+
+
विचार :

रणनीतिक ओली, ‘ट्याक्टिकल’ प्रचण्ड

यतिबेला एमाले र माओवादी धार दुवै संकटमा छन् । तर एमाले अध्यक्ष केपी ओलीले बरु छाती फराकिलो बनाएको संकेत देखिंदैछ, माओवादी धारभित्र भने पहिलाभन्दा अझ बढी संकीर्णता देखिंदैछ । एकप्रकारले सामन्तवादी संस्कृति जस्तो ।

महेश्वर दाहाल महेश्वर दाहाल
२०८० चैत ६ गते १३:३८

जसरी माधवकुमार नेपालबारे केपी ओलीलाई राम्रो ज्ञान छ, त्यसरी नै डा. बाबुराम भट्टराईबारे पनि प्रचण्डलाई राम्रो ज्ञान छ । दबाबमा राख्छु वा उपयोग गर्छु भन्ने सोच्दासोच्दै माधवले एमालेबाट विद्रोह गर्नुभयो । फलतः ओलीको सत्ता नै खुस्कियो । आजको एमाले कमजोर हुनुको मूल कारण यही हो । तर त्यसको परिपूरण गर्न उहाँ माधव, झलनाथ र आफूसँग अलग भएकासँग क्रमशः नजिक बन्दै जानुभएको छ ।

जनताले स्थायित्वको आशाले हेर्दाहेर्दै नेकपाको फुट, ओलीको सत्ता आडम्बरी प्रवृत्तिमा बढोत्तरी र संविधानलाई कमजोर गर्ने कतिपय अभ्यास माधव नेपाल वा उहाँको समूह एमालेबाट अलग हुन देखिने कारण हुन् । तर, नदेखिएका नेतृत्व व्यवहार धेरै हुनसक्छन् ।

माओवादीबाट बाबुराम अलग हुनुमा यस्ता देखिने कारण नभए पनि नदेखिने कारण धेरै हुनसक्छन्, जसले बाबुराम जस्तो मालेमावादी बौद्धिक नेतालाई मार्क्सवाद नै परित्याग गर्ने घुम्तीमा पुर्‍यायो । व्यक्तिका विचार, प्रवृत्ति र कर्मको जिम्मेवार त व्यक्ति स्वयं नै हो, तर व्यक्तिलाई रूपान्तरण गर्ने आन्दोलनको नेतृत्वका रूपमा आफ्ना कमजोरीलाई प्रचण्डले ठन्डा दिमागले समीक्षा गर्न ढिला भइसकेको छ ।

शान्ति प्रक्रियापछि प्रचण्डले रणनीतिक भन्दा ‘ट्याक्टिकल’ नेताका रूपमा आफूलाई बढी उभ्याउनु, चिनाउनुभएको छ । त्यसैले कतिपयले उहाँलाई एक माघको जाडोको मात्रै चिन्ता गर्ने, अर्को माघबारे सोच्दै नसोच्ने नेताका रूपमा आलोचना गर्ने गरेका छन् । सबैभन्दा ठूलो पार्टीको नेतृत्व गरेको बेला होस् वा कमजोर तेस्रो पार्टीको नेतृत्व गरेको बेला होस्– उहाँका उतारचढावहरू गतिशील कम, अस्थिर धेरै लाग्दछन् ।

त्यसो त उहाँलाई चुनौती दिएर अलग भएकाहरू दृढ वा गतिशील छन् भनिएको होइन । तर उच्च अन्तरपार्टी जनवाद, काम र उद्देश्यमा भने एकता पैदा गर्न किन सकिराख्नुभएको छैन भन्ने प्रश्न टड्कारो छ ।

भर्खरै नेपाल समाजवादी पार्टीबाट अर्का अध्यक्ष एवम् सांसद महेन्द्र यादव, सहअध्यक्ष, महासचिव सहितको टोली अर्का अध्यक्ष बाबुरामलाई छाडेर माओवादी केन्द्रमा समेटिनुभएको छ । यसले माओवादी केन्द्रमा सकारात्मक प्रभाव त पारेकै छ, तर कम्युनिस्ट नाम राखेरै सिङ्गो पार्टी एकता गर्ने कुरामा बाबुराम सहमत भएको हल्ला चल्दाचल्दै उहाँ सहितको एकता कसको कारणले, किन सम्भव भएन ? के प्रचण्डले नै त्यो नचाहनुभएको हो ?

