News Summary
Generated by OK AI. Editorially reviewed.- महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा एफडब्लुएलडीका निर्देशक सविन श्रेष्ठले प्रसूति हिंसाविरुद्ध कानुनको अभाव रहेको बताए।
८ वैशाख, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् ।
११६औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘मबाट महिलावाद’ कार्यक्रममा सम्मानजनक मातृत्व सेवा तथा प्रसूति हिंसाबाट संरक्षण विषयमा मन्तव्य राख्दै सभापति राईले यस्तो बताएकी हुन् । ‘निजीको तुलनामा सरकारी अस्पतालमा प्रसूति सेवा लिँदा हिंसा हुने गरेको पाइएको छ’ उनले भनिन्, ‘सुन्दै अनौठो लाग्ने यस्ता विषयमा गृह र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग छलफल गर्नेछु ।’
हिंसाविरुद्ध कानुन निर्माण र लैंगिक समानताको लडाइँमा एफडब्लुएलडीले नेपाली समाजमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।

सम्मानजनक प्रसूति सेवाको वर्तमान अवस्था र कार्यक्रमको उद्देश्यबारे एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले प्रकाश पारेका थिए । प्रसूति सेवा लिँदा हिंसा भयो भने सजायका लागि कानुनको अभाव रहेको उनले बताए । संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी (सिड) कमिटीको सातौं आवधिक प्रतिवेदनमा समेत कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले नेपालमा प्रसूति हिंसाका घटनाहरूका ‘केस स्टडी’ प्रस्तुत गर्दै पीडितहरूको वास्तविक अनुभवमार्फत कार्यक्रमको उद्देश्य प्रष्ट पारेका थिए ।
त्यसैगरी, एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले सुरक्षित मातृत्व सेवा र प्रसूति हिंसासम्बन्धी अहिलेको वास्तविक अवस्थाको बारेमा प्रकाश पारेका थिए ।
प्रसूति सेवा लिँदा के कस्ता हिंसा हुनसक्छ भनेर भिडियो सन्देश र नाटक प्रस्तुत गरिएको थियो । बज्रपानीद्वारा प्रस्तुत नाटक ग्रामीण परिवेशमा प्रसूतिका बेलामा महिलाहरूले सामना गर्नुपर्ने हिंसालाई सशक्त रुपमा प्रस्तुत गरिएको थियो ।
रविन तामाङको निर्देशनमा प्रस्तुत उक्त नाटकमा रांहनी लामा, हेमन्त मगर, रमिला मोक्तान, अस्मिता मगर, केशव सिंह र शुक्रराज मगरको अभिनय रहेको थियो ।
कार्यक्रममा एफडब्लुएलडीले एसआरएचआर युथ फेलोज प्रदान गरेका विद्यार्थीलाई सम्मानसमेत गरेको थियो । दिक्षिका गजमेर, श्रृष्टि सिंह, प्राथा धमला, ज्योति रायमाझी, राजेश भुजु, निराजन बोहोरा, प्रकाश शाही, सुनिता श्रेष्ठ र शर्मिला गोली सम्मानित भएका थिए ।
कार्यक्रममा कानुनका प्राध्यापक, कानुन तथा नर्सिङका विद्यार्थी, एसआरएचआर युथ फेलोज, सञ्चारकर्मी, अधिकारकर्मी, विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधि तथा प्रजनन स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4