+
+

भरतपुर भ्रमण वर्षको उद्घाटन भोलि, एमाले अध्यक्ष ओलीलाई पनि निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १२:२६

१७ फागुन, चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने भएका छन् ।

भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।

करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ । उनी भोलि दिउँसो हेलिकोप्टरबाट चितवन आउने कार्यक्रम छ ।

कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए ।

उनका अनुसार विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।

उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहीबार नै चितवन आउने कार्यक्रम छ भने बाँकी नेताहरु भोलि शुक्रबार आउने कार्यक्रम तय भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निम्तो गरिएकोमा उनी कार्यव्यस्थताका कारणले सहभागी हुन नसक्ने जनाएको महानगर सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । सत्ता गठवन्धनका नेताहरु सहभागी हुनुलाई सामान्य मानिए पनि एमाले अध्यक्ष ओली भरतपुर मेयरको निमन्त्रणलाई स्वीकार गरी आउन लागेकोलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओली प्रधानमन्त्री हुँदा नारायणगढ गोन्द्राङ्ग ६ लेनको सडक र भरतपुर सिटी हल शिलान्यास समारोहमा महानगर प्रमुख रेनु दाहाल सहभागी भएकी थिइनन् ।

यसपटक नगर प्रमुख दाहाल आफैंले ओलीलाई फोन गरेर भ्रमण वर्ष समारोहमा सहभागी हुन निम्ता गरेकी थिइन् ।

उद्घाटन समारोहस्थललाई भव्य बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।

उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्‍याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ । २ लाख बाह्य र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?