+
+

नेपाल ए को मुख्य प्रशिक्षक को ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १५ गते १९:२२

१५ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक नेपाल ए टोली निर्माण गर्दैछ ।

छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई मुख्य आधार मानेर नेपाल ए टोली निर्माण गरिने छ । युवा खेलाडीको प्रदर्शन दमदार हुँदा नेपाल ए टोली बनाउन छनोटकर्तालाई सहज भने हुने छैन ।

आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरु पनि ए टोलीमा रहने क्यानले प्रष्ट पारि सकेको छ । नेपाल ए को मुख्य उद्देश्य सिनियर टोलीको स्टेन्ट बलियो, युवा खेलाडीलाई लगातार व्यस्त र खेलाडी तयार पार्नु हो ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार नेपालले फेब्रअुरी दोस्रो साता देखि क्यानडासँग, मार्च अप्रिलमा आयरल्यान्ड ए सँग पाँच ५० ओभर र तीन टी–२० लगायतका सिरिजहरु छन् ।

नेपाल ए को मुख्य प्रशिक्षकमा घरेलुमा राम्रो गरेका र नेपालबाट खेलेका पूर्व खेलाडीहरु पहिलो रोजाइमा पर्ने अनुमान छ । नेपाल ए को मुख्य प्रशिक्षकको रुपमा ४ जना दाबेदार देखिएका छन् ।

जगत टमाटा

जगत टमाटा नेपाली क्रिकेटका एक सफल प्रशिक्षक हुन् । उनको मुख्य प्रशिक्षणमा नेपालले २०१२, २०१६ र २०२४ मा यू–१९ विश्वकप खेलेको छ । २०१६ देखि २०१९ सम्म टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षकमा नेपालले २०१८ मा ऐतिहासिक ओीिआई मान्यता पाएको थियो ।

नेपाली क्रिकेटका लक्की प्रशिक्षक पनि मानिन्छन् टमाटा । सिनियर टोलीमा सहायक प्रशिक्षकमा दशक समय अनुभव छ ।

हाल उनी यू–१९ विश्वकपमा नेपालको मुख्य प्रशिक्षकको रुपमा छन् । क्यानले उनलाई नेपाल ए को मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदै पछि यू–१९ को जिम्मेवारी अरु कसैलाई दिनसक्छ । सिनियर टोलीसँगै यू–१९ क्रिकेटमा पनि सफल हुँदा नेपाल ए को दाबेदार प्रशिक्षकमा पर्दछन् ।

बसन्त शाही

लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक बसन्त शाही पनि दाबेदारमा पर्दछन् । बसन्त पछिल्लो एक वर्षदेखि नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षकको रुपमा रहँदै आएका छन् । उनको मुख्य प्रशिक्षकमा नेपालले यू–१६ को एसीसी इस्टर्न रिजनको उपाधि जितेको थियो । २०२१ मा नेपालले यू–१९ एसिया कप खेल्दा उनी मुख्य प्रशिक्षक थिए ।

रुपन्देहीमा रहेर उनको प्रशिक्षणमा लगातार नयाँ खेलाडी उत्पादन गर्दै आएका छन् । पछिल्लो एक वर्ष देखि मोन्टी देशाईलाई सहायक प्रशिक्षकको रुपमा उनले साथ दिँदै आएका छन् । जसले गर्दा नेपाल ए का दाबेदार प्रशिक्षकमा उनी पनि पर्दछन् ।

शक्ति गौचन

शक्ति नेपालका सर्वाधिक सफल स्पिन अलराउन्डर हुन् । उनले २००२ देखि २०१८ सम्म नेपाली टोलीबाट खेलेका थिए । शक्ति सफल खेलाडीमात्रै होइन प्रशिक्षक पनि हुन् । नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्ल शक्तिकै उत्पादन हुन् । त्यस्तै सुशन भारी पनि शक्तिकै चेला हुन् । उनले यू–१९ र घरेलु क्रिकेटमा केही खेलाडी तयार पारिसकेका छन् ।

भैरहवामा आफ्नै स्टार क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् शक्तिले । सरल र हसिलो स्वभावका शक्तिले दुई महिना अघि सिंगापुर पुगेर आइसीसी लेभल–२ कोचिङ कोर्ष गरेका थिए । त्यसैले गर्दा शक्ति पनि नेपाल ए का दावेदार प्रशिक्षक हुन् ।

ज्ञानेन्द्र मल्ल

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ए टोलीका मुख्य प्रशिक्षकका प्रमुख दाबेदार हुन् । ज्ञानेन्द्र प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

एपीएफमा उनको सम्झौता यही प्रधानमन्त्री कपसम्म मात्रै छ । जसले गर्दा त्यसपछि उनले नेपाल ए हेर्ने सम्भावना छ ।

मल्लले गत साउनमा मात्रै नेपाली क्रिकेट टोलीबाट डेढ दशक भन्दा बढी खेलाडी समयबाट विश्राम लिएका थिए । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा पनि प्रशिक्षकको रुपमा काम गरेको लामो अनुभव उनीसँग छ ।

नेपाली क्रिकेटका एक सफल ब्याटर हुँदा नेपाल ए को प्रशिक्षक बन्न सक्ने सम्भावना धेरै देखिन्छ । दुई महिनाअघि ज्ञानेन्द्रले आइसीसी लेभल–२ कोचिङ कोर्ष गरेका थिए ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?