+
+

प्रतिवेदन लेख्न सुन जाँचबुझ समितिले माग्यो थप १५ दिन समय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १९:१८

१४ फागुन, काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ ।

सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पुनः २ महिना समय थप गरिसकेको छ । थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले १५ फागुनसम्म प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने बताएका छन् । ‘यसर्थ यही फागुन मशान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन अनुरोध गरी गृह मन्त्रालयमार्फत नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै लगातार संसद अवरोध गरेको थियो ।

त्यसपछि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमति अनुसार सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।

आयोगले राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सुन तस्करीमा संलग्नको अभियोग लागेका १०० भन्दा बढी व्यक्तिसँग बयान र सोधपुछ गरिसकेको छ ।

थपिएको १५ दिन अवधिमा आयोग प्राप्त प्रमाणहरुको अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयारीमा लाग्ने बताएको छ ।

‘आयोगले यो महिनाको मशान्तभित्रै नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने व्यहोरासमेत अनुरोध गर्दै हालसम्मको सद्भाव र सहयोगका लागि आयोग सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्दछ’ अध्यक्ष आचार्यले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?