१० वैशाख, काठमाडौं । विद्युतीय सवारीसाधनको बजार विस्तार तथा उत्पादनमा चीन आक्रामक रूपले अघि बढेपछि पश्चिमा उत्पादनकर्तालाई कडा प्रतिस्पर्धाको चुनौती आइपरेको छ । पश्चिमा कम्पनीको बजार हिस्सा निरन्तर ओरालो लागिरहेको अवस्थामा चीनले विद्युतीय सवारी साधनको उत्पादनमा आक्रामक ढंगले लगानी बढाएको छ ।
पश्चिमा बजारमा निकै राम्रो र लोकप्रिय मानिएको टेस्लाको यस वर्षको पहिलो त्रैमासमा बिक्री २० प्रतिशतले कमी आएको छ । सन् २०२३ को तुलानमा उसको बिक्री २० प्रतिशतले कमी आएको हो भने टेस्लाको शेयर मूल्यमा पनि २५ प्रतिशतले गिरावट आएको छ ।
यसो हुनुमा विद्युतीय सवारीसाधनको बजार निकै प्रतिस्पर्धात्मक बन्नु र चीनको आक्रामक बजार विस्तार कारक रहेको विज्ञहरु बताउँछन् । हालसालै मात्रै चिनिँया लोकप्रिय फोन उत्पादनकर्ता साओमीले बेइजिङमा आफ्नो पहिलो विद्युतीय सवारीसाधन सार्वजनिक गर्यो । उसले एसयू सेभेन बजारमा ल्याएको छ । चीनको आक्रामक उत्पादनका कारण पश्चिमा उत्पादनकर्ताहरुलाई चिनियाँ रणनीति र आगामी चुनौतीबारे सोच्न बाध्य बनाएको छ ।
टेस्लाका मालिक एलन मस्कले भनेका छन्, ‘हाम्रो अवलोकन अनुसार चिनियाँ कम्पनीहरु निकै प्रतिस्पर्धात्मक हुनेवाला छन् । उनीहरुले चीनबाहेकका बजारमा राम्रै प्रभाव जमाउनेछन् ।’
मस्कको यो अभिव्यक्तिमा चुनौतीको स्वीकारोक्ति छ । सन् २०११ मा चिनियाँ बीवाईडीबारे उनले निकै हलुका टिप्पणी गरेका थिए । ब्लुमबर्ग टिभीसँगको संवादमा उनले भनेका थिए, ‘मलाइ लाग्दैन कि उनीहरुसँग राम्रो उत्पादन छ । बीवाईडीलाई हामीले कुनैपनि दृष्टिकोणले आफ्नो प्रतिस्पर्धी ठानेका छैनौँ । उनीहरुको भद्दा कार कसले रुचाउँछ ?’
चिनियाँ ब्रान्ड बीवाईडीले सन् २०२३ को अन्त्यतिर विश्वबजारको बिक्रीमा टेस्लालाई उछिनेको थियो । सन् २०२३ को अन्तिम त्रैमासमा उसले ५ लाख २५ हजार ४०९ युनिट कार बिक्री गर्दा टेस्लाले ४ लाख ८४ हजार ५०७ युनिट कार बिक्री गरेको समाचार सीएनएनमा प्रकाशित छ ।
चिनियाँ विद्युतीय सवारीसाधन कति लोकप्रिय छन् ?
विद्युतीय सवारी साधनको विश्वबजारमा बिक्रीको तथ्यांक हेर्दा चिनिँया सवारीसाधनको हिस्सा ६० प्रतिशत रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बताएको छ । टेस्ला र बीवाईडी विद्युतीय सवारीसाधनको बजार कब्जा गर्ने प्रतिस्पर्धामा रहेको त्यस संस्थाको भनाइ छ ।
बजारबारे अनुसन्धान गर्ने संस्था ट्रेन्डफोर्सले फेब्रुअरी २०२४ मा एक प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय सवारीसाधनका लागि राम्रा विश्वबजारका पाँच स्थानमध्ये तीन स्थानमा चिनियाँ उत्पादनको बिक्री निकै प्रतिस्पर्धात्मक छ । त्यसमा चिनियाँ कम्पनी बिवाइडीको हिस्सा १७ प्रतिशत छ भने जिएसी आयोनको ५.२ प्रतिशत, विलिङको ४.९ छ । यता टेस्लाको हिस्सा १९.९ रहँदा फक्सवागनको ४.६ प्रतिशत छ । १२ वर्षअघिको तथ्यांक हेर्ने हो भने विद्युतीय सवारीसाधनको विश्वबजारमा चिनिँया हिस्सा ०.१ प्रतिशत मात्रै थियो ।
सुरक्षाका दृष्टिकोणले कस्ता छन् चिनियाँ विद्युतीय गाडी ?
