+
+

दोस्रो विश्वयुद्धमा सहभागी नेपाली बहादुरसिंहको शालिक भारतमा अनावरण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:२७

१६ वैशाख, काठमाडौं । तत्कालीन ब्रिटिस इण्डियन आर्मी पहिलो गोर्खा राइफल्स दोस्रो बटालियनका सैनिक अधिकृत स्व. बहादुरसिंह बरालको भारतमा शालिक बनाइएको छ ।

भारतको भाग्सुस्थित गोरखनाथ मन्दिर परिसरमा बरालको अर्धकदको शालिक शनिबार अनावरण गरिएको हो । यो मन्दिर स्थापना गर्न बरालको भूमिका थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्दप्रसाद लुइँटेल र पूर्वसांसद् दिलकुमारी राईको उपस्थितिका बीच साहित्यकार समेत रहेका बरालको शालिक अनावरण गरिएको उनको परिवारका सदस्य पुजन बरालले बताए ।

बहादुरसिंह सुबेदार मेजर पदमा रहँदा सन् १९१४ सालमा पहिलो विश्वयुद्धमा फ्रान्सको युद्धमा सरिक भएका थिए । त्यसबेला उनी ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ र ‘अर्डर अफ ब्रिटिस इन्डिया’बाट समेत विभुषित भएका थिए ।

सुवेदार मेजर पदबाट १९३५ सालमा सेवानिवृत्त भएपनि दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वान अनुसार बहादुरसिंह पुनः सैनिक सेवामा प्रवेश गरेका थिए । सन् १९५२ सालसम्म फेरि काम गरेपछि उनलाई मानार्थ कप्तानको दज्यानी प्रदान गरिएको थियो ।

उनी साहित्यकर्ममा पनि सरिक थिए । २००७ सालको क्रान्तिका बेला बहादुरसिंहले बीपी कोइराला लगायत कांग्रेस शीर्ष नेतृत्वलाई आर्थिक सहयोग समेत गरेको पुजन बराल बताउँछन् ।

उनका कान्छा छोरा खड्गजीत बराल पनि २००७ सालको क्रान्तिमा जोडिएका थिए । पछि उनी नेपाल प्रहरीमा आईजीपी समेत भएका थिए । बहादुरसिंहको ३० असोज २०१९ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?