+
+

मधेशका मुख्यमन्त्री यादव कति सुरक्षित ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १८:५९

२२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेपछि मधेशमा पनि सरकारको ढाँचामा फेरबदल हुने देखिएको छ ।

मधेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जनता समाजवादी पनि नयाँ गठबन्धनमा सामेल छ ।

पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेला मुख्यमन्त्री बनेका यादव केन्द्रमा सत्ता समीकरण फेरिएर नेपाली कांग्रेससहितको गठबन्धन बन्दा पनि मुख्यमन्त्रीमा निरन्तर रहे । नयाँ गठबन्धन बन्दा मधेशको मुख्यमन्त्री पद जसपाकै भागमा पर्ने वा नयाँ दलले लिने भन्नेबारे सत्ता गठबन्धनभित्र छलफल टुंगिसकेको छैन ।

जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी गर्छन् । यद्यपि नेताहरु केन्द्रमा सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले के निर्णय गर्छ भनेर प्रतीक्षामा छन् ।

माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलका नेता भरत साह भने मधेशमा पनि सरकारको नेतृत्वमा आलोपालो हुन सक्ने बताउँछन् । ‘केन्द्रमा आलोपालो नेतृत्वको निर्णय हुन्छ । अब कसले पहिले नेतृत्व गर्ने वा यथावत रहने विषय केन्द्रले नै टुंगो लगाउँछ । हामी केन्द्रको निर्णयको पर्खाइमा छौं’, उनले भने ।

मधेशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सांसद संख्या सरकार गठनका लागि पर्याप्त छैन । १०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, जसपा र माओवादी केन्द्रको ५१ सांसद मात्र पुग्छ ।

बहुमतको सरकारको लागि तीन सांसद अझै आवश्यक पर्छ । त्यसका लागि जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ ।

जनमत पार्टीले गठबन्धनमा सामेल हुन मधेशको मुख्यमन्त्री पद पाउनुपर्ने सर्त राखेको छ । जसपा पनि यही गठबन्धनमा रहेकाले जनमतको सर्त पूरा हुने सम्भावना नरहेको नेताहरु बताउँछन् ।

किनभने संघीय संसदमा जसपाका १२ र जनमतका ६ सांसद छन् । प्रचण्डले जसपालाई बाइपास गरी जनमतलाई मधेशको नेतृत्व दिन सक्ने सम्भावना कम रहेको जसपाका नेताहरु बताउँछन् ।

मधेशमा अहिलेकै मुख्यमन्त्री निरन्तर रहने र सरकारबाट कांग्रेस बाहिरिने र एमाले सहभागी हुने सम्भावना रहेको जसपा नेताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?