सवारीसाधनको गुणस्तर मापन गर्ने चिनियाँ साइट १२३४५६ अटोले सुरक्षाका दृष्टिकोणले टेस्लालाई नै पहिलो स्थानमा राखेको छ । यस साइटले बिक्री भएका प्रति १० हजार युनिट कारमा देखिएका कमजोरी र उपभोक्ताको सन्तुष्टिलाई आधार मानेर गुणस्तर मापन गर्दछ । प्रतिशतका हिसाबले टेस्ला र चिनियाँ सवारीसाधनको सुरक्षा र गुणस्तरमा खासै अन्तर भने देखाएको छैन ।
सस्तो छ चिनियाँ गाडी
चिनियाँ विद्युतीय सवारीसाधनले युरोपमा बजार विस्तार गरिरहेका छन् । उनीहरु अमेरिकी बजारमा भने प्रवेश गरेका छैनन् । अमेरिका नजिकैको मुलुक मेक्सिकोमा चिनियाँ कारको बिक्री भइरहेको छ । मेक्सिकोमा बीवाईडीको डल्फिन मिनीको मूल्य २१ हजार डलर छ । यही गुणस्तरको अमेरिकी कारको तुलनामा यो मूल्य सस्तो हो । जबकी निसान लिफको मूल्य त्यहाँ २९ हजार डलर पर्छ । सेभ्रोलेट बोल्टको मूल्य २७ हजार डलर पर्छ । चीनमा भने डल्फिन मिनीको मूल्य ९ हजार ६४० डलर तोकिएको छ ।
यता बीवाईडी अटो थ्रीको मूल्य भने चीन र विश्वबजारमा समान १६ हजार ५५० डलर राखिएको छ । टेस्लाको मूल्य चीनमा ३५ हजार ७६६ रहँदा अमेरिकामा ४४ हजार ९९० डलर रहेको छ । साओमी एस यू सेभेनको मूल्य चीनमा २९ हजार ८२५ डलर कायम हुँदा टेस्लाको मोडल थ्रीको मूल्य ३८ हजार ९९० राखिएको छ ।
चिनियाँ गाडी किन निकै प्रतिस्पर्धात्मक छन्?
विद्युतीय सवारीसाधन उत्पादनका लागि चीन सरकारले निकै ठूलो सहायता दिन्छ । आर्थिक रुपमा उत्पादनकर्ता तथा उपभोक्ता दुबैलाई लाभ हुने गरी करमा छुट दिने सरकारी नीति छ ।
क्यानेडियन अनुसन्धान संस्था एडम्स इन्टिलिजेन्सले भनेको छ, ‘सन् २०२४ देखि पूर्ण विद्युतीय कार खरिद गर्दा चिनियाँ उपभोक्ताहरुले २०० किलोमिटर रेन्जसम्मका सवारीसाधनमा कुनै कर तिर्नुपर्दैन ।’
गत जुनमा मात्रै चीन सरकारले ७१.८९ अर्ब डलरको कर छुट प्याकेज ल्याएको थियो । यस्तै ४ हजार १४४ डलरको कार बिक्रीमा बिक्रेताले बिक्री कर तिर्नुपर्ने छैन । चीन सरकारले बीवाईडी कम्पनीलाई मात्रै ३.७ अर्ब डलर अनुदान दिएको थियो ।
चिनियाँ सवारीसाधनको मूल्य सस्तो हुनुमा उत्पादन प्रक्रिया र ब्याट्रीलाई कारक मानिन्छ । ब्याट्रीका लागि आवश्यक खनिज कोबाल्टको सबैभन्दा ठूलो खानी अफ्रिकी मुलुक कंगोमा छ । त्यहाँ चीनकै दबदबा रहेको छ । यस्तै चीन स्वयं लिथियमका लागि तेस्रो ठूलो खनिज भएको मुलुक हो । व्याट्रीका लागि लिथियम र कोबल्ट दुबैको आवश्यकता पर्दछ ।
पश्चिमा उत्पादनकर्ता प्रतिस्पर्धामा कसरी कमजोर हुँदैछन् ?
