+
+

धेरै विकल्प हुँदा राष्ट्रिय क्रिकेट टिममा सन्तुलन मिलाउन सकस

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन १८ गते २२:२३

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई मा नेपालले शुक्रबार नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पार्‍यो ।

यो जितसँगै फाइनल प्रवेशको सम्भावना कायम राखेको नेपाल लयमा फर्किने अपेक्षा छ ।

१८१ रनको लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १२ रन चाहिएको नामिबियालाई १७७ मै रोक्ने क्रममा उत्कृष्ट बलिङ गरेका करण केसी त फाइनलमा पुगेर उपाधि नै जित्ने दाबी गर्छन् ।

‘एउटा टिमका रुपमा हाम्रो खराब समय चलिरहेको थियो, राम्रो खेल्दाखेल्दै पनि हामीले जित निकाल्न सकिरहेका थिएनौं’ खेलपछि उनले भने, ‘आज जित भयो । अब जितिराख्छौं र फाइनल पनि जित्छौं ।’
तर फाइनलमा दाबेदारी बलियो बनाउन भोलि शनिबार नेपालले नेदरल्याण्ड्सलाई हराउनुपर्छ ।

त्यसपछि पर्सि आइतबार नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्छ ।

खलबलिएको सन्तुलन

लिग टूको आफ्नो पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । तर त्यसपछि नेपालले टी२० शृंखलामा समेत लगातार ४ खेल गुमायो । लिग टूमा नामिबियासँग फेरि पराजित भएको नेपाल अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पनि पराजित भयो । कुनै पनि खेलमा २०० रन कटाउन सकेन ।

त्रिकोणात्मक टी–२० सिरिजमा पनि नामिबियासँग २० रनले र नेदरल्याण्ड्ससँग २ रनले हार्‍यो । शुक्रबार पनि झण्डै गुमाइसकेको खेल अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै करण केसीले नेपालको पक्षमा ल्याए ।

नेपालले हरेक खेलमा खेलाडी र ब्याटिङ क्रम परिवर्तन गर्ने गरेको छ ।

लिग टूभन्दा अगाडि नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज खेलेको थियो । त्यो सिरिजमा गरेको प्रदर्शनका आधारमा अनिल साह र देव खनाललाई लिग टू खेल्ने टोलीमा राखियो ।

दुई ब्याटर थपिएपछि विकल्प धेरै भयो । त्यसअनुसार प्रयोग गर्दा नतिजा पक्षमा आएन । घरेलु मैदानमा भएको चारमध्ये ३ खेल गुमाउनु पुग्यो ।

टी–२० विश्वकपलाई लक्षित गरेर आयोजित त्रिकोणात्मक टी–२० सिरिजमा पनि खेलाडी हेरफेर भइरह्यो । शुक्रबार पनि तीन परिवर्तन गर्‍यो ।

ओपनर कुशल भुर्तेल, ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेञ्चमा राखेर अनिल शाह, आरिफ शेख र अभिनाश बोहरालाई खेलाइएको थियो । कुशल सुरुवाती दुबै खेलमा शून्यमा आउट भएका थिए ।

उनको स्थानमा आएका अनिलले २३ रन बनाए, तर अर्का ओपनर असिफ शुन्यमै आउट भए । नेदरल्यान्ड्सविरुद्ध नवौं नम्बरमा खेलेका गुल्सन झाले शुक्रबार नामिबियाविरुद्ध चौथो नम्बरमा गएर २६ रन बनाए ।

आरिफ ओडीआईका भरपर्दा ब्याटर हुन् । उनको खेल्ने शैली पनि ओडीआईका लागि उपयुक्त भएकाले टी–२० विश्वकपको अन्तिम छनोट खेल्ने टोलीमै राखिएको थिएन । तर एकदिवसीय फर्म्याटको लिग २ मा पनि उनले नेदरल्यान्ड्ससँग एक मात्रै खेल खेल्ने अवसर पाए ।

शुक्रबार टी–२० मा नामिबियाविरुद्ध भने पाँचौं नम्बरमा ब्याटिङ गर्न आए । २४ बलमा ४ चौकासहित ३१ रन बनाए । उनले हानेका चारमध्ये दुई चौका मिस फिल्ड र एक एज लागेर बनेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६३ रनको इनिङ खेलेका थिए । नामिबियाविरुद्ध सातौं नम्बरमा खेल्दै १६ रनमा आउट भए । नेदरल्यान्ड्सविरुद्ध चौथो नम्बरमा खेलेका कुशल नामिबियाविरुद्ध छैटौं नम्बरमा खेले । उनले अविजित ५५ रनको पारी खेले ।

टी–२० सिरिजको पहिलो खेलमा बेञ्चमा राखिएका प्रमुख स्पिनर राजवंशीले शुक्रबार पनि खेलेनन् । नामिबियाका धेरै ब्याटर लेफ्टी भएकाले उनलाई नखेलाएको नेपालका कप्तान रोहितकुमार पौडेलको तर्क छ ।

शुक्रबारको खेलमा सोमपाल कामी, करण केसी, प्रतिश जिसी र अभिनाश बोहरा गरी चार प्रमुख तीव्र गतिका बलर थिए भने गुल्शन र आरिफसहित ६ विकल्प थिए ।

टिममा धेरै खेलाडी उपलब्ध भए पनि हेरफेर गर्न मन लाग्नु स्वभाविक हो । तर प्लेइङ ११ मा सन्तुलन नमिल्दा नतिजा नआउने नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । नेपाल ए का मुख्य प्रशिक्षक समेत रहेका मल्ल भन्छन्, ‘कहिले काहीँ विपक्षी हामी भन्दा बढी बलियो र राम्रो तयार भएर आएको पनि हुनसक्छन् ।’

ब्याटिङ अर्डर परिवर्तन हुँदा खेलाडी तयार छ वा छैन हेर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘मानौं अहिलेलाई म तीन नम्बरमा खेलेको भोलि चार पाँच नम्बरमा खेल्छु भनेर एउटा माइन्ड मेकअप त गर्‍यौं होला, अवस्थाले फेरि ६–७ हुन गयो भने कतिको तयार छ भन्ने पनि हेर्नुपर्छ’ उनले भने, ‘कहिले काहीँ खेलाडीहरु अवसर पाउन जस्तो सुकै रोल लिन तयार हुन्छन् । त्यस्तो पनि भएको हुन सक्ला ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?