+
+

कोशी प्रदेशको हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:४८

९ फागुन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गरेका छन् । झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरेका हुन् । यो यात्रा उदयपुर पुगेर टुङ्गिनेछ ।

जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट मुख्यमन्त्री कार्कीले यात्रा सुरु गरेका हुन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् । मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्दा चार जिल्लाका २३ स्थानीय तहमा पुगेर हात्ती प्रभावितसँग छलफल गर्नेछन् ।

यदयात्रा शुभारम्भका क्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरू गरिएको बताए ।  ‘जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं,’ उनले भने,‘छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं ।’

पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।

पछिल्लो समय मानव हात्तीबिच द्वन्द्व बढ्दै गएको छ । वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्छन् । चार महिना अघि नेपाल प्रवेश गरेको हात्तीको एउटा हुल मोरङ सुनसरीको जंगल क्षेत्रमा छन् ।

हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि अभियान सार्थक हुने प्रदेशस्थित पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताए । पदयात्रा उद्घाटनका लागि प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगुलगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?