+
+

भरतपुरमा रेनुले गराएको भीआईपी जमघट

सुवास पण्डित सुवास पण्डित
२०८० फागुन १८ गते २२:३०

१८ फागुन, चितवन । भरतपुर महानगरपालिकाले प्रधानमन्त्री, चार पूर्वप्रधानमन्त्री सहितका भीआईपीलाई उपस्थित गराएर भ्रमण वर्षको उद्घाटन गरेको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह राखिएको थियो, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल उपस्थित थिए ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतलाई उपस्थित गराएकी मेयर रेनु दाहाल उद्घाटन समारोह अभूतपूर्व रुपमा सफल भएको बताउँछिन् । उद्घाटन समारोहमा नेताहरुले महानगर प्रमुखका बारेमा दिएको अभिव्यक्तिले उनी झन् खुसी छिन् ।

शीर्ष नेताहरुले महानगर प्रमुख दाहालको खुलेरै प्रशंसा गरे । पूर्व प्रधामन्त्री झलनाथ खनालले नगर प्रमुख दाहाल प्रचण्डको छोरी मात्रै नभएर नेपाली जनताकै छोरी भएको बताए ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रेनुलाई उत्साहित बनाउने गरी भाषण गरे । कुनै बेला रेनुलाई देखाएर प्रचण्डको आलोचना गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमा भरतपुर पुगेका थिए ।

निम्तालाई अस्वीकार गर्न नसकेर आएको भन्दै उनले भने, ‘शुभकामना दिनु मेरा लागि पनि पनि अवसर हो ।’

चितवन र भरतपुरको विकासमा सहयोगी हुन तयार रहेको भन्दै उनले थपे, ‘भरतपुर महानगर लगायत चितवनको भ्रमणमा आगामी एक वर्षभित्र सपरिवार भ्रमण गर्ने सोच बनाएको छु ।’

जबकी नेकपा कालमा ओली प्रधानमन्त्री भएको बेला नारायणगढ गोन्द्राङ्ग ६ लेनको सडक शिलान्यास तथा भरतपुरको आधुनिक सिटी हल शिलान्यास समारोह महानगर प्रमुख दाहालले बहिष्कार गरेकी थिइन् । ओलीले महानगर प्रमुख शिलान्यास समारोहमा नआएर पिकनिक खान गएको टिप्पणी गरेका थिए ।

यसपटक रेनुले ओलीलाई भरतपुर भ्रमण वर्षमा चितवन ल्याउन पहल गरिन् । फोन गरेर निम्तो दिइन् । ‘मैले भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा आउनुस् भनेर फोन गरे’ त्यसक्रममा ओलीले बेलायती एउटा संस्थाले दिन लागेको मेयर अवार्डका लागि बधाइ दिएको भन्दै उनले भनिन्, ‘उहाँले पक्का आउँछु भन्नुभयो । पछि उहाँको सचिवालयबाट भरतपुर आउने निश्चित भयो भनेर खबर आयो ।’

भ्रमण वर्ष समारोहमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भए । लामिछाने र दाहालबीच बेलाबेलामा घोचपेच चल्दै आएको थियो । आफ्नो निम्तो स्वीकार गरेर आएका लामिछानेलाई मेयर दाहालले भरतपुर भ्रमण वर्षको लोगो लगाइदिन् ।

लामिछानेले शुभकामना सम्बोधन गरे ।

भ्रमण वर्षको उद्घाटन समारोहमा सबै जसो नेताहरु र उपस्थित संख्याले आफू निकै उत्साहित भएको नगरप्रमुख दाहालले बताइन् । उद्घाटन समारोहमा ५० हजार सहभागी हुने अनुमान गरेपनि त्यो भन्दा बढी आएको उनले बताइन् । ‘पानी पनि नखाई भोकभोकै पैदल हिडेर भ्रमण वर्ष आफ्नै अभियान ठानेर आउनुभयो । यसैले भरतपुरको वैभवलाई अझैं उचो बनाएको छ’, दाहाल भन्छिन्, ‘मैंले विगत ७ बर्षदेखि भरतपुरको विकास र यहाँका जनताका पक्षमा जुन काम गरेको छु, जनताले आज मलाई उत्साह भर्नुभएको छ ।’

भ्रमण वर्षले समग्र जिल्लाकै पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उनले बताइन् ।

२०७४ सालमा कांग्रेसको सर्मथनमा महानगरको मेयर उम्मेदवार बनेकी दाहाललाई जिताउन मतगणनामा बसेका कार्यकर्ताले मतपत्र च्यातेपछि उनी विवादमा आएकी थिइन् ।

५ वर्षको अवधिमा देशमा भएका विभिन्न राजनीतिक घटनाक्रम र सत्ता फेरवदलको असर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्री भएकै कारण उनलाई समेत प्रभावित पार्ने नै भयो । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुनः कांग्रेसको समर्थनमा उम्मेदवार बनेर फराकिलो मतान्तरसहित जितेकी दाहालले भरतपुरको सडक पूर्वाधार, खानेपानी, सिँचाइ, ढल निकास, सामुदायिक विद्यालयको स्तरोन्नतीलाई प्राथमिकतामा राखेकी छिन् ।

बुबा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री वा सत्ता गठवन्धनमा रहेको फाइदा भरतपुरको विकासमा कुनै न कुनै रुपमा रहेको देखिन्छ । बजेटमा पहुँच पुर्‍याउनेदेखि योजनाहरू पार्नमासमेत रेनुको सक्रियता छ ।

भरतपुरमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर विमानस्थल विस्तार, विद्युत तारहरुको भूमिगत गर्ने जस्ता जनताका कामलाई उनले उच्च प्राथमिकतामा राखेकी छिन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?