+
+

भारतीय पर्यटक आगमनलाई सहज बनाउन लुम्बिनीका होटेल व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ११:०२

१५ फागुन,बुटवल । भारतीय पर्यटकलाई नेपाल आगमनमा नीतिगत सहजता र सम्मानजनक व्यवहार गर्न लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

नेपालको पर्यटन व्यवसाय फस्टाउने एउटा आधार विश्वकै ठूलो जनसंख्या भएको नजिकको छिमेकी देश भारतका पर्यटक भएकाले अव्यवहारिक र झन्झटिलो नीति नियमहरु संशोधन गरी पर्यटकमैत्री बनाउन माग गरेका हुन् ।

नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीले सरकारी नीति नियम पर्यटकमैत्री नभएकाले भारतीय पर्यटक आगमन उत्साहजनक हुन नसकेको औंल्याएको छ ।

एशोसिएसनले नेपाल सस्तो होइन उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने मान्यता स्थापित गर्न,नेपाली आकाशलाई कालो सूचीबाट हटाउन,आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाई भाडा दर समान बनाउन,रुपन्देहीलाई क्यासिनो हब, नाइट लाइफ र वेडिङ डेस्टिनेसन (भारतीयहरु यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य) को रुपमा विकास गर्न माग गरेको छ ।

यस्तै लुम्बिनीलाई शान्ति शहर, ध्यान र योगा केन्द्रको रुपमा विकास गर्न र लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बर्थिङ अस्पतताल बनाउन, नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटववलको जितगढी किल्लालाई युरोप लगायत मुलुकमा ब्राण्डिङ गरी पर्यटक आकर्षित गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

यस्तै नेपाली कलेजहरुले होटेल म्यानेजमेन्टको इन्टर्नसीपमा विद्यार्थीलाई विदेश पठाउने गरेकोमा त्यसलाई रोकेर विदेशी विद्यार्थीलाई नेपालमा इन्टर्नसीप गराउन पहल गर्नुपर्ने, बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहारहरु नियम विपरीत गेष्ट हाउस र होटेलमा परिणत भएकाले यसलाई रोक्नुपर्ने, लुम्बिनी शान्ति भूमि भए पनि ध्वनी प्रदूषण र कोलाहलयुक्त वातावरण भएकाले शाइन ल्याङग्वेज (इशारा भाषा) अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठकले प्राकृतिक सुन्दरता, आधा घण्टाकै फरकमा अलग अलग हावापानी, रमणीय वातावरण, बुद्धजन्मस्थल लुम्बिनी लगायतका विश्व सम्पदा भएकाले यहाँ माइस टुरिजम (मिटिङ, इन्सेन्टिभ,कन्फेरेन्स र एक्जिबिसन) को राम्रो संभावना भएको तर सरकारी नीति बाधक भएको बताए ।

भारत उत्तर प्रदेशमा मात्रै २४ करोड बढी जनसंख्या भएकाले उक्त जनसंख्याको एक/दुई प्रतिशत मात्रै हरेक वर्ष नेपाल भित्र्याउन सके यहाँको अर्थतन्त्रमा ठूलो सुधार आउन सक्ने भएकाले भारतीय पर्यटकलाई विना झन्झट सहज वातावरणमा आउने, घुम्ने र चाहे जति खर्च गर्न पाउने वातावरण सरकारले बनाइदिनुपर्ने पाठकले बताए ।

भारतीय पर्यटकले २५ हजार भारु मात्र ल्याउन पाउने नियमले व्यवसाय फस्टाउन नसकेकाले चाहे जति रकम ल्याउन पाउने नीतिका लागि सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

‘तारे होटेलमा बस्ने हो भने २५ हजार भारुले एक दिनलाई पनि पुग्दैन अनि कसरी व्यवसाय फस्टाउन सक्छ ?’ पाठकले भने, ‘चाहे जति रकम बोक्न पाउने नीतिगत व्यवस्थाका लागि सरकारले भारतसँग उच्चस्तरीय वार्ता गर्न अपपरिहार्य छ ।’

धेरै भारतीयहरु नेपालका स्तरीय होटेलमा आएर विवाह समारोह गर्न इच्छुक हुने भएपनि होटेलमा हुने खर्चको भुक्तानीमा कानुनी अड्चनले व्यवसायमा ठूलो असर परेको अध्यक्ष पाठकले औंल्याए ।

