 
																			११ वैशाख, सुर्खेत । नेपाली भाषामा विद्यावारिधि गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन् । त्यसभित्र पनि उनले दलित साहित्यलाई आफ्नो अध्ययनको पहिलो केन्द्र बनाएका छन् ।
अध्ययनका क्रममा आफूले दलितहरुको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकल बताउँछन् ।
‘म अहिले दलित समुदायबाट आएका मान्छेहरुले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरुले लेखेका पुस्तकहरुको विषयमा बुझ्दै छु’, सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलमा माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरु स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन् ।’
फेस्टिभलमा भएको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता माइकलले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएको बताए । उनले अध्ययनका क्रममा कर्णाली निकै दुर्गम पाएको आफ्नो अनुभव पनि सुनाए ।
‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ’, माइकलले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरि बसेर काम गरेको मैंले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ ।’
राजधानीको वरिपरिमात्र सीमित बनेको नेपाली साहित्यलाई सबैतिर विस्तार गर्नुपर्ने आजको आवश्यकता रहेको माइकलले औंल्याए ।
उनी बुद्धिसागरले लेखेको कर्णाली ब्लुजको अंग्रेजीमा अनुवादक पनि हुन् । उनले लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कृति मुनामदन पनि अनुवाद गरेका छन् । ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिइनँ, पछिमात्र टेक्न पाएँ,’ उनले भने ।
माइकलले तत्कालीन माओवादी छापामारहरुले लेखेको पुस्तकहरुको संस्मरण पनि बनाएका छन् । त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4