ करोड रुपैयाँ बाँडफाँट हुन बाँकी छ ।

यसका लागि आयोगले ३ माघमा निर्णय गरी सिफारिस गरेको थियो । ‘गत वर्षको रोयल्टी रकम चालु आव असोज मसान्तभित्रै बाँडफाँट गरिसक्नुपर्ने हुन्छ। सोहीअनुसार हामीले सिफारिस गरेका थियौं,’ उनले भने, ‘तर, त्यसमा केही प्राविधिक समस्या रहेको अर्थ मन्त्रालयले बताइएपछि पुनः सिफारिस गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?