+
+

राजेश हमाललाई ओलीको कटाक्ष- महानायक हुँदाहुँदै म किन फिल्ममा आउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते २०:११

काठमाडौं । राजनीतिज्ञको रुपमा केपी शर्मा ओली र अभिनेताको रुपमा राजेश हमालबीच एउटा समानता छ- दुवै जनामाथि प्रशस्तै ट्रोल र मिम बन्छन् । दुवैको हास्यचेत  गज्जबको छ ।

शुक्रबार यी दुईजना एउटै मञ्चमा सुनिए । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको विमर्श सत्रमा यी दुईले कला, समाजवाद, अध्यात्म, राजनीतिदेखि ब्रह्माण्डसम्मका आयाममा गफगाफ गरे । दुई घण्टा लामो संवाद वस्तुगत र विषयगत दुवै पक्षमा केन्द्रित रह्यो ।

‘कला झूट हो’ भन्ने महान चित्रकार पिकासोको भनाई उद्धृत गर्दै हमालले ओलीलाई प्रश्न गरे । जवाफमा ओलीले जीवन अभिनय गरेर नचल्ने तर्क गरे ।

उनले भने, ‘फिल्ममा नखाएपनि खाएको अभिनय, प्रेम नभएपनि प्रेमको अभिनय, नलडे पनि लडेको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय, नमरे पनि मरेको अभिनय । जिन्दगीमा त यो हुँदैन नि त ।’

हमालले कलाको सुरुआत झूठबाट हुने भन्दै पिकासो अभिव्यक्तिलाई पुष्टि गर्ने प्रयास गरे । ‘फिल्म झूठको खेती हो भन्ने थाहा हुँदाहुँदै पनि फिल्ममा देखाइएका कुराबाट प्रभावित भएर कोही रुन पनि सक्छ, कोही हाँस्न पनि सक्छ’ हमाल भन्छन्, ‘मान्छे विभिन्न किसिमको भावनात्मक उतारचढावमा बहन थाल्छ । यसकारण भिजुअल मिडियाको त्यो सशक्ततालाई त नकार्न मिल्दैन होला नि ।’

तर, ओली फिल्मलाई झूठ मान्न तयार भएनन् । उनले फिल्मलाई कलाको रुपमा ब्याख्या गरे । ‘बरु, म यसलाई कथा र अभिनय भन्छु’ ओलीले भने, ‘झूठो भन्दा अलि होच्याइयो त्यसलाई ।’

ओलीले महाभारतलाई कथा भएको बताए । ‘युद्ध त अलिअलि भए होला तर यो कथा हो नि । सिनेमा र टेलिसिरियल नबन्दा पनि मान्छेले कृष्ण, धृतराष्ट्र, द्रोणाचार्य र युधिष्ठिरको परिकल्पना गर्थे । यो कलाको सफलता हो’ महाभारतबारे उनी सुनिए ।

ओलीको तर्क छ- कला यथार्थ चित्रण हैन, कला र कथा हो । तर, झूठ होइन । कथा इतिहास होइन । कथालाई झूठ होइन परिकल्पना भन्नुपर्छ ।’

ओली समाजमा विश्वासको संकट देख्छन् । ‘समाजमा विश्वासको संकट छ । हामी यसबाट मात्र चलेर हुँदैन । प्रकृति एउटा लय र चालमा समेत छ’ उनी सुनिए, ‘मान्छेले अमेरिका छ भन्थे । मैले पत्याएको थिइँन । पछि गएर हेर्दा, छ रहेछ ।’

ओलीको हाँस्यचेतको चर्चा धेरैतिर हुने गर्छ । हमालले ओलीको ‘सेन्स अफ ह्युमर’को प्रसंग निकाले । ‘हामीले जे जस्तो विषयवस्तु पस्किएता पनि त्यहाँ मनोरञ्जन हुनुपर्छ भन्छन् । त्यो शैली तपाईंमा पनि छ । राजनीति वा सामाजिक कुरा गरेपनि तपाईंमा इन्टरटेनमेन्ट फ्याक्टर देखिन्छ’ ओलीलाई लक्षित गर्दै हमालले भने ।

आफूलाई ‘सेन्स अफ ह्युमर’को रुपमा हमालले भनेपछि ओलीले भने- म यहाँ तपाईहरुलाई दुःखी बनाउन आएको होइन ।

हमाल- तपाईंमा सेन्स अफ ह्युमरको प्रभाव कत्तिको छ ?

ओली- अलिअलि छ ।

हमाल- मेरोमा पनि धेरै जोक्स र ट्रोल बन्छ । फेसबुकमा पेज नै छ । जोक्स र टोललाई तपाईंले कसरी हेर्नुभएको छ ?

