+
+

यो हो विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर ‘डेभिन’, पलभरमै बनाइदिन्छ नयाँ मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:१५

काठमाडौं । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विश्वमा तीव्र रुपमा विकास र प्रयोग भैरहेको छ ।

यसले मानव जीवनको अस्तित्वमै प्रश्न उठाउने तथा रोजगारी र अर्थतन्त्रमै चुनौति खडा गर्ने खालका आँकलनहरु गरिँदै आएको छ । एआईले मानिसको ठाउँ नल्याउने तर मानिसको काम गर्ने तरिका मात्र परिवर्तन हुने यसका समर्थकहरुको दाबी छ । यद्यपि पछिल्लो समयमा एआई प्रविधिमा यस्ता चिजहरु विकास भैरहेका छन् कि त्यसबाट के पुष्टि हुन्छ भने एआईले मानिसकै ठाउँ ओगटिरहेको छ ।

किनकि हालैका दिनहरुमा विश्वमा एआई शिक्षकदेखि एआई मोडेल तथा एआई एयर होस्टेजसम्म आइसकेका छन् । र, अहिले एआई सफ्टवेयर इन्जिनियर तयार भएको छ ।

विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर इन्जिनियरको नाम ‘डेभिन’ हो । यो यति धेरै शक्तिशाली छ कि मिनेटभरमै कोडिङ गरिदिन्छ र कुनै एप डेभलप गर्न सक्दछ । कुनै पनि मानव सफ्टवेयर इन्जिनियरले गर्नसक्ने सबै काम यसले गर्न सक्दछ ।

अमेरिकाको क्यालिफोर्नियास्थित कग्निसन ल्याब्स नामक स्टार्टअप कम्पनीले डेभिन नामक एआई सफ्टवेयर इन्जिनियर बनाएको हो । कम्पनीका अनुसार डेभिनले इन्जिनियरको प्रयोगात्मक अन्तरवार्ता परीक्षा उत्तीर्ण गरेको छ भने विभिन्न एआई कम्पनीहरुका वास्तविक अन्तरवार्ता पनि उत्तीर्ण गरेको छ । डेभिन वास्तवमा एउटा डेभलपर्सदेखि लिएर ब्राउजरसम्म हो ।

यसले कुनै पनि वेबसाइट तयार गर्न सक्छ र कुनै एप तयार गर्न सक्दछ भने कुनै साइटमा रहेका कमजोरीहरुलाई हटाउन पनि सक्दछ । साथै यसले आफैंले अर्को कुनै एआई टुल पनि बनाउन सक्दछ भने अन्य एआई टुललाई तालीम पनि दिनसक्छ ।

डेभिनमा इनबिल्ट कोड एडिटर रहेको छ । त्यसमा नै यसले एआई टुल कोड लेख्दछ । यो एआई इन्जिनियरले सफ्टवेयरसँग सम्बन्धित कुनै पनि जटिल काम गर्नसक्ने दाबी गरिएको छ ।

डेभिनले एण्ड टु एण्ड एनक्रिप्सनको साथमा कुनै पनि एप डिजाइन गर्न सक्ने बताइन्छ । यसका साथै स्वचालित रुपमा बग फिक्स गर्ने काम पनि यसले गर्नसक्छ ।

यद्यपि डेभिन तत्कालका लागि प्रयोगकर्ताले उपयोग गर्न भने पाउने छैनन् । यसलाई आम प्रयोगकर्ताका लागि व्यवसायिक रुपमा कहिलेदेखि उत्पादन गरिनेछ भन्ने बारेमा कम्पनीले केही पनि बताएको छैन ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?