+
+

इस्माका अग्नि पीडितलाई अग्नि पीडितकै सहयोग

अनिल खत्री अनिल खत्री
२०८१ वैशाख १६ गते ६:३२

१६ वैशाख, गुल्मी । गुल्मी इस्माका अग्नि पीडितलाई मुसिकोट नगरपालिका–४, दगाकोटका अग्नि पीडितले नगद सहयोग गरेका छन् । वैशाख ८ गते शनिबार इस्मामा आगलागी भएको थियो ।

मुसिकोट नगरको दगाकोटमा १८ वैशाख ०७३ मा पनि जंगलमा सल्किएको आगो बस्ती पसेको थियो । त्यसक्रममा एकजनाको मृत्यु भएको थियो भने गाउँका ५७ घर र झन्डै पाँच दर्जन पशुचौपाया जलेर नष्ट भएका थिए ।

दगाकोटका नागरिकले ७ वर्ष अघिको आगलागीबाट भएको दुखः कष्ट सम्झिँदै इस्माका अग्नि पीडितलाई सहयोग गरेको बताएका हुन् । उनीहरुले १ लाख ५० हजार रुपैयाँ इस्मा गाउँपालिका–२ का वडाअध्यक्ष लोकनाथ आचार्यलाई हस्तातरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै दजाकोटका बोम छन्त्यालले आगलागीका कारण भएको क्षतिमा आफूहरुले सामान्य हातेमालो मात्रै गरेको बताए । उनले आगलागीबाट जलेको बस्तीमा सबैले सहयोग गरे पुनर्निर्माणमा सहज हुने अनुभव सुनाए ।

शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा छिरेको थियो । वनबाट सुरु भएको आगलागी बस्ती पुग्दा इस्मा गाउँपालिका–२ को सिदुङ्खा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर ६ को बुल्ममा आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका थिए ।

त्यस्तै आगलागीबाट ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट एउटा ट्याक्टरमा पनि क्षति पुर्‍याउँदा २ जना घाइते भएका थिए । ५६ वटा पशुचौपाया जलेर नष्ट भएका छन् ।

पालिकाभित्र आगलागीबाट १ सय ९९ जना नागरिक प्रभावित भएका छन् । घर जल्दा खुल्ला आकाशमुनि बस्न बाध्य नागरिक अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकाले आगलागी हुनको दिन आगो नियन्त्रण र अर्कोदिनबाट तीव्र राातको काम गरेको बताए । तत्काल खानेपानी व्यवस्था, जीवनजल पानीको व्यवस्था, बास बस्नको लागि व्यवस्था, खानाको व्यवस्था, पशुचौपायलाई घाँसको व्यवस्थाा, खानेपानीका लागि पाइपको काम, विद्युतको काम र विद्यार्थीको ड्रेस लगायत अन्यका कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएको बताए ।

घर निर्माणका लागि पालिकाबाट तत्काल प्रतिघर एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

अग्नि पीडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नि पिडितहरुका लागि सामाग्री पुर्‍याउने काम गरेका छन् ।

इस्मासँगै मदाने गाउँपालिकाको घडेरी पनि आगलागी बस्दीमा पुग्दा घरहरु जलेका थिए । मुसिकोट, धुर्कोट र मालिकाको क्षेत्रमा पनि आगलागीले क्षति पुराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?