ओली- दुईटा कुरा छ । बुझ्नेले र नबुझ्नेले फरक ढंगले लिन्छन् । दोस्रो- जसरी भएपनि केपी ओलीको विरोध गर्नुपर्छ भन्ने कथा बोकेर हिँडेका पनि छन् ।

हमालले आफूमाथिको जोक्सलाई वस्तुगत रुपमा बुझ्ने बताए । भन्छन्- मैले मेरो जोक्समा कता-कता ह्युमर पनि हेर्छु । कता-कता आफूलाई अलग्गाएर पनि हेर्छु । सेन्स अफ ह्युमर छ भने त्यसलाई मैले ग्रहण पनि गर्छु र अन्यत्र सम्प्रेषण पनि गर्छु । यदि लोग्ने मान्छे आफूमाथि हाँस्न सकेन भने त्यो के लोग्ने मान्छे ।’

राजनीतिज्ञ विन्स्टल चर्चिलको भनाई सापटी लिँदै ओलीले आफूमाथिको हाँस्यव्यंग्यबारे भने- यदि तपाईंसँग शत्रु छन् भने यो राम्रो कुरा हो ।’ यी कुरा भनिरहँदा, आफूलाई व्यंग्य गर्नेलाई लिएर ओली असन्तुष्ट सुनिएजस्ता देखिन्थे ।

यसपछि हमालले सन्दर्भ फिल्मतिर मोडे । ओलीलाई सोधे- कस्तो सिनेमालाई राम्रो भन्नुहुन्छ ?

उनले तीन खालका फिल्म आफूलाई मनपर्ने बताए । पहिलो- नालापानीजस्ता देशभक्ति फिल्म, दोस्रो- चेतनामूलक र तेस्रो- छक्कापञ्जाजस्ता मनोरञ्जनात्मक फिल्म ।

आफूले फिल्म हेर्दा मुख्यतः दुई पक्षलाई हेर्ने ओलीको कथन छ । ‘कथावस्तु र त्यसलाई प्रस्तुत गर्ने कलाकारले कसरी पात्र निर्वाह गरेका छन् भन्ने हेर्छु’ ओलीले भने ।

हमालले चार तरिकाबाट मानिस फिल्मबाट प्रभावित हुन चाहने बताए । ‘चलचित्रकर्मीको रुपमा म मानसिक, बौद्धिक, भावनात्मक, भौतिक र शारिरिक तरिकाबाट मानिस प्रभावित हुन चाहने देख्छु’ उनले भने, ‘चारै चीजलाई तरंगित बनाउने फिल्म बनाउन असम्भव छ । एउटा मात्र मिल्यो भने पनि क्या राम्रो फिल्म बन्छ भन्छन् ।’

तपाईं फिल्ममा नआउने ? हमालको प्रश्नमा ओलीको जवाफ थियो- फिल्ममा आउने रुचि छैन । महानायक र साथीहरु हुनुहुन्छ । म किन सिक्न आउने ?’

त्यसपछि हमालले आफ्नो बहुचर्चित डायलग बोले- साथीहरुको यो हात सलाम, दुस्मनको लागि यो हात फलाम ।’ ओलीले यसमा टिप्पणी गर्दै भने- राजेशजीले मेरो लागि बोल्दिनुभएको छ ।’

दर्शकदीर्घाबाट ओलीलाई प्रश्न तेर्सियो- यो उमेरसम्म पनि तपाईंको ऊर्जाको स्रोत के हो ?

ओलीले कर्तव्यबोध र इच्छाशक्ति भन्ने जवाफ दिए । ‘मलाई बाँचुन्जेल बाँच्नुको अर्थ हुनुपर्छ । मैले जति बाँच्छु, सक्रिय जीवन बाँच्ने हो’ ओली सुनिए ।

त्यसपछि दुबैजनाले एकअर्काको अनुकरणीय र प्रशंसाका गफ गरे । ओलीले हमाललाई हेन्डसम, विद्धान, शालिन, राम्रो स्वभाव र राम्रो अभिनयकर्ता भएको बताए । ‘उहाँ समाजसँग घुलमिल हुन सिपालु हुनुहुन्छ । यिनै विशेषता र गुणले राजेश हमाल मनपर्छ’ ओलीले भने ।

राजेशले पनि ओलीको राजनीतिक सिद्धान्तभन्दा उनको व्यवहार र जीवनबाट आफू प्रभावित रहेको बताए । ‘नागरिकको रुपमा उहाँप्रति केही असन्तुष्ट पक्कै छन् । तर, उहाँको जीवनलाई मैले जति बुझेको छु । प्रतिबद्धता र निष्ठा उहाँबाट सिक्न सकिने कुराहरु हुन्’ हमालले भने ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजान फिल्मको गुणस्तरमा सुधार्नुपर्नेमा ओलीले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?