+
+

ब्याटिङमा चम्किँदै बसिर

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन ८ गते २०:१४

८ फागुन, काठमाडौं । बायाँ हाते स्पिन अलराउन्डर बसिर अहमद नेपालबाट अन्तिम खेलमा अर्धशतक प्रहार गरेर बाहिरिने खेलाडीमा पर्दछन् ।

२०२१ को यू–१९ राष्ट्रिय प्रतियोगिता, यू–१९ एसिया कप र प्रो क्लब च्याम्पियनसिप २०२२ मा अलराउन्ड प्रदर्शन गरेपछि नेपालले २०२२ जुनमा पहिलो पटक बसिरलाई टोलीमा बोलाएको थियो ।

त्यसअघि २०२२ मे मा टियुमा जिम्बावे ए विरुद्ध एकदिवसीय र टी–२० अभ्यास खेलमा राम्रो प्रभाव छाडेका थिए । जुलाईमा क्यानडाविरुद्ध दुई अभ्यास खेल र आईसीसी विश्वकप लिग–२ स्कटल्यान्ड भ्रमणमा नेपाली टोलीसँगै गएका थिए ।

२०२२ सेप्टेम्बरमा तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा केन्याले दिएको २५६ रनको विजयी लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । बसिर अहमदले ४९ बलमा ७ चौकासहित ५२ रनको अविजित इनिङ खेलेका थिए ।

तर तत्कालीन मुख्य प्रशिक्षक मनोज प्रभाकरले त्यसपछि उनलाई टोलीबाट बाहिर गरे । त्यसपछि पुन टोलीमा स्थान बनाउन सकेका छैनन् । मोन्टी देशाईको मुख्य प्रशिक्षकमा बायाँ हाते स्पिन अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा उनको पुनरागमन झनै कठिन बनेको छ ।

तर उनले नेपाल ए टिममा लगातार दुई अर्धशतक हानेर आफू कमजोर नभएको प्रमाणित गरेका छन् ।

नेपाल ए ले दोस्रो एकदिवसीय अभ्यास खेलमा मंगलबार क्यानडा–११ लाई २ विकेटले हराउँदा बसिर अहमदले ५२ रन बनाउनुको साथै १ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए ।

जितको लागि २४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले उनको अलराउन्ड प्रदर्शनमा ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

२६ औं ओभरको पहिलो बल वाइडलाई स्वीप खेल्ने धुनमा सन्दीप जोरा एज लागेर ६६ रनमा आउट भएपछि उनी क्रिजमा आएका थिए । ११७–४ को अवस्थामा पुगेको नेपाललाई उनले छैटौं विकेटका लागि राशिद खानसँग ७७ रनको साझेदारी गर्दै जितको आधार तय गराए ।

अन्तिमसम्म डटेर सामना गर्दै २ विकेटको ऐतिहासिक जित दिलाए । यो आधिकारिक रुपमा नेपाल ए को पहिलो जित थियो । नेपालको सिनियर टोलीसँग तीन ओडीआई खेल खेलेको क्यानडालाई नै नेपाल ए ले हराएको थियो ।

बसिरले क्यानडा ए सँग पहिलो एकदिवसीय अभ्यास खेलमा ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

उनको अर्धशतकमा नेपालले २१६ रन बनाए पनि ४ विकेटले हार्न पुगेको थियो । त्यस खेलमा सिनियर टोलीका विनोद भण्डारी, सन्दीप जोरा र विवेक यादव जस्ता खेलाडी भए पनि अर्धशतक बनाउने एक्लो नेपाल ए का खेलाडी उनै बसिर थिए ।

अघिल्लो महिना प्रधानमन्त्री कपमा कर्णाली प्रदेशविरुद्ध ९८ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम बलमा विनोद भण्डारीले दुई रन लिन नमानेपछि उनी शतकबाट चुकेका थिए ।

‘सुरुवातमा अर्जुन कुमाल र सन्दीप जोरा दाइले राम्रो खेल्नु भयो । त्यसपछि छिटो विकेट गयो । राशिद दाइ र मेरो अन्तिमसम्म खेलौं भन्ने कुरा चलेको थियो,’ बसिरले प्लेयर अफ द म्याच चुनिएपछि भने ।

मयन यादवलाई डक र शेर मल्ललाई ७ रनमा गुमाएपछि नेपाल २.३ ओभरमा १३–२ को अवस्थामा पुगेको थियो । त्यसपछि अर्जुन कुमाल र सन्दीप जोराले १०४ रनको शतकीय साझेदारी गर्दैै खेलमा फर्काएका थिए ।

अर्जुन २५ औं ओभरको पाँचौं बलमा ४० र सन्दीप जोरा २६ औं ओभरको पहिलो बलमा क्याच आउट भएपछि नेपाल केहि दबाबमा परेको थियो । नेपाल ए सिनियर टोलीको ब्याकअप हो । यहाँ राम्रो गर्न सके टोलीमा फर्किने अवसर हुनेछ । पाएको अवसरमा अलराउन्ड प्रदर्शन गर्दैै जम्ने प्रयास गरेका छन् ।

‘मनमा त्यहिँ छ कि जुन अवसर पाएको छु त्यसैलाई राम्रो गरौं’, पुनरागमनबारे उनले भने । टोलीबाट बाहिरिएपछि पनि मिहिनेत गरि राखेको बसिर बताउँछन् ।

‘मिहिनेत त गरिराखेको थिएँ । क्यानले ए टोलीमा जिम्मेवारी दिएको छ । त्यसमा राम्रो गर्न खोज्नेछु । नेपाल र भारत दुबैमा अभ्यास गर्दै आएको छु’, बसिरले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?