+
+
वार्ता : डकेन्द्रसिंह थेगिम :

‘विकास गर्नलाई नै पहिचान मागेको हो’

कुनै पनि व्यक्ति, नागरिकको पहिचान अनिवार्य हुन्छ । उसलाई समृद्धि र विकासले मात्रै हुँदैन । संसारमा त्यस्तो छन्, जसको पहिचान छैन, समृद्धि छ, विकास छ । तर, त्यसको अर्थ रहँदैन । यो पहिचान भनेको हिजो पुर्खाको सभ्यताले आर्जेको एउटा सम्पत्ति हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते २०:४०

इलाम-२ को उपचुनावमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमसँग अनलाइनखबरका बसन्त बस्नेतसुदीप श्रेष्ठले गरेको अन्तर्वार्ता :

डकेन्द्रजी, तपाईं त शिक्षण पेशामा लागिरहेको मान्छे, अचानक राजनीतिमा र उम्मेदवार नै बनेर आउनुभयो नि ?

मेरो लामो समयसम्म शिक्षण पेशा हो । शिक्षण पेशा गर्दागर्दै स्रोतव्यक्तिका रूपमा पनि रहें । र, म २०७२ सालमा अनिवार्य अवकाश लिइसकेपछि धार्मिक संघ-संस्थामा काम गर्र्दै आएँ । अहिले आएर कस्तो हुँदोरहेछ त राजनीति त्यसमा पनि यसो अभ्यास गरौं, बुझौं भन्ने हिसाबमा, जनताको सेवा राजनीतिक क्षेत्रबाट पनि गरौं भन्ने हिसाबमा आएको हुँ ।

तपाईंको अहिले कुनै पार्टीगत निकटता छैन ?

छैन । चुनावमा मेरो चिह्न पनि मुढा परेको छ । यो मेरो सौभाग्य रहेछ । मुढा चिह्न प्राप्त गरिसकेपछि यसो इलाम बजारमा हेरेको हरेक दोकानहरूमा मुढा नै मुढा, एउटा पसलमा त यति धेरै मुढाको व्यापार रहेछ, चट्ट त्यहाँ फोटो खिचेर सञ्जालमा लगाएर मेरो इलाम बजारमा यति धेरै प्रचार भइराख्या छ ।

मुढा चिह्न प्राप्त गर्नेबित्तिकै एकदमै खुसी लाग्यो । हातले बुनेको मुढा, स्वतन्त्र उम्मेदवार भन्दै आफूलाई प्रचार गर्दै आएँ । र, पहिचानको कुरा उठाइराखें ।

र, यो पहिचानको कुरा जनस्तरसम्म, सर्वसाधारणसम्म अलिकति पु¥याउन नसकिएको, पहिचानको परिभाषा पुर्‍याउन नसकिएको म आफैं पनि स्वीकार गर्छु । बौद्धिक जगतमा पहिचान के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ ।

आममान्छेलाई पहिचान के हो ? यो कतै जातीय विषय हो कि ? अथवा के हो ? नश्लीय रूपमा पो विभाजन गर्ने हो कि ? भन्ने जुन खालको मनमा परेको छ; उहाँहरूलाई के भन्नुहुन्छ ? कसरी आश्वस्त गर्नुहुन्छ ?

पहिचान भनेको जातीय भन्दा पनि सभ्यताभित्र पर्छ । हरेक जातजातिको सभ्यता । जस्तै क्षेत्रीको आफ्नै सभ्यता छ, बाहुनको आफ्नै सभ्यता छ, आफ्नै संस्कार, संस्कृति छ । आफ्नै किसिमको भेषभुषा, चालचलन छ । लिम्बू, राईहरूको आफ्नै किसिमको संस्कार, संस्कृति छ । मगर, गुरुङ, धिमालहरूको आफ्नै होला ! थारू, राजवंशीहरूको आफ्नै होला !

