+
+

रञ्जिताले स्थगित गरिन् नाउपाको बैठक

स्रोतका अनुसार सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण रञ्जिता श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठक स्थगित गरेकी हुन् ।

जनक विष्ट जनक विष्ट
२०८० फागुन २८ गते १४:१७

२८ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्, तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएकी थिइन् । उनले सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही हुने चेतावनी दिएकी थिइन् ।

स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि बैठक स्थगित गर्नुको कारण अर्को छ । सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेकी हुन् । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् ।

नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहलाई भने राहत भएको छ । उनले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने प्रयासलाई निरन्तरता दिएका छन् ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा टुप्लुक्क बहुमत (२७) पुग्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन कायमै रहँदा स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी सरकारमा जान तयार छन्, तर राप्रपाले निर्णय गरिसकेको छैन ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?