+
+

सत्ता गठबन्धनको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ७:१५
फाइल तस्वीर

२१ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको सत्ता गठबन्धन स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुसँग गरेको छलफललाई मन्त्रिपरिषद हेरफेरको पूर्वसंकेतको रुपमा हेरिएको छ ।

गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेका छन् ।

यसैगरी सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । कानुन समितिमा छलफलमा रहेको यो विधेयकका अधिकांश विषयमा दलहरुबीच सहमति जुटिसकेको छ । विवादित केही विषयमा सहमति जुटाउने प्रयास जारी छ ।

विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच सहमति जुटाउनका लागि केही समय मागेपछि बैठक स्थगित गरिएको थियो

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए ।

विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न कानुन समितिको बैठक सोमबार बिहान पुनः बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?