हिजो रामबहादुर थापा बादल पक्षसँग एकता हुँदा मोहन वैद्य किरण पक्षसँग किन त्यही स्तरको एकता प्रयास, हुटहुटी वा वार्ता हुन सकेन भन्ने प्रश्न पनि यसैसँग सम्बन्धित छ । किनभने किरण र बाबुराम आ–आफ्ना विचार–प्रवृत्तिका नेता हुन् । त्यसमध्ये बाबुरामले भने आफूलाई निकै हल्का बनाइसक्नुभएको छ ।

बाबुराम आफ्नै ‘मुभ’का कारण यति हल्का हुनुभएको हो । प्रचण्डसँग बार्गेनिङ गर्ने र ‘केही’ दिएमा तत्काल सहमत भइहाल्ने उहाँको आजसम्मकै बानी हो । यतिबेलै पनि प्रचण्डले महत्वका साथ बोलाउनुभयो भने उहाँ लेखिहाल्नुहुन्छ– ‘हामी दुई जनाबीच नयाँ ढंगले जाने बारेमा समीक्षा भयो ।’ वैचारिक बहस गर्ने, पार्टीलाई विधिमा ढाल्ने र संस्थागत हुनेबारे बाबुराममा पनि कुनै रुचि देखिंदैन । उहाँको आजको कमजोर अवस्था ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भने जस्तै हो ।

तर फुटपछिका प्रचण्ड, बाबुराम र किरण तीनवटै प्रवृत्तिको परीक्षण भइसकेको छ । उहाँहरू एक्लाएक्लै कसैले पनि माओवादी पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न अब सक्नुहुन्न । तर जनतामा फेरि स्थापित हुने तथा जनयुद्ध जसैगरी पुनः सर्वस्मरणीय योगदान दिने हो भने एकचरण उहाँहरूले पार्टी र देश निर्माणको संयुक्त रूपरेखा कोर्दै त्यसलगत्तै पार्टी हस्तान्तरण गर्न सक्नुपर्छ ।

किनकि बाबुरामले माओवादी आन्दोलन भन्दा टाढा बसेर नयाँ शक्ति निर्माण गर्ने जुन अभियान चलाउनुभयो, त्यो असफल भइसक्यो । किरणले क्रान्तिकारी आन्दोलनलाई पुनर्गठित गर्ने सांगठनिक जग नै बनाउन सक्नुभएन । प्रचण्ड नेतृत्वको पार्टी ३२ प्रतिशत लोकप्रिय मतबाट ११ प्रतिशतमा झरिसकेको छ ।

हिजो बलिदानीपूर्ण आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता समेत आज सुनदेखि नुनसम्मका विभिन्न काण्डमा मुछिएका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका नेता भ्रष्टाचार तथा व्यभिचारमा संलग्न भएको देखिंदा अरू पुराना पार्टीका नेता झैं कानै चिरेका जस्ता बनेका छन् ।यसलाई सच्याउन त्याग तथा बलिदानी इतिहास र समाजवादी यात्राको वैचारिकतालाई पुनर्ताजगी गर्नु जरूरी छ ।

हिजो जनयुद्ध र जनसंघर्षको नेतृत्व गर्नुभएका प्रचण्ड, किरण, बाबुराम, सीपी गजुरेल गौरव, नारायणकाजी श्रेष्ठ सहितका नेताहरू संरक्षक भएर अरूलाई पार्टी–राजनीति र राजकीय भूमिकामा सार्न सक्दा मात्रै पुनर्ताजगीको अर्थपूर्ण सन्देश सम्प्रेषित हुनेछ ।

