१८ कात्तिक, काठमाडौं । तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो ।
रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो । भित्तामा विभिन्न भगवानहरुका तस्बिरहरु टाँगिएका थिए । ठूलो हलजस्तो ठाउँबाट लाइभ गरेका थिए । फरार भनिएका भुसाल एकाएक लाइभमा आएर मृगस्थली भनेपछि प्रहरी अधिकारीहरू चनाखो भए ।
लाइभमा देखिएको दृश्य मृगस्थलीमा भए/नभएको यकिन गर्न सुरु भयो । तर भुसालले मृगस्थी भने झुक्याएको खुल्यो ।
प्राविधिक अनुसन्धानबाट उनी काठमाडौं नभएर गोरखा पुगेको देखियो । भिडियोमा देखिएको दृश्य गोरखाको कुनै आश्रम वा ठाउँमा हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा खुल्यो उक्त ठाउँ गोरखा नगरपालिका–८ सरस्वती आश्रममा छ ।
सरस्वती आश्रमको सन्त निवास हलबाट भुसालले लाइभ गरेको खुल्यो । यो सबै पहिचान गरिसकेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गर्यो । र, भुसाललाई सरस्वती आश्रमको सन्त निवासबाट पक्राउ गरियो ।
प्रहरी पक्राउ गर्न पुग्दा उनी सन्त निवास हलमा सुतिरहेका थिए । घाँटीमा रुद्राक्षको माला, फूलको माला लगाएका उनले गालामा सिताराम लेखेको पिताम्बर भिरेका थिए । उनी हिजो साँझ मात्रै गोरखा पुगेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । विवादास्पद अभिव्यक्ति दिँदै दिउँसो २ बजे माइतीघरमा प्रदर्शनमा आउन आह्वान गरेर उनी भने वेपत्ता भएका थिए ।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिंदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए ।
भुसालले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत २३ भदौको जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए ।
जेनजी आन्दोलनका क्रममा २३ भदौमा एकैदिन सुरक्षाकर्मीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4