+
+

लुम्बिनीमा आयोजना हुने शिखर सम्मेलनप्रति एमालेको आपत्ति

‘चीनसँगको सम्बन्धलाई खल्बल्याउन खोजियो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १७:५८
एमाले सांसद रामजीप्रसाद घिमिरे ।

२० फागुन, बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले लुम्बिनीमा २८ र २९ फागुनमा हुने शिखर सम्मेलनबारे गम्भीर प्रश्न उठाएका छन् ।

आइतबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद रामजीप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा शिखर सम्मेलन गर्न लागेकामा आपत्ति जनाए ।

‘विवादास्पद आईएनजीओको नाममा बजेट छुट्याउने र कार्यक्रम राख्ने कुरा गम्भीर छ, यसमा बजेट बनाउने बेला गठबन्धनका अन्य दलले समेत कुरा राख्न पाएनन्’, उनले भने, ‘मुख्यमन्त्री कतै लेण्डुप दोर्जे त बन्न खोजेका छैनन् ?’

उनले यो सम्मेलनबारे सबैतिरबाट टिप्पणी उठेको र गम्भीर प्रश्नहरु खडा भएको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘सुरुमा यसलाई पर्यटन प्रवर्द्धन भनियो, अहिले बालबालिका र शान्तिको नाम जोडिएको छ, सुरुमा मार्च १० देखि १२ भनियो, तर अहिले मार्च ११ र १२ भनिएको छ’, उनले भने, ‘दलाई लामा समेत संलग्न भएको लोरियट्स एण्ड लिडर्सलाई यहाँ सहभागी गराउने प्रयासले चीनसँगको सम्बन्धलाई समेत खल्बल्याउन खोजिएको छ ।’

उनले सदनलाई गुमराहमा पारेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विदेश भ्रमण गरेको र बुद्धको जन्मभूमिमा यो सम्मेलन गर्न लागिएको भन्दै यसबारे गम्भीर बहस आवश्यक रहेको बताए । उनले यसले मुलुकको असंलग्न परराष्ट्र नीतिमै चुनौती आएको टिप्पणी गरे ।

घिमिरेले मुख्यमन्त्री चौधरी निकम्मा, अक्षम र अयोग्य भएको आरोप लगाउंदै विकल्प खोज्नुपर्ने बताए । ‘जति निकम्मा,अक्षम र अयोग्य भएपनि बोक्नैपर्ने बाध्यता के हो ?’, गठबन्धन दलहरुलाई प्रश्न गर्दै सांसद घिमिरेले भने, ‘मुख्यमन्त्रीले प्रत्येक दिन ढाँट, छल र बेइमानी गरिरहेका छन्, सदन र प्रतिपक्षीलाई ढाँट्नु भनेको जनतालाई ढाँट्नु हो ।’

घिमिरेले प्रतिपक्षीको शालीनतालाई कमजोरी नठान्न पनि सरकारलाई चेतावनी दिए । संसदले पारित गरेका योजना मुख्यमन्त्रीले रोकेको भन्दै घिमिरेले यसतर्फ गम्भीर ध्यानाकर्षण गराए ।

प्रदेशसभा छलेर मुख्यमन्त्रीले अनेक बहानामा भाग्ने गरेको बताए । ‘सरकार सदनसित डराएर र तर्सिएर कति दिन चल्छ, सरकारमा बस्नेहरुले सदनमा उठेका आवाज सुन्न सक्नुपर्छ, तर मुख्यमन्त्रीमा यो समस्या देखियो’, उनले भने ।

घिमिरेले प्रदेशसभालाई सरकारले बिजनेसबिहीन बनाएको पनि बताए । यो सदनले सरकारका ८ महिनाको काम कारवाहीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने पनि घिमिरेले बताए ।

फागुन २८ र २९ गते हुने शिखर सम्मेलनबारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठकमा प्रश्न उठाए पनि मुख्यमन्त्री चौधरी आइतबारको वैठकमा उपस्थित भएनन् ।

प्रदेशसभाको अर्को बैठक चैत्र ४ गते बोलाइएको छ । प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शिखर सम्मेलनबारे उठेका प्रश्नहरु छल्न सत्ता पक्षले प्रदेश सभा बैठकलाई निरन्तरता दिन नसकेका टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?