+
+

लेखक कलाकारहरू : भुल्दै त छैनौँ ‘चैत्र ३’

स्रष्टा सर्जकहरूको त्यो महान दिनमा प्रत्यक्ष सहभागी हुने र त्यही दिनको विचार ज्योतिमा आलोकित हुने श्रष्टाहरू कतै त्यही दिनलाई बिर्सन लागिरहेका त छैनौं ?

नन्दु उप्रेती नन्दु उप्रेती
२०८० चैत ३ गते १२:१८
२०४६ चैत ३ गते जनआन्दोलनका पक्षमा उत्रिएका लेखक-कलाकारहरू ।

नेपालमा २०४६ सालको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक बहुदलीय व्यवस्था आरम्भ भएपछि करिब साढे तीन दशकमा यहाँका नदीहरूमा धेरै पानी बग्यो ।  यो समयमा हजारौं पटक दिन र रातहरू फेरिए, अनेकौं पटक ऋतुहरू फेरिए । त्यस्तै  अनगिन्ती वर्तमानका घटनाहरू विगत भएर कति स्मृतिका पानामा समेटिए त कति विस्मृतिमा ओझेल परे ।

पञ्चायती व्यवस्थाको अन्त्यका लागि त्यो व्यवस्था आरम्भ भएकै दिनदेखि आन्दोलनको पनि आरम्भ भएको थियो । सङ्गठित एवं असङ्गठित रूपमा भएका आन्दोलनहरूले थुप्रै घुम्ती, उकाली र ओरालीहरू पार गरे । राजनीतिक परिवर्तन अर्थात् व्यवस्था परिवर्तनको आकाङ्क्षी धेरै नागरिकहरूले आफ्नो जीवनको आहुति दिए, अनगिन्ती परिवर्तनप्रेमीले कठोर काराबासको जीवन गुजारे भने कतिले निर्वासनका दिनहरू व्यतित गरे ।

विभिन्न वर्ग, पेसा र तप्काका जनता एवं  राजनीतिक पार्टीहरूको निरन्तरको त्याग, वलिदान र समर्पणका कारण २०४६ सालको परिवर्तन सम्भव भएको थियो । त्यो परिवर्तनका लागि आफ्नो जीवनलाई क्रियाशील तुल्याउनेदेखि जीवन नै अर्पण गर्ने अग्रगामी परिवर्तनकामी सोचका सबै नायकहरूप्रति उच्च सम्मान छ ।

२०४६ सालको परिवर्तनका लागि सबै वर्ग, पेशा र तप्काका नागरिकहरूले आफ्नो तर्फबाट अधिकतम् प्रयास र योगदान गरे । यस्ता कति प्रयास र योगदानहरूले आन्दोलनलाई क्रियाशील बनाइरहे भने कतिले तीव्र गति प्रदान गरे, कति सिंगो आन्दोलनलाई जीवित राख्ने आधार बने भने कति आन्दोलनलाई अग्रगति दिने ऊर्जा बने । यस्ता सबै प्रयास र अभियानहरू आन्दोलनकै रूपहरू थिए, आन्दोलनकै अभिन्न अङ्गहरू थिए ।

यस लेखमा उल्लेख गर्न खोजिएको सन्दर्भ भने २०४६ साल चैत्र ३ गतेको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्था स्थापनार्थ राजनीतिक पार्टीहरूले आह्वान गरेको पञ्चायत विरोधी घोषित आन्दोलनले फागुनका अन्तिम दिनहरूसम्म प्रभावकारी रूप धारण गर्न सकिरहेको थिएन । सरकारी दमन कठोर बनिरहेको थियो । राजनीतिक पार्टी एवं विभिन्न जनवर्गीय संगठनका धेरै नेताहरू गिरफ्तारीमा परिसकेका थिए । आन्दोलनको प्रचार र व्यापकता देशव्यापी बनिसके पनि त्यो ज्वाला भएर दन्कन भने सकिरहेको थिएन । मानिसहरूमा आन्दोलन कमजोर भइरहेको त छैन ? कमजोर हुने त हैन ? भन्ने जस्तो आशङ्का मनोविज्ञानको प्रभाव पनि बढिरहेको थियो ।

