+
+

ज्ञानेन्द्र अब प्रशिक्षक

नमिता दाहाल नमिता दाहाल
२०८० पुष २९ गते २०:२१

२९ पुस, काठमाडौं । सफल क्रिकेट खेलाडीकोे छवि बनाएका ज्ञानेन्द्र मल्लले आइतबार प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबको प्रशिक्षकको रुपमा डेब्यू गरे ।

गत साउनमा १८ वर्ष लामो खेल जीवनबाट विश्राम लिएका ज्ञानेन्द्र झण्डै ६ महिनापछि प्रशिक्षकको भूमिकामा आएका हुन् । र एपीएफले बागमतीलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दा ज्ञानेन्द्रले पहिलो खेलमै सफलता हात पारे ।

सन् २०१७ मा एपीएफ क्लबबाटै खेलेका ज्ञानेन्द्रले त्यसपछि भने बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेलेका थिए । यस हिसाबले दुबै टोली उनका लागि परिचित र भावनात्मक सम्बन्ध जोडिएको टिम हो ।

बागमतीको आन्तरिक रणनीति र टिमलाई नजिकबाट बुझेका ज्ञानेन्द्र यो जितबाट सन्तुष्ट भने छैनन् । एपीएफले २८० कम्तीमा २८० रन बनाउनुपथ्र्यो भन्ने उनलाई लागेको छ ।

४१ रन बनाउँदा ५ विकेट गुमाएको एपीएफलाई ५० ओभरमा २४१ रनको स्थितिमा पु¥याउने क्रममा सन्दीप जोराले ११३ रन जोडेका थिए । ‘सन्दीप जोराको इनिङले गर्दा हामीले डिफेन्ड गर्न सक्ने लक्ष्य बनायौं’, ज्ञानेन्द्रले भने ।

खेलाडी छँदा नै बालबालिकालाई क्रिकेट सिकाउने एकेडेमी सञ्चालन गरेका ज्ञानेन्द्रले गत महिना लेभल २ को प्रशिक्षण कोर्स पूरा गरेका थिए । ‘अरुलाई केही आश्चर्यको विषय भए पनि प्रशिक्षण मेरो लागि गरिरहेकै कुरा हो’, आइतबारको खेलपछि कीर्तिपुर क्रिकेट मैदानमा पत्रकारसँग उनले भने ।

ज्ञानेन्द्र नेपाली क्रिकेटमा धेरै प्राविधिक ज्ञान भएका खेलाडीमा चिनिन्छन् । सन्यास अघि उनी ड्रेसिङ रुममा ‘ज्ञानु दाइ’ का रुपमा थिए । एपीएफमा उनी प्रशिक्षकको भूमिका हुँदा उनीसँगै खेलेकाहरु अहिले पनि खेलाडी छन् । तर राष्ट्रिय टिममा पाएको सम्मानले उनलाई प्रशिक्षकका रुपमा खासै गाह्रो भएन ।

‘मलाई प्रशिक्षकको रुपमा सहजै स्वीकार गर्ने टिमका खेलाडीलाई पनि धन्यवाद’, उनले भने, ‘उनीहरुले त्यो माहोल नबनाएको भए, गाह्रो हुन्थ्यो ।’

प्रधानमन्त्री कपका लागि मात्र एपीएफको प्रशिक्षक नियुक्त भएका उनले यसलाई आफ्नो प्रशिक्षक जीवनको पनि परीक्षण मानेका छन् । ‘लामै समयको अफर थियो’, उनले भने, ‘तर मैले यो प्रतियोगितासम्मलाई मात्रै सम्झौता गरेको छु । पछि के गर्ने यो प्रतियोगितापछि नै थाहा हुन्छ ।’

राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल एपीएफको कप्तान छन् । उनी ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा पाउँदा खुसी छन् । ‘उहाँले जसरी मानसिक रुपमा पनि तयार गर्नु हुन्छ । त्यसले निकै सहज बनाउँछ,’ रोहितले पहिलो जितपछि भने ।

२४२ रनको लक्ष्य पछ्याएको बागमतीलाई १५२ रनमा अल आउट गर्ने क्रममा रोहितले ४ विकेट लिएका थिए । उनले २०१८ पछि एपीएफ टिममा पुनरागमन गरेका हुन् ।

डिफेन्डिङ च्याम्पियन रहेको एपीएफलाई सुरुवाती अग्रता दिलाउन पाउँदा कप्तान रोहित खुशी छन् । ‘कोही पनि प्रतियोगितामा हार्न आउँदैन, हामी प्रतियोगिता जित्न काबिल टिम छौं’, टिमका बारेमा उनले भने ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?