+
+

गठबन्धनबारे कांग्रेस बैठकमा प्रस्तुत तीन प्रतिवेदनमा के छ ?

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन ४ गते १५:१८

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबारदेखि सुरु हुने महासमिति बैठकमा पेस गर्न तयार गरेको प्रतिवेदनमा वर्तमान सत्ता गठबन्धनको विषय समेत समेटिएको छ । यसमा तीनै नेताका तीन फरक–फरक संश्लेषण छ ।

महामन्त्री गगन थापा भने गठबन्धनप्रति कठोर देखिएका छन् । कार्यकर्ताहरुको मनोभावअनुसार पार्टी एक्लै चुनाव लड्नुपर्ने पक्षमा थापा छन् । त्यसैले चुनाव अघि गठबन्धन नगर्ने प्रतिबद्धता गर्नुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पहिलो दल बने पनि समानुपातिकतर्फ मत घट्नुमा गठबन्धनलाई कारण देखाएका छन् । यद्यपि निर्वाचन अघि गठबन्धन नगर्ने निर्णय तत्काल लिन अलि हतार हुने शर्माको मत छ ।

उपसभापति खड्काले गठबन्धन रहर नभई बाध्यता भएको संकेत गरेका छन् । त्यसको कारणमा उनले अहिलेको निर्वाचन प्रणालीलाई देखाएका छन् । उनको भनाइमा अहिलेको निर्वाचन प्रणालीबाट कुनै दलको बहुमत पुग्दैन, त्यसैले गठबन्धन बाध्यता हो ।

राजनीतिक अस्थिरता निम्तिन सक्ने खतराले गठबन्धन गरिएको खड्काको निचोड छ । ‘सरकार गठनका लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,’ खड्काको प्रतिवेदनमा भनिएको छ ।

निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थिति उपज भएको महामन्त्री थापाले पनि स्विकारेका छन् । तर कार्यकर्ता र कांग्रेसका शुभेच्छुक गठबन्धनप्रति सकारात्मक नरहेकाले पार्टीले नयाँ संकल्प गर्नुपर्ने महामन्त्री थापाको जोड छ ।

‘भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचन पूर्व गठबन्धन (प्रि-इलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन,’ पार्टीले गर्नुपर्ने संकल्पमा महामन्त्री थापा भन्छन् ।

निर्वाचन अघि गठबन्धन नगर्ने निर्णय तत्काल लिन अलि हतार हुने अर्का महामन्त्री शर्माको बुझाइ छ । पार्टीभित्रका दुई थरी मतलाई सम्मान गर्दै उचित बेलामा निर्वाचन अघिको गठबन्धनमा निर्णयमा पुगिने शर्माले प्रतिवेदनमा लेखेका छन् । ‘निर्वाचन आउनुभन्दा ४ वर्षअघि नै निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन । त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौं या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौं ?’ प्रतिवेदनमा शर्मा लेख्छन् ।

गठबन्धनका कारणले पार्टीलाई क्षति पुगेको तथा निराशा थपेकोमा दुई महामन्त्री एकमत देखिन्छन् । गठबन्धनका कारणले कांग्रेसका मतदाताले रुखमा मत हाल्ने कतिपय ठाउँमा बञ्चित भएको थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिह्न नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौं,’ थापाले प्रतिवेदनमा लेखेका छन् ।

निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नहुँदा निर्वाचन पछि मात्रै सरकार सञ्चालनमा तालमेल उपयुक्त हुने थापाको धारणा छ । तथापी, पाँच वर्षको लागि गठबन्धन सहित मत मागेकाले यस अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारी प्रदर्शन गर्नुपर्ने थापा तर्क गर्छन् ।

कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको महामन्त्री शर्माको विश्लेषण छ । उनीहरुको विश्वासलाई पुनर्जागृत गर्नुपर्ने शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘गठबन्धन मार्फत पहिलो दल त बन्यौं, तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो ?’ पार्टी पङ्तिमा उनको प्रश्न छ ।

गठबन्धनका कारणले पार्टीलाई क्षति पुगेको विषयलाई महामन्त्री थापाले आंकडा सहित प्रतिवेदनमा पेश गरेका छन् । ‘पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आयो । जसले गर्दा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भयो,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

२०७४ बाट २०७९ को आम चुनावसम्म आइपुग्दा प्रतिनिधिसभा चुनावमा लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्रास आएको तथ्यांक थापाले प्रस्तुत गरेका छन् । थापा भन्छन्, ‘दुई चुनावको बिचमा हामीले १३.२ प्रतिशत त मतदाता नै गुमायौ । यही कुरा सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने हाम्रो लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको छ ।’

अघिल्लो निर्वाचनमा भन्दा यसपटक प्रदेशतर्फ समानुपातिक तर्फ १५.७४ प्रतिशत कम मत पाएको तथ्यांक थापाले देखाएका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसको लोकप्रिय मत राम्रो भएपनि त्यस अनुसार प्रदेश र संघमा मत नआएको उनले उल्लेख गरेका छन् । ‘त्यसको एउटा प्रमुख कारण हो, स्थानीय तहको निर्वाचनमा हामीले तल्लो तहमै आवश्यकताका आधारमा तालमेल गर्ने भनेका थियौं, बाध्यात्मक बनाएका थिएनौँ,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

कांग्रेस अंकगणितमा तिनै तहमा प्रथम देखिए पनि विजयी भाव कार्यकर्ता तथा शुभेच्छुकमा नरहेको थापाको निचोड छ । गठबन्धनले अर्को दलको प्रचारका लागि झण्डा बोकेर हिँड्नुपर्ने वाध्यतात्मक अवस्था बनाएको थापाले प्रतिवेदनमा लेखेका छन् ।

‘एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिह्नमा मत हाल्न पाएनन् नै अर्को तर्फ अन्य दलको निर्वाचन चिह्न र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अबस्थामा हामीले पुर्‍यायौं,’ गठबन्धनले पार्टीमा पङ्तिमा परेको वाध्यता उनले लेख्छन् ।

महामन्त्री शर्माको बुझाइमा गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा हो । ०७९ को निर्वाचनपछि पुस १० गते भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दा ‘ट्र्याक’ मा फर्किएको शर्माको विश्लेषण छ । संयम र परिपक्वताको मार्गबाट गठबन्धन पुन ब्युँतिएको शर्माले प्रतिवेदनमा लेखेका छन् ।

‘फेरि पनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भएका नाताले विशेष सतर्कता र सजग जिम्मेवारी हामीले प्रस्तुत गर्न जरुरी छ,’ शर्मा प्रतिवेदनमा भन्छन्, ‘एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?