+
+

नेविसंघको पहिलो केन्द्रीय समिति बैठक नै विवादमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:४०

१४ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक नै विवादमा परेको छ । नेविसंघले १५ फागुनमा ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ राखेको छ । तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठक नै विवादमा परेको छ ।

सम्मान कार्यक्रम समेत राखिएकाले पार्टीबाट प्रमुख अतिथि बनाएर सभापति शेरबहादुर देउवालाई आमन्त्रण गर्ने संघको तयारी थियो । संघभित्र विवाद भएकाले सभापति शेरबहादुर देउवा कार्यक्रम उपस्थित हुन इच्छुक देखिएनन् ।

सभापतिलाई प्रमुख अतिथिको आग्रह गर्न गएकाहरुलाई आफू नआउने देउवाले बताएका थिए । देउवाले महामन्त्री विश्वप्रकाश शर्माले दुवै समूह मिलाउने भन्दै उनलाई प्रमुख अतिथि बनाउन निर्देशन दिएका थिए ।

पार्टी स्रोतका अनुसार दुई समूहको विवादका विच प्रमुख अतिथि बन्न शर्मा समेत अनिच्छुक छन् । संस्थापन र इतर पक्षका पार्टी नेता र संघका दुबै समूहका नेतालाई  सोमबार साँझ बैठक बोलाएर विवाद मिलाएर मंगलबारको बैठक गराउन महामन्त्री शर्मा लागेका छन् । दुई पक्ष विच सहमति हुन नसके बैठक सार्ने तयारी गरिएको छ ।

संघ अध्यक्ष दुजाङ शेर्पाले मनोमानी निर्णय गरेको भन्दै बैठकबारे आफूहरुलाई थाहा नभएको नेता शेखर कोइराला निकट विद्यार्थी संघको नेता प्रेमिका रानामगरले बताइन् । ‘बैठक बोलाउनेबारे हामीसँग कुनै छलफल भएको छैन ।

अध्यक्षले जिल्लामा आफूखुसी मनोनित गर्नुभएको छ,’ उनले भनिन्,‘हाम्रो समूहको बैठक बस्दै छ । सहभागी हुने नहुने निर्णय गरिन्छ । नेता शेखर र महामन्त्री गगन थापा पक्षका विद्यार्थीहरुको आइतबार पनि भेला भएको थियो ।

समूहको आज बस्ने बैठक पछि बहिष्कार गर्ने वा सहभागी हुने निर्णय लिने महामन्त्री थापा निकट विद्यार्थी नेता सुवास पौडेलले बताए । संघका अध्यक्ष दुजाङ शेर्पाले विवाद मिलाएर भोली कार्यक्रम गरिने दाबी गरे । ‘विवाद मिल्छ । मिलाएरै कार्यक्रम गर्न पर्‍यो नि’ शेर्पाले भने ।

२०७८ चैत ९ मा संघको अध्यक्षमा शेर्पा मनोनित भएका थिए । गत साउनको २३ गते ७१० जना थपेर तदर्थ समिति बनाइएको थियो । कूल ७११ जनाको केन्द्रीय समितिमा २०९ जना शेखर-गगन पक्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?