+
+

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १७:५६

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको अनलाइनखबरसँग बताए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ ।

७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् ।

२०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यता लिएका उनी २०२८ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएका थिए । २०३४ मा तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दा जेल परेका थिए ।

२०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए ।

राष्ट्रिय सभाको अध्यक्षको उम्मेवार भएपछि उनले पार्टीले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिए ।

‘फोन गरेर पार्टीले तपाईं अध्यक्षको उम्मेदवार हुनुहुन्छ भनेको छ । जित हार परिणामले देखाउँछ । पार्टीले मलाई विश्वास गर्‍यो, नेतृत्वलाई म धन्यवाद दिन चाहन्छु’, शर्माले अनलाइनखबरसँग भने ।

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए संवैधानिक जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?