+
+

गोर्खाल्याण्ड आन्दोलनको नालीबेली समेटिएको पुस्तक ‘चक्रव्यूहमा गोर्खा’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:११

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनको नालीबेली समेटिएको पुस्तक ‘चक्रव्यूहमा गोर्खा’ सार्वजनिक भएको छ । पश्चिम बंगालको सिलीगुडीमा आइतबार आयोजित समारोहमा दार्जिलिङका पूर्वगोर्खाल्याण्ड आन्दोलनका योद्धा भोटुसिंह क्षेत्रीद्वारा लिखित पुस्तकको दार्जिलिङ-सिक्किम इतिहासविज्ञ, बंगालीभाषी बुद्धिजीवी र सर्वसाधारणबीच लोकार्पण गरियो ।

समारोहमा इतिहासकार डा. सोनाम बी वाङ्ग्येल, दार्जिलिङ नगरपालिकाका पूर्वमेयर बीके प्रधान, बसन्त बी लामा, पासाङ भोटिया, भानु लामा र प्राध्यापक रिञ्जी भुटियालाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा पी अर्जुनले गोर्खाल्याण्डलाई लिएर चिन्तनको संस्कार बसाउनुपर्ने आवश्यकता रहेको औंल्याए । ‘चक्रव्यूहमा गोर्खाले यस दिशामा जनमानसमा एउटा नयाँ चेतनाको आलोक प्रदान गर्ने निश्चित छ,’ उनले भने ।

कवि ज्ञानेन्द्र खतिवडाले गोर्खाल्याण्डको ऐतिहासिक दस्तावेजीकरणमा यो कृति महत्त्वपूर्ण हुने बताए । लेखकले साहस गरेर गहकिलो गैरआख्यान लेखेको उनको भनाइ थियो ।

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा लेखिएको बेस्टसेलर बाङ्ग्ला कृति ‘कञ्चनजङ्गाए अशान्तिर आगुन’का लेखक सौमेन नागले दार्जिलिङका गोर्खाहरूले वर्षौंदेखि उठाउँदै आएको गोर्खाल्याण्डको मुद्दा जायज रहेको बताए । ‘केन्द्र र राज्य सरकार मिलेर समुदायमाथि फुटको राजनीति गरिरहेका छन्, त्यो गोर्खाल्याण्ड नदिने नियत हो । अब गोर्खाहरू एक हुने दिन आएको छ । यस्तो अवस्थामा चक्रव्यूहमा गोर्खाले उठाएको चक्रव्यूहको अन्तर्निहित अर्थ सबैले बुझ्नुपर्ने खाँचो छ,’ उनले भने ।

पुस्तकका लेखक क्षेत्रीले गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढी शहीद र सयौं बेपत्ता भएर पनि अद्यावधि टुंगो नलागेको गोर्खाहरूको राजनैतिक चिनारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई पुस्तकमा समावेश गरेको बताए । ‘२२ अगस्त १९८८ मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूङहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएको छु,’ उनले भने ।

पुस्तक चार खण्डमा विभाजित गरेर लेखिएको छ । गोर्खाल्याण्ड आन्दोलनको राजनैतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिसकालदेखि समकालीन बिन्दुसम्मको फेहरिस्त रहेको लेखक क्षेत्रीले बताए ।

सालबारीको बुकएण्ट पब्लिकेसनले प्रकाशन गरेको पुस्तक ६०० पृष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?