पश्चिमा उपभोक्ताहरुलाई पनि त्यहाँका सरकारले कर छुट दिएको हुन्छ । उदाहरणका लागि अमेरिकामा महंगी न्युनीकरण ऐनले उपभोक्तालाई विद्युतीय कार खरिदमा ३ हजार ७५० डलर देखि ७ हजार ५०० सम्म छुट दिन्छ ।
तर यसअघि ४३ वटा सवारीसाधन खरिदमा कर छुट पाउने भनिएकामा अमेरिकी अर्थमन्त्रालयले गत जनवरीबाट १९ सवारीसाधनलाई मात्रै कर छुट भनेको छ । जसमा फोर्ड, टेस्ला, जीएम, हुन्डे, किया, फोक्सवगन लगायत अन्य ब्रान्डका सीमित मोडल तोकिएको छ ।
चिनियाँ सवारीसाधनको आक्रामक बजार विस्तारको प्रभाव अमेरिकामा पर्न नदिन अमेरिकी सरकारले निकै कडा नीति अवलम्बन गरेको छ । अमेरिकी अटोबजारको हितका लागि बाइडेन प्रशासन चिनियाँ सवारीसाधनको आपूर्तिका कारण निकै महंगो बनाउनुपर्ने दबाबमा रहेको छ ।
बाइडेन प्रशासनलाई पत्रनै लेखेर धेरै सिनेटरले यस विषयमा ध्यानाकर्षण नै गराएका छन् । सिनेटरहरुको संयुक्त पत्रमा भनिएको छ, ‘निकै भारी अनुदानसहित उत्पादन भएका चिनियाँ सवारीसाधन अमेरिकी बजारमा सहजै छिरेमा त्यसले अमेरिकी अटोमोबाइल्स उद्योगलाई ठूलै धक्का दिने निश्चित छ ।’
डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कालमा चिनियाँ सवारीसाधन आयातमा लाग्ने कर २५ प्रतिशतले बढाएको थियो । सबै कार आयातमा अमेरिकाले २.५ प्रतिशत अतिरिक्त लेबी उसैपनि उठाउने गरेको छ । यो समेत जोड्दा चिनियाँ कारको आपूर्ति कर २७.५ प्रतिशतले बढेको थियो ।
मार्च २०२४ मा ओहायोमा भएको र्यालीमा ट्रम्पले आफू राष्ट्रपतिमा पुन: निर्वाचित भएमा मेक्सिकोमा उत्पादन हुने चिनियाँ कारमा समेत कर बढाउने बताएका थिए । ‘मेक्सिकोमा कार उत्पादन केन्द्र राखेर अमेरिकामा कार पठाउने सोचमा रहेकाले म भन्नु चाहन्छु अमेरिकीहरुलाई उत्पादनमा समावेश नगर्ने अनि कार अमेरिकीलाई बेच्ने सोच सफल हुन दिनेछैन । चिनियाँ कार आयातमा सतप्रतिशत कर लगाउनेछु ।’
यता युरोपेली युनियनले भने चिनियाँ कार आयातमा १० प्रतिशत लेबी लिन्छ । त्यसैले चिनियाँ कारका निम्ति अमेरिकीभन्दा युरोपेली बजार किफायती र फाइदाजनक छ । यद्यपि गत साता युरोपेली आयोगको बैठकमा चिनियाँ कार उत्पादनमा भारी अनुदानका कारणले मूल्यमा कमी आउने भएकाले कर बढाउनेतर्फ आफूहरुले पनि सोच्नुपर्ने अवस्था आउनसक्ने विषय उठेको थियो ।
त्यस बैठकमा उपस्थित भएका चीनका वाणिज्य मन्त्री वाङ वेनतावले चिनियाँ अनुदानमाथि अनुचित आरोप लगेको बताए । ‘प्रतिस्पर्धात्मक बजारमा उछिन्नका लागि मात्रै चिनियाँ उत्पादनकर्ताहरु केन्द्रित छैनन् ।
उनीहरुले उच्चस्तरीय प्रविधि, सुरक्षा र विश्व आपूर्ति शृङ्खलालाई समेत मध्येनजर गर्दै उत्पादन गरेका छन् । चीन सरकारको अनुदानको लाभ उठाउँदै प्रतिस्पर्धात्मक बजारमा बाजी मार्ने ध्यान चिनियाँ उत्पादनकर्ताहरु छैन’ आरोपप्रति उनको बचाउ उधृत गर्दै अलजजिराले लेखेको छ।
पश्चिमा बजारमा चिनियाँ प्रविधिप्रति सुरक्षा चासो कस्तो छ ?