भारतीय पर्यटक चढेका सवारी साधनलाई चेकजाँचका नाममा सुरक्षाकर्मीबाट औचित्यहीन र अनावश्यक दु:ख दिने परिपाटिले नेपालप्रति नकारात्मक छाप परेको पाठकले बताए । ‘गोरो छाला भएकालाई मार्त्र पर्यटक मान्ने तर भारतीलाई पर्यटक नै नठान्ने र चेकजाँचका नाममा दु:ख दिने र हेप्ने मानसिकता अझै छ यो रोकिनुपर्छ,’ उनले भने, ‘सीमा नाकामा तीन थरि सुरक्षा निकायले चेकजाँच गरेपछि अन्तिम गन्तव्यसम्म चेकजाँच नगरी निर्वाध यात्रा गर्न दिनुपर्छ ।’

भारतीय पर्यटक चढेका गाडीहरु सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी भारतसँग सीमा जोडिएका जिल्लाको उत्तरतर्फको अन्तिम सीमा क्षेत्रसम्म आउन दिनुपर्ने व्यवसायीको माग छ ।

एशोसिएनका उपाध्यक्ष दिलीप गौचनले विदेशी पर्यटकलाई आकषिर्त गर्न बुद्धजन्मस्थल लुम्बिनी, जितगढी किल्ला, रामापिथेकस पार्क, रानीमहल, बसन्तपुर लगायत हिलस्टेशनहरु भएपनि सरकारले यिनको ब्राण्डिङ र बजारीकरणमा पर्याप्त लगानी नगरेको औंल्याए ।

बेलहिया नाकाबाट कोरोना महामारी अघि एक लाख ६० हजार विदेशी पर्यटक आएकामा गत वर्ष ८० हजार मात्र आएको तथ्यांकले सरकारले पर्यटक भित्राउन प्रभावकारी काम नगरेको पुष्टी हुने गौचनको भनाइ छ । ‘विदेशी मुद्रा आर्जन,रोजगारी सिर्जना र तुलनात्मक लाभका हिसाबले राम्रो फाइदा लिन सकिने क्षेत्र पर्यटन नै हो, त्यसैले सरकारले पर्यटनलाई मुख्य एजेण्डा बनाउनपर्छ’, गौचनले भने, ‘सरकारी निति नियम समय सापेक्ष र पर्यटकमैत्री नहुँदा पर्यटनबाट लाभ लिन धेरै पछाडि छौं ।’

एशोसिएसनका महासचिव विकास पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा र बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमै नआउंदा पर्यटन क्षेत्रमा भएको अर्बौं लगानी जोखिममा परेको भन्दै सरकारले नसक्ने हो भने छिटो निजी क्षेत्रलाई दिएर चलाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्न आफूहरु तयार रहेको उनले बताए ।

एशोसिएसनका कोषाध्यक्ष पदम केसीले अर्बौं लगानी भएको होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने र बुटवलमा रात्रिकालीन व्यवसाय सञ्चालनको लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरे । ‘उद्योग सरह मान्यता पाउँदा विद्युत महसुल, बैंक ब्याज दर,भन्सारलगायतमा सहुलियत पाउन सकिने हुँदा व्यवसायीलाई प्रोत्साहन हुन्छ,’ केसीले भने ।

अर्का होटेल व्यवसायी टेकनाथ बस्यालले नेपालका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित र पर्याप्त जनशक्तिविहीन भएकाले पर्यटकले लामो समय कुर्नुपर्ने, झन्झट र सास्ती ब्यहोर्नुपर्ने वाधयता रहेकाले ती कार्यालयहरुलाई आधुनिक प्रविधियुक्त, पर्याप्त जनशक्तियुक्त छिटोछरितो र सुविधायुक्त बनाउनुपर्ने औंल्याए ।

व्यवसायी प्रणदा दीक्षितले बुटवल-नारायणगढ सडक निर्माणमा भएको ढिलासुस्तीले रुपन्देहीका होटेलको व्यापारमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यथाशीघ्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

पर्यटकस्तरदेखि पाँचतारेसम्मका ४० बढी होटल आबद्ध एशोसिएसनले लुम्बिनी प्रदेश र अन्य प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुसँग कनेक्टिभिटी विस्तार गरी पर्यटकको बसाइ लम्बाउन व्यवसायीबीच ‘प्रोमोटिङ इच अदर’ अभियान सञ्चालन गरेको कार्यकारिणी सदस्य लक्ष्मण भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?