+
+

कच्चा पदार्थ आयात हिस्सा खुम्चिँदै, तयारी वस्तुको बढ्दै

विजय पराजुली विजय पराजुली
२०८० फागुन २८ गते १८:४४

२८ फागुन, काठमाडौं । पछिल्लो समय कच्चा पदार्थका रुपमा वा पूँजीगत वस्तुका रुपमा प्रयोग हुने वस्तुहरूको आयात हिस्सा खुम्चिँदै गएको देखिएको छ ।

कुल आयातमा अन्तिम उपभोग्य वस्तुको आयात बढ्दै गएको तथ्यांकले देखाएको छ । देशभित्रै उत्पादन बढाउने वा मूल्य अभिवृद्धि (भ्यालु एड) हुनसक्ने मध्यवर्ती वस्तुको आयातमा हिस्सा घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यता पूँजीगत वस्तुको हिस्सा गत वर्ष संकुचित देखिएकोमा चालु आर्थिक वर्ष (आव) मा क्रमशः सुधार देखिँदै गएको छ । परिमाणमा केही सुधार भएपनि मूल्यमा गत वर्षको तुलनामा डिजेल, पट्रोल र खाना पकाउने एलपी ग्याँसको आयातमा कमी हुँदा समेत कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा बढ्दै गएको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले देखाउँछ ।

चालु आवको सात महिना (माघसम्म) आयात भएको वस्तुहरूमा मध्यवर्ती वस्तुको हिस्सा सबैभन्दा धेरै ४९.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सोही अवधिमा  कुल आयातमा यस्तो वस्तुको  हिस्सा ५३.१ प्रतिशत र गत असारमा ५३.२ प्रतिशत रहेको थियो । आव २०७८/७९ मा कुल आयातमा मध्यवर्ती वस्तुको हिस्सा ५२ प्रतिशत थियो भने आव २०७७/७८ मा ५३.४ प्रतिशत र आव २०७६/७७ मा ४९.८ प्रतिशत थियो ।

पछिल्लो पाँच वर्षको तथ्यांकलाई तुलना गर्दा कुल आयातमा चालु आवमा कुल आयात मध्यवर्ती वस्तु आयात हिस्सा सबैभन्दा कम देखिन्छ भने अन्तिम उपभोग्य वस्तु आयात हिस्सा सबैभन्दा बढी देखिन्छ ।

यस्तै माघसम्म कुल आयातमा पूँजीगत वस्तु हिस्सा गत वर्षको तुलनामा केही सुधार भएर ८.९ प्रतिशत पुगेको छ । गत वर्षसम्म कुल आयातमा पूँजीगत वस्तु आयात लगातार खस्किएकोमा चालु आवमा भने नगन्य सुधार देखिएको छ । तर पनि अर्थतन्त्रका लागि आवश्यक पूँजीगत वस्तु आयात कुल आयातमा न्यून मात्रै रहेको राष्ट्र बैंकले वर्गीकरण गरेको तथ्यांकले देखाउँछ ।

आव २०७६/७७ मा कुल आयातमा पूँजीगत वस्तु हिस्सा १३.३ प्रतिशत थियो । २०७७/७८ मा उक्त हिस्सा घटेर ८.४ प्रतिशत र आव २०७८/७९ मा १०.१ प्रतिशतमा झरेको थियो । गत आवमा अझै घटेर ८.४ प्रतिशतमा झरेकोमा चालु आवको ९ महिनामा सामान्य सुधार देखिएको हो ।

मध्यवर्ती वस्तु आयात हिस्सा घट्दै जानु भनेको मुलुकभित्रको उत्पादनमूलक क्षेत्रको अवस्था शिथिल छ भन्ने स्पष्ट हुनु भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । अहिले समग्र अर्थतन्त्र अवस्थाको प्रतिबिम्ब आयातित वस्तुको प्रकृतिमा पनि देखिएको हुनसक्ने उनले बताए ।

