+
+

दाङ क्रिकेट लिग : देउखुरी र पुरनधारा फाइनल दौडबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १७:५८

१७ फागुन, काठमाडौं । घोराहीमा जारी दाङ क्रिकेट लिग (डीसीएल) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् ।तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई हराएका हुन् ।

देउखुरी र पुरनधाराको फाइनल दौडबाट बाहिरिएका छन् । आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित गर्‍यो ।घोराही क्रिकेट मैदानमा सम्पन्न खेलमा जितको लागि पाएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रन बनाएको थियो ।

देउखुरीका नारायण जोशीले सर्वाधिक ३०, प्रज्वल थापाले १४ र आशिष ओलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।तुलसीपुरको लागि नेपालबाट खेली सकेका स्पिन भुवन कार्की, नेपाल एपीएफबाट घरेलु क्रिकेट खेल्ने अमरसिंह राउटेला र दिवान पुनले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । तुलसीपुरका लागि रुपेश सिंहले २९ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

विराटसिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाए । दिवान पुनले १५, अमरले ११ तथा भुवनले १० बनाए । देउखुरी वारियर्सका युवा स्पिनर सुभम खनालले  ४ ओभरमा २४ रन खर्चिए ३ विकेट लिए । आशिष ओलीले २ तथा आवाज गौतमले १ विकेट लिए।

दोश्रो खेलमा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गर्‍यो । जितको लागि पाएको १५० रनको लक्ष्य पछ्याएको पुरनधारा १७.५ ओभरमा ७४ रनमा अल आउट भयो ।

कृष्ण कार्कीले सर्वाधिक २७ तथा दीपेन्द्र रावतले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दंगाली लायन्सका बलर बसिर अहमदले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कप्तान विपिन खत्री, वीर बहादुर घर्तीमगर र शंकर रानाले २र२ विकेट लिए। प्रकाश जैसीले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।  दंगालीको लागि सन्तोष कार्कीले २२ बलमा ५ चौकासहित सर्वाधिक ३०, अंकित बुढा मगरले २८ रन, विपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ तथा शंकर रानाले १२ रन बनाए ।

पुरनधाराका कृष्ण कार्की र सुजल ओलीले ३-३ विकेट लिए । दीपेन्द्र रावत र मोहन खत्रीले १/१ विकेट लिए । दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?