नेपाल भनेको यस्तो एउटा सुन्दर मुलुक, विविधताभित्र एकताको सूत्रमा रहेको विविध जातजाति, वर्ण, वर्ग, धर्म, संस्कृति, संस्कार र इतिहास भएको मुुलुक हो । त्यो भएको हुनाले हरेकको वर्ण, वर्ग, धर्म, संस्कृति, संस्कार र इतिहास बच्नुपर्छ, बचाउनुपर्छ ।

र, हामीले पहिचानको कुरा उठाइरहँदा, एउटाको पहिचानको कुरा गर्दा, अर्काको पहिचानमा कुनै किसिमको असर गर्नुभन्दा त्यसलाई एकअर्काको बीचमा एकदमै राम्रो सहअस्तित्वको भावना ल्याउनुपर्छ । जस्तो हामीले लिम्बूको पालम, ख्याली, च्याब्रुङ हाम्रो एउटा पहिचान हो ।

क्षेत्री बाहुनको पनि बालन, संगिनीहरू बच्नुपर्छ । अहिले त बालन संगिनीहरू हराइराखेको छ नि ! म क्षेत्री–बाहुन समुदायका साथीहरूलाई भन्छु, यो बचाउनुपर्छ । तपाईंहरूको सभ्यता, संस्कृति, पुर्खाले सुरुआत गरेको हो भन्ने म मान्छु ।

अरू उम्मेदवार हाम्रो देश अरू जति समृद्ध हुन सकेन, त्यसैले सन् २०४० मा लक्ष्य तोकेरै अघि बढ्नुपर्छ, अहिल्यै दोहोरो अंकको आर्थिक वृद्धि हुनुपर्छ भन्दैछन् । तपाईंचाहिं पहिचान भनिराख्नुभएको छ, हाम्रो पुरानो प्राचीन सभ्यता यस्तो हो, हाम्रो परम्परामा यो कुरा थियो । पुर्खाले यस्तो भनेको थियो भनेर भनिराख्नुभएको छ नि ?

पहिचान भनेर पहिचानको मात्रै कुरा होइन, पहिचान सहितको संघीयता हो । हाम्रो त पहिचान र अधिकार सहितको संघीयता हो । सँगसँगै दिगो शान्ति, विकास र समृद्धि पनि नारा छ । त्यसो हुनाले यहाँ पहिचान मात्रै भएर पनि हुँदैन ।

तपाईंले विकास र समृद्धि छोड्नुभएको छैन ?

छोडेको छैन । पहिचान पनि हुनुपर्‍यो । पहिचान मान्छेले प्राप्त गरिसकेपछि एकअर्कामा सहअस्तित्वको भावना हुन्छ । त्यसो हुँदा दिगो शान्ति हुन्छ ।

शान्ति विना विकास र समृद्धि सम्भव छैन । यसो हुनाले पहिचान, दिगो शान्ति, विकास र समृद्धि भनेको एकै सिक्काका दुई पाटा हुन् भन्ने मलाई लाग्छ । यिनीहरू सँगसँगै गएनन् भने अर्थ हुँदैन ।

मान्छे, कुनै पनि व्यक्ति, नागरिकको पहिचान अनिवार्य हुन्छ । उसलाई समृद्धि र विकासले मात्रै हुँदैन । संसारमा त्यस्तो छन्, जसको पहिचान छैन, समृद्धि छ, विकास छ । तर, त्यसको अर्थ रहँदैन । यो पहिचान भनेको हिजो पुर्खाको सभ्यताले आर्जेको एउटा सम्पत्ति हो ।

प्रदेश नामांकन अघि राई र लिम्बूकै कुरो मिलेन । अहिले चुनावमा चाहिं मिलेको हो ?

फागुन १७ गते एकल पहिचानको आधारमा कोशी नामकरण भयो । त्यसपछि हामीलाई त्यसले झस्कायो । कोशीले सबै प्रदेश नं. १ मा बसोबास गर्ने नागरिकहरूको पहिचानलाई त्यसले समेट्न सकेन । त्यसो हुनाले पहिचानवादीहरू एक हुनुपर्ने बाध्यता पनि भयो । केही थियो, केही तल–माथि राई–लिम्बूमा हुन सक्छ । तर, पहिचान हुनुपर्छ भन्ने कुरामा त एकमत नै हो ।

पहिचानको नाराले शंका पनि जन्मायो । कसरी एक अर्को समुदायलाई आश्वस्त पार्ने ?