यता अन्तिम उपभोग्य वस्तुको आयात हिस्सा चालु आवको माघसम्ममा ४१.८९ प्रतिशत छ । गत असार मसान्तमा यो ३८.३ प्रतिशत थियो । आव २०७६/७७ मा ३६.९ प्रतिशत हिस्सा मात्रै उपभोग्य वस्तु रहेको थियो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेल अन्तिम उपभोग्य वस्तु आयात बढेर पूँजीगत र मध्यवर्ती वस्तु आयातको घट्दो ट्रेन्ड देखिनु अर्थतन्त्रका लागि सकारात्मक नरहेको बताउँछन् ।

राष्ट्र बैंकले आयात हुने वस्तुहरु कस्तो प्रकृतिको छ भनेर हेर्न युएनको ‘ब्रोड इकोनोमिक क्याटगोरी’ वर्गीकरण गरेर विश्लेषण गर्दै आएको छ । चालु आवमा कृषिजन्य उत्पादन आयातमा संकुचन आएको राष्ट्र बैंकले उल्लेख गरेका छ । ७ महिना अवधिमा गत वर्षको सोही अवधिको तुलनामा कृषिजन्य वस्तु आयात १३.७ प्रतिशतले संकुचन भएको हो । कृषिजन्य वस्तुमा पनि अन्तिम उपभोग्य वस्तु आयात बढ्दा पूँजीगत वस्तु र मध्यवर्ती वस्तु आयात भने घटेको छ ।

यस्तै खानीजन्य वस्तु, अन्य उत्खनन्हरु, इन्धन, केमिकल, विद्युतीय वस्तुलगायत आयात पनि घटेको छ । तर, यसमा पूँजीगत वस्तु आयात बढेको छ भने अन्तिम उपभोग्य वस्तु आयात करिब ६ प्रतिशत र मध्यवर्ती वस्तु आयात ४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै निर्माण सम्बन्धी वस्तु, काठ, सिसा, ढुंगा, अन्य धातु, विद्युतीय उपकरण, फर्निचरको समग्र आयात १.२ प्रतिशतले बढेको छ । यसमा पनि मध्यवर्ती वस्तु आयात ४.६ प्रतिशतले घटेको छ । तर, पूँजीगत वस्तु आयात १६.९ प्रतिशतले वृद्धि हुँदा अन्तिम उपभोग्य वस्तुको आयात १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले  जनाएको छ ।

टेक्सटाइल, कपडा, जुक्ता, गहना र अन्य छालाका वस्तुहरू आयात समग्रमा ४.३ प्रतिशतले घटेको छ । जसमा अन्तिम उपभोग्य वस्तु आयात करिब ३९ प्रतिशले वृद्धि हुँदा मध्यवर्ती वस्तुको हिस्सा १८.२ प्रतिशत र पूँजीगत वस्तु आयात करिब ३७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको थियो ।

यातायात उपकरण तथा त्यसको पार्टहरु लगायतका वस्तु आयात भने करिब १६ प्रतिशतले बढेको छ । यसमा अन्तिम उपभोग्य वस्तु आयात ६८.१ प्रतिशतले वृद्धि हुँदा पूँजीगत वस्तु ४७ प्रतिशत र मध्यवर्ती वस्तु ३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

आईसीटी, मिडिया, कम्प्युटर, व्यापार र अन्य वित्तीय सेवाको आयात समग्रमा ५.८ प्रतिशतले घटेको छ । जसमा मध्यवर्ती वस्तु आयात सबैभन्दा धेरै १५.२ प्रतिशतले घट्दा पूँजीगत वस्तु ७.३ प्रतिशत र अन्तिम उपभोग्य वस्तु आयात भने ०.४ प्रतिशतले मात्रै घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

