+
+

नामिवियासँग बदला लिने नेपालको चाहना, टस निर्णायक बन्ने डर

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन ८ गते २१:५५

८ फागुन, काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा बुधबार नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो ।

तर दोस्रो खेलमा एसोसिएटको बादशाह नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो ।

उच्च मनोबलसँगै घरेलु मैदा र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।

टस निर्णायक बन्ने डर

सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् ।

बिहानको समयमा खेल्न ब्याटरलाई सहज हुनेछैन । तीव्र गतिको बलिङमा बल स्वीङ र स्पिनमा टर्न र लो बस्ने हुँदा चुनौतीपूर्ण हुनेछ । त्यो चुनौती सामना गर्न सुरुवाती २५ ओभरमा सम्हाल्लिएर खेल्नुपर्ने हुन्छ ।

दोस्रो इनिङमा ब्याटिङ गर्न सहज मानिन्छ । त्यसैले खेलमा टस निर्णायक बन्ने डर दुवै टोलीलाई हुनेछ । टसको नतिजाले ठूलो प्रभाव पार्ने पक्का छ ।

ब्याटिङ हेभी नेपाली टोली

नेपालको प्लेइङ–११ मा ब्याटिङ हेभी बढी छ । नेपालले नेदरल्याण्डससँगको खेलमा करण केसीलाई बाहिर राख्दै देव खनाललाई खेलाएको थियो । नेपालले बलरको रुपमा सोमपाल कामी र ललित नारायण राजवंशीलाई मात्रै खेलाएको थियो ।

अन्य सबै अलराउन्डरमा भर परेको थियो । दोस्रो इनिङमा बलिङ गर्दा होस् वा नामिबियाले सुरुवात राम्रो गर्न सके नेपालको बलिङ कमजोर सावित हुनसक्छ ।

चोभार एण्ड स्पिनरलाई सहज

त्रिविमा भएको खेलमा विहानी समयमा चोभार एन्डबाट आउने स्पिनर हाबी बनेका छन् ।

नेपालविरुद्ध नामिवियाका जेराल्ड इरास्मसको पाँच विकेट, नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको चार विकेट र नामिवियाविरुद्ध नेदरल्यान्ड्सका आर्यन दत्तको ६ विकेट चोभार एन्डबाट नै आएको थियो । यी तीनै खेलाडी आफ्नो टोलीमा प्रमुख स्पिनर होइनन् । तर चोभार एन्डबाट हाबी बनेका थिए ।

नेपाल र नामिवियाको प्लेइङ–११ मा एक एक परिवर्तनको सम्भावना

नेपालले नेदरल्यान्ड्सविरुद्ध टोलीबाट एउटा परिवर्तन गर्ने सम्भावना देखिन्छ । अनुभवी तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा देव खनाल बाहिर हुने सम्भावना रहन्छ । नेपालको ओपनरमा कुशल भुर्तेल र आसिफ शेख छन् । तेस्रो नम्बरमा अनिल साह छन् ।

चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा भीम सार्की छन् । पाँचौं नम्बरमा भीम र देवमध्ये एक मात्रै खेल्नेछन् । भीम राम्रो लयमा छन् ।

लिग टुको खेलअघि क्यानडासँग अन्तिम खेलमा शतक र लिग टुको पहिलो खेलमा नामिवियासँग ४४ रन बनाएका थिए । पाँच भन्दा तल देवको स्थान देखिदैन ।

नेपालले तल्लो क्रममा अलराउन्डर र हिटर खेलाउनेछ । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल र गुल्सन झा तल्लोक्रममा खेल्नेछन् । जसले गर्दा यदि करण फर्किएमा देव बाहिर हुनेछन् ।

उता नेपालविरुद्ध २ विकेट लिएका तीव्र गतिका बलर ज्याक ब्रासेल नेदरल्यान्ड्सविरुद्ध बेन्चमा बसेका थिए । उनी फर्किदा टांगेनी लुंगामेनी बेन्चमा बस्ने सम्भावना छ ।

पिच परिवर्तन पक्का

सुुरुवाती तीन खेल सेन्टरको पाँचौं नम्बर विकेटमा भएको थियो । अब बाँकी तीन खेल अन्य पिचमा हुने पक्कापक्की देखिन्छ । पिच हेरेर दुबै टोलीले प्लेइङ–११ निर्धारण गर्नेछन् । पिचले प्रदर्शनमा धेरै फरक पार्ने गर्दछ ।

हेड टु हेड

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिवियाबीच ७ खेल भएका छन् । नेपाल २ खेलमा विजयी, ४ खेलमा पराजित र १ खेल नतिजा विहीन छ । त्रिविमा भने तीनमध्ये दुई खेलमा नेपाल विजयी भएको छ ।

प्रभाव पार्न सक्ने खेलाडी 

अनिलकुमार साह – नेपाल

नेपालका अनिल साह राम्रो लयमा छन् । अनिलले क्यानडासँग दुई खेलमा ५० र ११२ रनको शतकीय इनिङ खेलेका थिए ।

नेदरल्यान्डसविरुद्ध ५७ रन बनाएका थिए । अनिलको प्रदर्शन नेपाललाई महत्वपूर्ण हुनेछ । कुशल भुर्तेल र स्पिनर ललित राजवंशी नामिवियालाई घातक बन्नसक्ने खेलाडीमा पर्दछन् ।

जेराल्ड इरास्मस – नामिविया

नामिवियाका कप्तान जेराल्डले नेपालसँग ५ र नेदरल्यान्ड्ससँग ३ विकेट लिएका थिए । प्रमुख ब्याटर उनले आफ्नो अलराउन्ड प्रदर्शनमा नेपाललाई पुन निराश बनाउन सक्छन् । जेराल्ड ब्याटिङमा ठूलो इनिङ खेल्न सक्ने खुबी भएका ब्याटर पर्दछन् । कप्तानी, ब्याटिङ र बलिङ तीनै पक्षमा राम्रो गर्न सक्छन् । जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र माइकल भान लिंगेन घातक बन्नसक्ने खेलाडी हुन् ।

नामिबियाको टोली

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन, जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि–इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?