पदाधिकारी, सांसद र मन्त्री भइराख्ने प्रक्रियालाई अब विधि नै बनाएर समाप्त पार्न सक्नुपर्छ । बादलको नाम भने यहाँ खट्किएको छ, उहाँ एमाले स्कुलिङमा पुगिसक्नुभएको छ । तर समाजवादको लक्ष्यलाई जनपक्षीय परिभाषा सहित साझा गन्तव्य किटान गर्न आपत्ति नहुने हो भने एमाले र सबै वामपन्थीबीच एकता एवम् सहकार्य अनिवार्य छ । त्यसको शर्त पनि पुराना नेताको संरक्षकत्व, तर नयाँ नेतृत्व सहितको गतिशील पार्टी नै हो ।

तत्काल चाहिं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको आम अपेक्षा के हो भने एक समय आफैंले नेतृत्व गर्नुभएका किरण–गौरव, बाबुराम, विप्लव, आहुति सहितका नेतालाई एउटै पार्टी भएर समाजवादी यात्रामा लैजान भूमिका खेल्नुहोस्, जसले माओवादी आन्दोलनको वैचारिक र सांगठनिक दुवै आधारलाई थप बलियो बनाउनेछ । सरकारमा बस्ने वा बाहिरिने खेल त सधैं भरहन्छ । तर आन्दोलनको आधार नै बलियो भएन भने सरकार एउटा अर्थहीन औपचारिकता मात्रै हो ।

यतिबेला एमाले र माओवादी धार दुवै संकटमा छन् । तर एमाले अध्यक्ष केपी ओलीले बरु छाती फराकिलो बनाएको संकेत देखिंदैछ, माओवादी धारभित्र भने पहिलाभन्दा अझ बढी संकीर्णता देखिंदैछ । एकप्रकारले सामन्तवादी संस्कृति जस्तो ।

संरक्षणवादी राजनीति र आलोचनात्मक भन्दा देवत्वकरण चेत मनपराएर त्यही अनुसार राजकीय एवम् संगठनात्मक भूमिका दिने प्रवृत्तिको प्रोत्साहन गरिंदैछ । त्यसैले एजेण्डा ठीक हुँदाहुँदै पनि संगठन खुम्चिएको छ, ‘किन चाउरिस् मरीच, आफ्नै पिरोले’ भने जस्तो ।

एजेन्डा त किताबको माछा जस्तै त हो, त्यसको कार्यान्वयन खोलाको माछा समात्नु हो । संघीय लोकतान्त्रिक परिवर्तनपछि पनि सामाजिक असमानता र गरिबीको उस्तै परिवेशले मानिसमा निराशा र आक्रोश छ । परम्परागत पार्टी, जनसंगठन र समग्र क्रान्तिकारी आन्दोलनको विरासत बोकेका प्रति पनि चरम अविश्वास देखिएको छ । त्यसैले नेपाली समाज तीव्र ध्रुवीकरणमा छ । गहिरो राजनीतिक संकटमा छ ।

तर यस संकटलाई वर्ग चेतनातिर तथा समाजवादी राजनीतिक दिशातिर मोडेर जान सकिएन भने मुलुक दुर्घटनामा पर्नेछ । सामाजिक यथार्थता र बहसबाट भागेर, पुराना किताब वा संघर्षको अनुभव भट्याएर अब अगाडि बढ्नै सकिंदैन । विशेषगरी माओवादीहरूले विगत कमजोरीप्रति घोत्लिएर भुइँमान्छेका पीडा र आन्दोलनमा सहभागी भए मात्र जनताबीच नयाँ विश्वासको वातावरण बनाउन सकिन्छ ।

विकसित राजनीतिक परिवेशमा टेकेर जति सकिन्छ छिटै वामपन्थीहरू बीच रणनीति र कार्यनीतिको बहस चलाउनु आजको अर्को प्राथमिकता हो । समाजलाई अग्रगामी दिशामा लैजान र उत्पीडितको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनका लागि तत्कालै चाहिं एउटा विश्वासिलो र लचिलो मोर्चा बनाएर जान सक्नुपर्छ ।

लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?