हामीले अलिकति यसलाई प्रचुर मात्रामा शिक्षा दिन सकेनौं, त्यो कुरा म स्वीकार्छु । पहिचान के हो ? किन पहिचानको कुरा उठेको छ ? उठाउनुपर्छ, भन्ने विषयचाहिं अलिकति समय-समयमा प्रशिक्षण कार्यक्रम, जनचेतनामूलक कार्यक्रम गरिराख्नुपर्छ । यो कार्यक्रम गर्‍यौं भने पक्कै पनि एकअर्कामा सद्भाव, बन्धुत्व, सहकार्य हुन सक्छ ।

तपाईंले पार्टीचाहिं खोलूँ, पार्टीबाट यो कुरालाई शक्तिशाली बनाएर लैजाऊँ भन्ने ठान्नुभएन ?

अहिले पार्टी नै खोल्नुपर्छ भन्नेचाहिं सोचिहालेको छैन । तर, यो पोलिटिकल्ली मुद्दाको रूपमा उठिसकेको हुँदा कुनै पनि दिन पार्टीमा रूपान्तरण हुन सक्छ ।

यहाँ त पहिलेदेखि जितिराखेको नेकपा एमाले छ, त्यस्तै बलियो कांग्रेस छ । अहिले आएका अरू नयाँ पार्टी पनि छन् । त्यस्तो पार्टीका संगठन छन्, कार्यकर्ता छन् नि ? को हो तपाईंको चुनौती ?

मुख्य चुनौतीको रूपमा खासगरी अहिले चुनावी अभियान गर्दै जाने क्रममा दुईवटा पार्टीहरूचाहिं बराबर हामी छौं जस्तो मलाई लाग्छ । प्रतिस्पर्धाको रूपमा आएको हामी देख्छौं, कुनै ठाउँमा नयाँ पार्टी रास्वपालाई पनि लिन सकिन्छ जस्तो छ ।

मूल रूपमा अहिले हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धीको रूपमा देखिन्छ । तर, अहिले त्यसमा पनि सकेसम्म यसलाई परीक्षण गर्दा उहाँहरूभन्दा हामी केही अघि छौं कि भन्ने हामीलाई लागेको छ ।

तपाईंहरूको मत बढी छ कि भन्ने ठान्नुभएको छ । भनेपछि कांग्रेस, एमालेलाई तपाईं उस्तैउस्तै राख्नुभा?

मेरो नारा नै के हो भन्दाखेरि स्वतन्त्र साझा उम्मेदवार । म स्वतन्त्र पनि हुँ । सुरुमा हामी ४१ भोट थियौं, पहिचानको आन्दोलन गरिरहँदा । पछि त्यसमा अरू पार्टीहरू पनि थपिनुभयो। स्वतन्त्र बौद्धिक व्यक्तित्वहरू, स्वतन्त्र नागरिकहरू जस्तो स्वागत नेपाल, पुण्य गौतमजीहरू लगायत प्राध्यापक, डाक्टर, सुरेन्द्र केसीज्यूहरू पनि अहिले हाम्रो पक्षमा समर्थन गरिराख्नुभएको छ ।

त्यसै गरेर नेसपाका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले पनि विज्ञप्ति निकालेर साझा उम्मेदवार डकेन्द्र सिंहलाई जिताउनुपर्छ, अब पुराना पार्टी जसले लामो समयदेखि नेपालमा सत्तारोहण गरेका छन्, तिनीहरूबाट अब विकास, समृद्धि र शान्तिको सम्भव छैन भनेर उहाँले औपचारिक रूपमा बताइसक्नुभा’छ ।

र, अर्को कुरा, स्वतन्त्र प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू हर्क साम्पाङजी, गोपी हमालजीहरूको पनि मप्रति समर्थन छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मप्रति सहानुभूति राख्नुहुन्छ ।

इलाम२ मा लारुम्बा र गुरु आत्मानन्दको झुकावले पनि काम गर्छ भनिन्छ । तपाईं त त्यहीं काम गरिआएको व्यक्ति । उम्मेदवार भएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?

