+
+

अस्पताल र रिङरोडका लागि बजेट दिने प्रधानमन्त्रीको वचन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते ९:३८

१५ बैशाख, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेजका लागि आफ्नै अस्पताल सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने घोषणा गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया नयाँ आर्थिक वर्षबाट सुरु गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय यसअघि सरकारले गरिसकेको आफ्नै अस्पताल नहुँदा प्रक्रिया अगाडि बढेको थिएन । तत्काललाई कोशी अस्पताल प्रयोग गर्ने समझदारी छ ।

प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेज सञ्चालनको निर्णय कार्यान्वयन गर्न सुविधायुक्त अस्पतालको लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने बताएका हुन् ।

सम्बोधनमा क्रममा विराटनगरको चक्रपथ निर्माणका लागि आगामी आर्थिक वर्ष पर्याप्त बजेट व्यवस्था गर्ने घोषणा पनि गरे । २०५४ सालबाट निर्माण सुरु भएकाे विराटनगर चक्रपथ बजेट अभावका कारण अलपत्र छ ।

गोठगाउँमा विश्विद्यालका लागि अस्पताल र विराटनगर चक्रपथ निर्माणका लागि बजेट व्यवस्थापन गर्न मोरङ क्षेत्र नम्बर ६(१) का प्रदेश सांसद जीवन आचार्यले पहल गरिरहेका थिए ।

प्रधानमन्त्रीको घोषणापछि आगामी आर्थिक वर्षबाट दुवै योजना अघि बढ्ने  आशा पलाएको उनले बताए ।  ‘ चक्रपथ र विश्वविद्यालयको आफ्नै अस्पतालका लागि हामीले निरन्तर पहल गरिरहेका थियौं,’ उनले भने,‘ प्रधानमन्त्रीको घोषणाले प्रदेशबासी र विराटनगरबासीलाई हर्सित बनाएको छ ।’

प्रधानमन्त्री प्रचण्डले दिक्षान्त समारोहमा गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउँदै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?