+
+

कांग्रेस बैठकमा आफ्नै मन्त्रीप्रति असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १९:३८

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले सुधारका काम गर्न नसकेको भन्दै असन्तुष्टिको आवाज उठेको छ । सरकारको एक वर्षे समयको समीक्षा गर्न बोलाइएको बैठकमा कांग्रेसका मन्त्रीहरुले सुधारका काम गर्न नसकेको असन्तुष्टि नेताहरुको छ ।

एक वर्षको अवधिमा गरेको एउटा मात्रै राम्रो काम गरेको भए देखाउन चुनौती दिएका छन् । केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘एउटा काम सिंधै जनतालाई प्रभावपार्ने, जनताको मत जित्ने के काम गर्नुभयो ? जनताको मन छुने एउटा काम गरेको देखाउनुस् ।’

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेताहरुसँग रिसाएको बताए ।

शिवाकोटीले संघीय सरकारमा भ्रष्टाचार र अनियमितताका अनेक काण्ड सतहमा आइरहँदा प्रदेश र स्थानीय तह पनि आफ्नो हैसियत अनुसारको अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको आरोप लाग्न थालेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले बैठकमा वर्तमान सरकारको औचित्य सकिएको निष्कर्ष सुनाए । सरकार असफल भएको प्रधानमन्त्रीले स्विकारेको दाबी गर्दै कोइरालाले भने, ‘मन्त्रीहरुको फेरबदल होइन । सबै दल समेटेर सर्वदलीय सरकार बनाउनु पर्दछ ।’

कांग्रेसबाट वर्तमान मन्त्रीपरिषद्मा नौ जना मन्त्री छन् । कांग्रेसले मन्त्रीहरूलाई बैठकमा कार्यसम्पादनको अवस्थाबारे लिखित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार गठनको प्रारम्भमा अर्थतन्त्रका सूचकहरु खराब रहेको बैठकमा सुनाएका थिए । अन्तराष्ट्रिय परिवेशमा पनि मन्दीकै अवस्था भएको हुनाले नेपाललाई पनि प्रभाव परेको जानकारी गराए । ‘अर्थतन्त्रमा परिणाम तुरुन्तै देखिँदैन । केही सूचकहरु सकरात्मक हुँदै गएका छन्’, महतले भने । महँगी घटाउन सरकार सोचेभन्दा बढी सफल रहेको महतको दाबी थियो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरेपनि पूर्व योजना आयोगका उपाध्यक्ष समेत रहेका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले अर्थतन्त्रमा झिनो सुधार मात्रै भएको बताए । २०६८ सालपछि चालु खर्च बढ्ने र पुँजीगत खर्च घट्ने क्रम जारी रहेको पोखरेलले बताए ।

‘यस वर्ष पनि ११४२ अर्ब चालु खर्च राख्दा पुँजीगत बजेट जम्मा ३०२ अर्ब राखिएको छ । जुन, गत सालभन्दा करिब ७८ अर्बले कमि हो’, बैठकमा पोखरेलले भने ।

परराष्ट्रमन्त्री एनपी साउदले वर्तमान सरकारले बाहिरी मूलुकसँग पहिलेको भन्दा सम्बन्ध सुधार गरेको बताएका थिए । ‘पहिले भन्दा परराष्ट्र मन्त्रालय झन बढी क्रियात्मक भएको छ । केही महत्वपूर्ण भिजिट चाँडै गराउँदै छौं’, बैठकमा साउदले भने ।

इजरायल द्धन्द्धमा हमासको नियन्त्रणमा रहेका युवालाई स्वदेश ल्याउन पहल भइरहेको जानकारी साउदले गराएका थिए । ‘उनलाई नेपाल ल्याउन हर प्रयास गरिरहेका छौं । हमाससँग राम्रो सम्बन्ध भएका देशसँग पनि हारगुहार गरेर रिहाइको लागि सहयोग पु¥याइदिन भनेका छौं’, साउदले भने ।

परराष्ट्रमन्त्रीले आफ्नो कार्यकालभरि मन्त्रालयले गरेका कामको लिखित प्रतिवेदन पेश गरेका छन् । अर्थमन्त्री महतले भने शुक्रबारको बैठकमा कार्यसम्पादन लिखित रुपमा बुझाएनन् ।

राष्ट्रिय सभामा अवसर नपाएकालाई समेट्न सुझाव

बैठकमा केन्द्रीय सदस्यहरुले राष्ट्रिय सभाको उम्मेदवार छनोट गर्दा यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राख्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय सदस्य आचार्यले राष्ट्रिय सभामा उपयुक्त पात्रलाई अवसर दिँदा समुदायमा कांग्रेस अभियान लिएर जाँदा सकरात्मक सन्देश जाने मत राखे ।  ‘लामो समय पार्टीमा दुःख गरेका, जगमा बसेर संगठन माथि उठाएका, तर अहिलेसम्म कुनै अवसर नपाएका छन्’, आचार्यले बैठकमा भने, ‘त्यस्ता व्यक्तिलाई अहिले उम्मेदवार बनाइयो भने कांग्रेस रुपान्तरण भएको सन्देश लिएर जनताकहाँ जान सकिन्छ ।’

केन्द्रीय सदस्य सिवाकोटीले नयाँ अनुहार र आफ्नो क्षेत्रमा केही विशिष्ट योगदान गरेकाहरुलाई हेरेर राष्ट्रिय सभा उम्मेदवारको मापदण्ड बबनाउनु पर्ने बताए । ‘देश कांग्रेसलाई हेरिरहेको छ । कांग्रेसले देशको मुड बुझ्छ की बुझ्दैन ? देशको मुड बुझे मात्रै पार्टी पनि टिक्छ हामी पनि टिक्छौ । नेतृत्वको ध्यान जाओस’, सिवाकोटीले भने ।

मर्यादाक्रममा प्रश्न

बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र आचार्यले मर्यादाक्रमको विवाद अन्त्य गर्न माग गरे । ‘यति पुरानो पार्टी आसन र भाषणका निम्ति अल्झिने, रुमल्लिने स्थिति बन्न हुँदैन’, बैठकमा आचार्यले भने, ‘जिल्ला, प्रदेशमा साथीहरुले कार्यक्रम गर्न असजिलो भइसक्यो । पार्टीले मर्यादाक्रमको खाका यथाशीघ्र बनाओस् ।’

मर्यादाक्रमको विवादले गर्दा उपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाबीच सँगै एउटा कार्यक्रममा जाने अवस्था छैन । वरियता विवादकै कारण गण्डकी र लुम्बिनीको प्रदेश सम्मेलनमा उपसभापति खडका उपस्थित भएनन् । खड्का उपस्थित भएका मधेसको सम्मेलनमा नेता कोइराला सहभागी भएका थिएनन् ।

नेताहरुले टिकटक प्रतिवन्धको निर्णयबाट पछि हटनु पर्ने भन्दै समया सरकारको  चिन्तनमा भएको धारणा राखे । केन्द्रीय समितिको बैठकमा शुक्रबार बोलेका केही सांसदले आज भएको बालकुमारी घटनाको विषय पनि उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?