गुरु त सबैको साझा हो । गुरु भनेको कुनै एउटा पार्टी, कुनै एउटा जातिको हुनुहुँदैन । उहाँ त विश्व मानव जातिकै लागि, विश्व शान्ति र मानव कल्याण नै गुरुको एउटा नारा छ । यसले गर्दा सबै पार्टीका मान्छेहरू आउनुहुन्छ । अहिलेसम्म नेपालका प्रधानमन्त्री, राष्ट्रपति जो–जो हुनुभा’छ सबै त्यहाँ पुग्नुभा’छ ।

चुनावी अभियानमा सबै त्यहाँ पुग्नुहुन्छ, यो स्वाभाविक कुरा हो । त्यसलाई हामीले अन्यथा ठान्नुहुँदैन । गुरु कृपा त कस्तो, कसरी हुन्छ भन्ने गुरुकै विचारको कुरा हो । र, अलिकति त्यहाँका जनताको कुरा पनि हुन्छ ।

अहिलेचाहिं स्वयं त्यो ठाउँदेखि, आफैं त्यो भूगोलको मान्छे, गुरुको छत्रछायाँमा २० वर्षसम्म गुरुको संस्थामा काम गरिरहेको र अहिले संस्थालाई अलिकति पर्तिर सारेर स्वतन्त्र उम्मेदवारको हैसियतमा पक्कै पनि त्यहाँको जनता र गुरुले मप्रति सहानुभूति राख्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईंको अरू प्रतिबद्धताहरू केके छन् ?

मेरो प्रतिबद्धताचाहिं अहिले खास गरेर मुलुकमा दिगो शान्ति हुनुपर्छ । यो संघीयता पहिचानको आधारमा, जसरी अभ्यास भएको छ, त्यसरी लागू हुनुपर्छ र सबै नागरिकहरूले त्यो प्रदेशमा बस्ने, त्यो भूगोलमा बस्नेहरूले अपनत्व ग्रहण गर्न सक्नुपर्छ ।

विशेष गरेर मुलुकमा व्याप्त भ्रष्टाचार जुन छ, अनियमितता छ, घुसखोरी छ यस्ता कुरालाई हामीले निर्मूल ग¥यौं भने पनि मुलुकमा समृद्धि आउन सक्छ ।

युवाहरू अहिले दैनिक ७०० देखि ८०० सम्म विदेशमा पठाउँछौं । यो अत्यन्तै खराब हो । जबकि युवा नै देश निर्माणका अचूक शक्ति हुन् । युवा जसले राष्ट्र निर्माण गर्छन्, मुलुक बनाउँछन्, त्यस्तालाई पठाउने ? अनि वृद्धभत्ता खाएर बस्नेहरूले देश निर्माण गर्न त सक्दैनन् । त्यसले गर्दा युवा रोजगार, स्वरोजगारका लागि अवधारणाहरू आउनुपर्छ ।

मुलुकमा उद्योगधन्दाहरूको विकास गर्नुपर्छ भन्ने कुराहरू मैले राखेको छु । यी कुरा संघीय प्रतिनिधि सभामा उठाउँछु ।

र, यो इलामेली जनताका लागि विशेष गरेर मलाई निर्वाचित गरेर पठाइयो भने एउटा एक्सपर्टिज्को टोली बनाउँछु । इलाममा के-के समस्या छ, के गर्दा इलामेली जनताहरूको सुख-दुःखसँग अघि बढ्न सकिन्छ भन्ने सम्भाव्यताको पहिचान गर्ने र त्यसलाई नीति कार्यक्रम मार्फत अगाडि बढ्ने ।

अर्को कुरा, इलामको चिया । इलामको ५ अ, इलामको उत्पादित कृषिजन्य उत्पादनहरू जुन छ तिनीहरूलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म सबैको पहुँच पु¥याउने गरी काम गर्नुपर्छ ।

कृषिबाट उत्पादित वस्तुहरू बिचौलियाका हातमा नपर्ने गरी सोझै कृषकले नाफा खान सक्ने गरी, उनीहरूले मूल्य पाउन सक्ने गरी नीति ल्याउनुपर्छ । यहाँ त के छ भने, कृषकले अलैंची उत्पादन गर्छ, त्यो उत्पादन गर्ने कृषकभन्दा पनि बिचौलियाले बढी नाफा कमाइराखेको हुन्छ ।

त्यस्तो बेला सरकारले ग्यारेन्टी गर्न सक्नुपर्छ । कृषकले उत्पादन गरेको वस्तु बिक्री भएन भने सरकारले हेर्नुपर्छ । त्यसले मात्रै उत्पादन पनि वृद्धि र कृषकमा पनि समृद्धि आउँछ ।

जितिन्छ ? ढुक्कै हुनुहुन्छ ?

म त एकदमै ढुक्क छु । हन्ड्रेड पर्सेन्ट मैले जितिसकें भन्ने लागेको छ ।

तस्वीर र भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?