+
+

नेपाल ए को सपना पूरा

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन ६ गते २०:२७

६ फागुन, काठमाडौं । नेपाली क्रिकेटमा बेञ्च स्ट्रेन्थ बलियो बनाउन ए टोली निर्माण हुनुपर्ने आवाज एक दशक अघिदेखि नै उठ्दै आएको थियो । नेपालको हारपछि सधैं आवश्यकता महसुस सबैले गरे पनि यथार्थमा बदलिन सकेको थिएन ।

आर्थिक अभाव, नेतृत्वको कमी र अनेक बहानामा ए टिम चर्चामा सीमित हुँदै आएको थियो । डेढ महिनाअघि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डरमा ए टोली राखेको थियो ।

कप्तानहुँदा देखि नै नेपाल ए टोली बनाउनुपर्ने आवाज उठाउँदै आएका पूर्वकप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएर आएसँगै उनलाई दबाब पनि थियो ।

सिनियर टोलीमा पुनरागमन गर्ने तयारीमा रहेका, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रभाव छाडेका र यू–१९ विश्वकपमा राम्रो सम्भावना देखाएका खेलाडी समेट्दै क्यानले ३६ खेलाडी सम्मिलित नेपाल ए टोली बनाएको छ । जसबाट प्रतियोगिता अनुसार सबैलाई क्यानले मौका दिने बताउँदै आएको छ ।

आइतबार नेपाल ए टोलीले आधिकारिक रुपमा माथिल्लो मुलपानी क्रिकेट मैदानमा क्यानडासँग पहिलो एकदिवसीय अभ्यास खेलबाट डेब्यू गर्‍यो ।

डेब्यू खेलमा ४ विकेटले पराजित भए पनि क्यानडाको पहिलो रोजाइको टोलीलाई नेपालको दोस्रो रोजाइको टोलीले कडा प्रतिस्पर्धा दिएको थियो । जितको लागि २१७ रनको विजयी लक्ष्य पछ्याएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

एक समय क्यानडा नेपाल ए सँग स्तब्ध हुने अवस्थामा पुगेको थियो । स्पिनर साहब आलमले लगातार दुई विकेट लिएपछि क्यानडा ९.५ ओभरमा ४५–४ को नाजुक स्थितिमा थियो । नवनित धलिवाल ८० र निखिल दत्तले ६७ रन बनाउँदै जितको आधार तय गरे ।

नेपाल ए टोलीको निर्माणले अब सिनियर टोलीमा कुनै खेलाडी रिप्लेस गर्नसहज हुनेछ । यसको मुख्य उद्देश्य सिनियर टोलीको ब्याकप तयार पार्नु हो । यसअघि जस्तो एउटा राष्ट्रिय प्रतियोगिता खेलेपछि वर्षभरि खाली बस्ने बाध्यता हट्नेछ । टोलीमा पुनरागमन गर्न, आफ्नो प्रदर्शनमा निखारपन ल्याउन र खेलाडीमा अनुभव प्रदर्शन गर्न सहयोग पुग्नेछ । खेलाडी मानसिक र प्रदर्शन दुवै रुपमा तयार हुनेछन् । प्रदर्शन गरेको खेलाडीले मात्रै मौका पाउनेछन् ।

नेपाल ए टोली बनाउनुपर्ने आवाज उठाउनेमा पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल पनि थिए । तर दुवैको खेलाडी करिअरमा ए टिमको सपना पूरा भएन । तर पारस क्यानको सचिव बनेपछि निर्माण भएको नेपाल ए टोलीको मुख्य प्रशिक्षकको भूमिका ज्ञानेन्द्रले पाए । ज्ञानेन्द्रसँगै कलाम अली ए टोलीका प्रशिक्षक हुन् ।

‘जसरी हामीले ओडीआई चक्रदेखि सबै कुरा विकास गरेका छौं । हामी आफैं पनि भन्दै आएका छौं बेञ्च स्ट्रेन्थ बलियो हुनुपर्छ । पक्कै पनि बेञ्चमा बसेर बेञ्च स्ट्रेन्थ बलियो हुँदैन । त्यसको लागि क्वालिटी (स्तरीय) खेलहरु चाहिन्छ । स्तरीय खेलले नै निखारता ल्याउनेछ’, मल्लले भने ।

यसअघि खेलाडीहरु घरेलु प्रतियोगितामा राम्रो गर्दा सिधै सिनियर टोलीमा पर्ने गर्दथे । तर अनुभवको कमीको कारण सिनियर टोलीमा अपेक्षा र क्षमता अनुसार प्रदर्शन हुन सकेको थिएन । त्यसैको कारण सिनियर टोलीमा युवा खेलाडीलाई टिक्न नै मुश्किल हुने गर्दथ्यो । तर ए टिम बनेपछि अब खेलाडीमा देखिने अन्तर्राष्ट्रिय खेलको अनुभवको समस्या पनि हट्नेछ । आगामी दिनमा नेपाली क्रिकेटलाई यसले ठूलो टेवा पुग्ने छ ।

‘यी खेलाडीहरुलाई हामीले जहिल्यै राष्ट्रिय स्तरमा राखेका हुन्छौं । तर त्यो स्तरमा खेलेको देखेको छैन । खेल्नु नै अनुभव बटुल्नु हो । आजको अवस्थामा हेर्ने हो भने अनुभवी भएको भए हामीले राम्रो नतिजा ल्याउन सक्थ्यौं,’ मल्लले भने, ‘टिमको लागि यो एकदमै खाँचो छ । यस्तै खेलाडीबाट हामी माथिल्लो स्तरमा सोचेका छौं । नेपालको प्रतिनिधित्व गर्ने होईन कि यो भन्दा माथि लैजाने र जिताउने सोचेका छौं भने यो खाँचो छ ।’

नेपाल ए का कप्तान विनोद भण्डारी यसअघि नै यो टिम बन्नुपर्ने बताउँछन् । ‘नेपाल ए त अझ अगाडि नै बन्नुपर्दथ्यो । खासमा खेलाडी र नेपाली क्रिकेटका लागि नै फाइदा हो । कुनै खेलाडी धेरै समय बाहिर भए पूनरागमन गर्ने कहाँबाट भन्ने धेरै समय देखी प्रश्न थियो । ए टोली भएसँगै अब सजिलो छ । निरन्तर क्रिकेट भएपछि कसले प्रदर्शन गर्‍यो थाहा हुन्छ’, राष्ट्रिय टोलीबाट खेलिसकेका ए टोलीका कप्तान विनोद भण्डारीले भने ।

क्यानडा नेपालसँग तीन ओडीआई खेलमा क्लिन स्वीपको हार व्यहोरेको थियो । त्यहिँ टोलीले नै नेपाल ए सँग तीन खेलको अभ्यास खेल खेल्नेछ । क्यानडाका कप्तान साद विन जाफरले ए टोलीमा अनुभवको मात्रै कमी भएको बताउँछन् ।

पहिलो खेल हेर्दा क्यानडा र नेपालको ए टोलीको क्वालिटीमा कुनै फरक देखिएन । केहि राम्रा क्षमता भएका खेलाडी यो टिममा छन् ।  टियुको भन्दा फरक विकेट रहेको मूलपानीमा खेलाडीले राम्रो खेले । ‘विशेषगरी बलिङमा मैले क्षमता भएका खेलाडी देखे । तीन बायाँ हाते स्पिनर (बसिर अहमद, साहब आलम र सागर ढकाल) उत्कृष्ट छन् । मात्रै अनुभवको कमी छ’, जाफरले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?