स्वास्थ्य, औषधि, शिक्षा, संस्कृत र खेलकुदतर्फको आयात ८.९ प्रतिशतले बढेको छ । यसमा अन्तिम उपभोग्य वस्तुको आयात २५.७ प्रतिशतले घट्दा पूँजीगत वस्तु आयात १४.९ प्रतिशत र  मध्यवर्ती वस्तु आयात ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारी सेना र अन्य वस्तुको आयात ५२.६ प्रतिशतले घटेको जनाएको छ । यसमा मध्यवर्ती वस्तु आयात २४.५ प्रतिशतले बढेको र पूँजीगत वस्तु आयात ९४ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सबै वर्गीकरणमा अन्तिम उपभोग्य वस्तु आयातमा वृद्धि हुँदा मध्यवर्ती वस्तु आयात भने घटेको छ । जसले गर्दा अन्तिम उपभोग्य वस्तु आयात बढ्दा मध्यवर्तीका हिस्सा घटेको देखिन्छ ।

आयातमा आधारित अर्थतन्त्र भए पनि पूँजीगत वस्तु वा मध्यवर्ती वस्तु आयात हुँदा त्यसले अर्थतन्त्रमा योगदान दिने तर अन्तिम उपभोग्य वस्तु आयातले खपत मात्रै बढाउने राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लिराम पोख्रेल बताउँछन् ।

आयातमा अन्तिम उपभोग्य वस्तु हिस्सा बढी हुनु नराम्रो भए पनि निर्यातमा भने अन्तिम उपभोग्य वस्तु निर्यात गर्नसक्नु अर्थतन्त्रका लागि राम्रो हुने पोख्रेल बताउँछन् ।

मध्यवर्ती वस्तु आयातले केही नै केही ‘भ्यालु एड’ गर्न सक्ने भएकोले मध्यवर्ती वस्तु आयात पनि राम्रै मानिने उनले बताए । पूँजीगत वस्तु आयात जति धेरै हुन्छ अर्थतन्त्रका लागि त्यति राम्रो मानिने उनले बताए ।

‘अहिले विकास निर्माणको कार्य सुस्त देखिन्छ । जुन आयातको प्रकृतिले समेत देखाउँछ,’ पोख्रेल भन्छन्, ‘जति आयात भएको छ उपभोग्य वस्तुको नै आयात बढी भएको छ । अहिले आयात घटेको छ । आयात बढेको भए निमार्ण क्षेत्रको माग बढ्न सक्थ्यो ।’

अहिले निजी क्षेत्र र सरकारी निमार्ण समेत सुस्त रहेकोले पनि मध्यवर्ती र पूँजीगत वस्तु आयात न्यून रहको उनले बताए । सरकारको पूँजीगत खर्च पनि न्यून भएकोले निर्माण क्षेत्रमा माग नहुँदा पनि मध्यवर्ती वस्तु आयात हिस्सा घटेको हुनसक्ने पोख्रेल बताउँछन् ।

यसले अर्थतन्त्रमा समस्या नै छ भन्ने देखाएको उनी बताउँछन् । ‘अहिले आयात घट्यो भनेर खुसी भइरहेका छौं । अन्तिम उपभोग्य वस्तु आयात घटेको छैन,’ उनले भने, ‘अहिले आयात बढ्दा पनि समस्या हुने थिएन । मध्यवर्ती र पूँजीगत वस्तु आयात बढेको भए त्यसले अर्थतन्त्रलाई राम्रो हुने थियो ।’

पाम तेल, सोयाविन तेल लगायतको आयात बढेको भए पनि त्यसले केही मूल्य बढेर निर्यात हुने र अर्थतन्त्रमा सकारात्मक नै प्रभाव पर्ने उनले बताए । पाम तेल, सोयाविन आयात भएर प्रशोधन गरी निर्यात हुने भएकोले त्यसलाई मध्यवर्ती वस्तुमा वर्गीकरण हुने र त्यसको आयात रोकिँदा पनि मध्यवर्ती वस्तुको हिस्सा घटेको देखिएको उनले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?