+
+

ठूला लगानीकर्ताले बढाए सेयर धितो कर्जा, ७ महिनामै ११.६ प्रतिशत बढ्यो

सेयर धितोमा २५ लाख मुनिको कर्जा प्रवाह ७ महिनामा जम्मा १.५ प्रतिशत बढ्दा १ करोडमाथिको कर्जा प्रवाह भने करिब १७ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १०:२७

२८ फागुन, काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ ।

जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ ।

सेयर धितो कर्जा लिनेमा ठूला लगानीकर्ता बढी आक्रामक रहेको तथ्यांकले देखाउँछ । औसतभन्दा १ करोड माथिको कर्जा वृद्धिदर उच्च छ । ७ महिनामा औसत सेयर धितो कर्जा ११.६ प्रतिशतले बढ्दा १ करोड माथिको सेयर धितो कर्जा प्रवाह १६.९ प्रतिशतले बढेको छ । जुन तथ्यांकले ठूला लगानीकर्ताले सेयर धितो कर्जा उच्च दरमा बढाएको देखिन्छ ।

माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा कुल ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म १ करोडमाथिको कर्जा प्रवाह ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ । यो सीमाको कर्जा ७ महिनामा १.२ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह ७ महिनामा ८.३ प्रतिशतले बढेर १३ अर्ब ८४ करोड ७८ लाख पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा १.५ प्रतिशत मात्रै बढेको छ । यस्तो कर्जा माघ मसान्तसम्म कुल ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ प्रवाह भएको छ ।

हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले सेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?