+
+

वर्तमान र पूर्व कप्तान भित्र्याएपछि उत्साहित एपीएफ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:५३

२६ पुस, काठमाडौं । नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ ।

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई अनुबन्ध गरेको हो ।

यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका रोहितले अब एपीएफ क्लबको कप्तानी गर्ने छन् ।

नेपाल एपीएफ  क्लबका खेल व्यवस्थापक विजय केसीका अनुसार क्लबले पूर्व कप्तान ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।

‘हामीले रोहितलाई खेलाडी र ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेका छौं,’ केसीले भने ।

रोहित र ज्ञानेन्द्रको आगमनपछि एपीएफ क्लबका साथै खेलाडीहरु पनि उत्साहित रहेको केसीले बताए ।

‘कप्तान र कोच दुवै नयाँ आएका छन् । रोहित र ज्ञानेन्द्र आएपछि टिममा नयाँ उर्जा थपिएको छ । पहिलेकै जस्तै एपीएफ टिमको भाइव आएको छ,’ उनले भने ।

एपीएफले स्थापना कालमा क्रिकेट टिम बनाउँदा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन जस्ता खेलाडीहरु अनुबन्ध गरेर बलियो टिम बनाएको थियो ।

बीचमा उनीहरुले क्लब छाड्दै गए । यस्तै गत वर्षसम्म क्लबको कप्तानी गरेका भेट्रान खेलाडी शरद भेषावकरले पनि एपीएफ छाडेर काठमाडौं जिल्लाबाट छनोट खेलेका थिए ।

यसअघि खेलेको टिममा प्रशिक्षकको रुपमा अनुबन्ध हुँदा ज्ञानेन्द्र समेत उत्साहित भएको केसीले जानकारी दिए ।

रोहितले पनि यसअघि एपीएफ क्लबलबाट खेलिसकेका थिए । रोहितले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि समेत जितेका थिए ।

एपीएफमा रोहितसँगै राष्ट्रिय टिमका आसिफ शेख, अविनाश बोहरा, सन्दीप जोरा जस्ता खेलाडी छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका प्रदिप ऐरी, भुवन कार्की, मौसम ढकाल र कमल सिंह ऐरी पनि टिममा छन् । सुमित महर्जन, अमर राउटेला, लोकेश बम पनि यो टोलीमा छन् ।

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कपका लागि एपीएफको टोली शुक्रबार घोषणा हुने केसीले जानकारी दिए । एपीएफले प्रधानमन्त्री कपको पहिलो खेल आइतबार बागमती प्रदेश विरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?