+
+

अर्थमन्त्री र एडीबी कन्ट्री डाइरेक्टरबीच परियोजनालाई गति दिन छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १७:३०

२९ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) कन्ट्री डाइरेक्टर आर्नो कोशवा र अर्थमन्त्री वर्षमान पुनबीच विभिन्न आयोजनालाई गति दिनेबारे छलफल भएको छ ।

सिंहदरबारमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजना सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।

विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास समेत कोशवाले व्यक्त गरे ।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा गरे ।

आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए ।

२० वर्षपछि विश्व बैंक र एडीबीले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे ।

‘दूधकोशी जलासययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्ये हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकोमा एडीबीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए ।

यस्तै मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे । उनले नेपालमा लगानी बढाउन पनि एडीबीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?