गत महिना मात्रै अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ कारमा जडित प्रविधि राष्ट्रिय सुरक्षाका लागि खतरनाक रहेको वा नहरेकोबारे जाँच गर्न आयोग गठनको तयारीमा रहेको बताएको थियो ।
फेब्रुअरीमा राष्ट्रपति जो बाइडेनले चिनियाँ सवारीसाधन उत्पादक कम्पनीले अमेरिकी अटो उद्योग र राष्ट्रिय सुरक्षामा पार्नसक्ने खतराबारे चनाखो हुनुपर्ने बताएका थिए ।
‘अमेरिकी बजारमा चिनियाँ सवारीसाधन पुर्याएर उसले हाम्रो अटो बजार राष्ट्रिय सुरक्षामा पुर्याउन सक्ने खतराबारे हामी चनाखो हुनैपर्छ’, उनको भनाइ उधृत गर्दै अलजजिराले लेखेको छ ।
बाइडेनले कारमा जडित प्रविधिबाट अमेरिकी नागरिकको तथा पूर्वाधारको संवेदनशील डेटा चीनको पहुँचमा हुनसक्ने कुरामा चनाखो हुनुपर्ने उल्लेख गरे । चीन स्वयंले अमेरिकी तथा अन्य वैदेशिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएकाले चिनियाँ सवारीसाधनप्रति नरम हुनुपर्ने कारण नरहेको बताएका छन् ।
कस्तो छ विद्युतीय सवारीसाधनको भविष्य ?
अमेरिकी विद्युतीय सवारीसाधन चिनियाँ भन्दा महंगो रहेकाले प्रतिस्पर्धाका लागि निकै कठिन भइरहेको छ । यस्तै, महंगो विद्युतीय सवारीको विकल्पमा उपभोक्तासँग पेट्रोलियम कारको विकल्प समेत रहेकाले विद्युतीय सवारीसाधनको बिक्रीमा चुनौती छ ।
अर्कोतर्फ चीनलाई ब्याट्री उत्पादनका लागि निकेल, लिथियम र कोबाल्टको पहुँच सरल भएकाले उसको लागत पनि कम छ । हाल विद्युतीय सवारीसाधनको लागतमा व्याट्रीको हिस्सामात्रै ३० प्रतिशत छ । यो मूल्य सन् २०३० देखि २०४० सम्म १५ देखि २० प्रतिशतले कमी ल्याउने लक्ष्य उत्पादककर्ताको छ ।
विद्युतीय सवारीसाधनको बजार अमेरिका युरोप र चीनमा मात्रै छैन । भारतमा पनि विस्तारै यसको बजार बढिरहेको छ । अटोमोवाइल डिलर एशोसिएसनका अनुसार अप्रिल २०२३ देखि मार्च २०२४ को बीचमा भारतमा विद्युतीय सवारीको बिक्री ९१ प्रतिशतले बढेको छ । भारतमा गत वर्षमात्रै १० लाख ५० हजार युनिट विद्युतीय कार बिक्री भएको थियो । अमेरिकामा यो संख्या १० लाख ८० हजार युनिट रहँदा चीनमा भने ८० लाख युनिट रहेको छ ।
भारतबाट उत्पादित विद्युतीय सवारीसाधन निर्यात समेत हुने गरेको छ । फियाट, क्राइस्लर र फ्रेन्च पिएसए समूह मिलेर बनेको स्टेलान्टिस कम्पनीले सिट्रोन ब्रान्ड मार्फत भारतबाट विद्युतीय सवारी उत्पादन गरिरहेका छन् । यस साता मात्रै भारतमा उत्पादित सिट्रोन इ सी थ्री मोडल इन्डोनेसियामा ५०० युनिट बिक्री गरिएको छ ।
ईभीको लोकप्रियता अझै बढ्ने अपेक्षा गरिएको छ । अनुसन्धानहरुका अनुसार वातावरणमैत्री भएका कारण ईभीमा उपभोक्ताहरुको आकर्षण बढिरहेको छ । यद्यपि पेट्रोलिय कार उत्पादनको तुलनामा विद्युतीय कार उत्पादन गर्दा वातावरणलाइ प्रतिकुल असर गर्ने ग्यास बढी उत्सर्जन हुन्छ ।
वातावरण संरक्षणसम्बन्धी अमेरिकी एजेन्सी इपीएको प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय कारमा प्रयोग हुने व्याट्री उत्पादनका लागि अतिरिक्त ऊर्जा खर्च हुने भएकाले पेट्रोलियम कार उत्पादनको तुलनामा विद्युतीय कार उत्पादन गर्दा बढी कार्बन उत्सर्जन हुन्छ । यद्यपि वातावरणीय हिसाबले उत्पादनपछि सञ्चालनका निम्ति विद्युतीय सवारी साधन नै फाइदाजनक छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4