+
+

पाहुनालाई मौलिक स्वाद चखाउँदै माघी होमस्टे

जनक विष्ट जनक विष्ट
२०८० फागुन १६ गते ६:४२

१६ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-४ का सीताराम चौधरी घरमा कोही पाहुना नआएको दिन न्यास्रो मान्छन् ।

पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दै समय बिताउने चौधरीको दिनचर्या नै बनिसक्यो । माघी होमस्टे थारु गाउँका अध्यक्ष समेत रहेका चौधरी आफूले पनि घरमा होमस्टे सञ्चालन गरेका छन् ।

पूर्वपश्चिम राजमार्गको सुखड बजारदेखि पाँच किलोमिटरको दूरीमा रहेको माघी होमस्टेको १२ नम्बर घरका सञ्चालक हुन् चौधरी । चौधरी विगत १० वर्षदेखि होमस्टेमा बास बस्न आउने अतिथिहरुको सेवा, सत्कार र व्यवस्थापनको काम गर्दै आएका छन् ।

‘होमस्टेमा पाहुना आएको दिन धेरै खुसी लाग्छ । नयाँ/नयाँ मान्छेसँग नयाँ कुराकानी हुन्छ । उहाँहरुको सेवा गर्न पाउँदा मन निकै आनन्दित हुन्छ’, चौधरीले अनलाइनखबरसँग भने, ‘तर कोही नआएको दिन खल्लो लाग्छ । पाहुना आइहाल्नुहुन्छ कि भनेर बाटो ढुुकेर बस्न बानी परिसक्यो ।’

यहाँको होमस्टेमा बास बस्न आउने अतिथिलाई थारु परम्पराअनुसार स्वागत गर्ने चलन रहेको छ । यहाँ आउने जोसुकैले मौलिक परिकारको स्वाद चाख्न पाउँछन् ।

होमस्टेमा आफैंले उत्पादन गरेको स्थानीय जातको दाल, चामल, तरकारी, कुखुरा, माछा र मासु जस्ता परिकार खुवाउने गरिएको छ । आफैंले उत्पादन गरेको स्थानीय मदिरा पनि पाहुनाले चाख्न पाउँछन् ।

थारु जातिको मौलिक संस्कृतिक र मौलिक परिकारको स्वाद चाख्न पाउँदा होमस्टेमा बास बस्न आउनेहरु पनि खुसी हुने चौधरी बताउँछन् ।

माघी होमस्टे थारु गाउँको घर नम्बर ११ की सञ्चालक रुपा चौधरी पनि १० वर्षदेखि गाउँमा आउनेहरुको सेवामा समर्पित छन् । उनको भनाइमा होमस्टेले जीविका चलाउन महत्वपूर्ण भूमिका खेलेको छ भने गाउँबस्तीमा विकासको सञ्चार समेत भएको छ ।

‘पहिले घर खर्च कसरी चलाउने भन्ने चिन्ता निकै सताउने गर्दथ्यो तर होमस्टे चलाएपछि अहिलेसम्म कुनै समस्या भएको छैन’, चौधरीले भनिन्, ‘जीविका चलाउन पुगेको छ । गाउँमा बाटो थिएन, खानेपानी अहिले सडक कालोपत्रे हुँदैछ । घर-घरमा खानेपानीका धारा पुगेका छन् । प्रशस्तै परिवर्तन ल्याएको छ ।’ रुपाले घरमा स्थानीय जातको कुखुरा पालेकी छन् । खेतमा अन्नबाली लगाएकी छन् ।

घरमा बास बस्न आउनेहरुलाई आफ्नै पौरखले उब्जाएको अन्नबाली खुवाउँछिन् । त्यसवापत हुने आम्दानीले परिवार र आफ्नो जीविका चलाउन पुगेको छ । माघी होमस्टे थारु गाउँमा १५ घर छन् । यहाँ प्राय दैनिकजसो पाहुनाहरु आइरहेकै हुन्छन् । पाहुनाले सबै घर भरिभराउ नभएपनि कुनै न कुनै घरमा पुगेकै हुन्छन् ।

माघी होमस्टेका अध्यक्ष सीताराम चौधरीका अनुसार यहाँ एक महिनामा २०० जनासम्म बास बस्न आउने गरेका छन् । त्यो वापतका कम्तीमा पनि गाउँमा तीनदेखि चार लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।

होमस्टेका अध्यक्ष सीताराम चौधरी ।

होमस्टे आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा पर्न थालेपछि स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान दिन थालेको उनी बताउँछन् । जसका कारण सामाजिक, आर्थिक र पूर्वाधार विकासमा उल्लेख्य सुधार भइरहेको छ ।

‘होमस्टेले थारु समुदायको जनजीविका चलाउन सहयोग पुग्ने कुरा भइहाल्यो । त्यो बाहेक यहाँको सामाजिक र पूर्वाधारको पनि विकास तीव्र रुपमा भइरहेको छ’, चौधरीले अनलाइनखबरसँग भने, ‘स्थानीय तह र प्रदेश सरकारले पनि प्राथमिकतामा राखेका छन् ।’ प्रदेश सरकारले संग्राहलय भवन निर्माणका लागि बजेट छुट्याएको उनी बताउँछन् ।

होमस्टे सञ्चालन भएको एक घर ।
लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?