यस्तै अवस्थामा पञ्चायत विरोधी, परिवर्तनप्रेमी लेखक कलाकारहरू आन्दोलनकै सफलताको मूल उद्देश्यमा सामूहिक रूपमा सहभागी भएको दिन थियो २०४६ साल चैत्र ३ गते ।

आफ्ना पेशा, व्यवसाय र सम्पूर्ण कामहरू छोडेर सयौं लेखक कलाकारहरू पञ्चायत विरोधी आन्दोलनको महत्वपूर्ण अङ्ग बनेर सडकमा उत्रिएको दिन थियो त्यो दिन । आफ्ना सिर्जनाहरू प्रकाशन गरेर, वाचन गरेर, प्रदर्शन र मञ्चन गरेर मात्र पुगेन अब लेखक कलाकारहरू आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी बन्नुपर्छ भन्ने निष्कर्षको मूर्त रूप थियो त्यो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मूल गेट अगाडि मुखमा कालोपट्टी बाँधेर मौन विरोध प्रदर्शन गर्ने जानकारी अधिकांश लेखक कलाकारहरूसम्म पुगिसकेको थियो।

नागरिक दमन र धरपकडको विरोध मौन रूपमा गर्ने र यही विरोध नै पञ्चायतको विरोध एवं लोकतान्त्रिक बहुदलीय व्यवस्थाको माग हो भन्ने कुरामा सबै लेखक कलाकारहरू प्रष्ट थिए ।

२०४६ सालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण कडी बनेको ‘चैत्र ३’ लेखक कलाकारहरूको ‘गौरव दिवस’का रूपमा विधिवत स्थापित हुनुपर्नेमा कतै यसलाई भुल्न थालिएको त छैन ?

तोकिएको समयभन्दा धेरै अगाडि पुगेर अलमल नगर्ने ठिक समयमा पुगेर धर्नामा बस्ने भनिएकाले साढेएघार, बाह्र बजेको हाराहारीमा प्रज्ञा प्रतिष्ठानतर्फ जाँदै गर्दा तोकिएको ठाउँमा नपुग्दै कति लेखक कलाकारहरू प्रहरीद्वारा रोकिएपछि हतारहतार बागबजारतिर फर्कदै कोही, कोही कमलादीतिर दौडदै त कोही घण्टाघरतिर लाग्दै परिवर्तित गन्तव्यको खोजी गर्न थाले ।

ठाउँ ठाउँमा साथीहरूबाटै परिवर्तित धर्नास्थलबारे संकेत पाएपछि लेखक कलाकारहरू त्रिचन्द्र क्याम्पस, सरस्वती सदनतर्फ दौडिएका थिए । कोही छिटो पुगे त्यहाँ भने कोही पुग्न केही ढिला पनि भयो ।

धेरै स्रष्टाहरू धर्नास्थल खोज्दै, दौडदै सरस्व  ती सदनमा पुग्दा धर्नामा बसेका अधिकांश लेखक कलाकारहरूलाई ट्रक र भ्यानमा हालेर प्रहरीले महेन्द्र पुलिस क्लब, पुतली सडकतिर दौडाई हाल्यो । बोल्ने, देख्ने वा संकेत गर्ने अवस्था रहेन । मौन धर्नामा बसेको पन्ध्र बीस मिनेटमै प्रहरीले धरपकड गरिहाल्यो ।

सरस्वती सदनको प्राङ्गणमा साहित्यकार पारिजात मात्रै एक्लै रहनुभयो। उहाँलाई चाहिँ गिरफ्तार नगरी प्रहरीले त्यहीँ छोडेको थियो । उहाँकै अनुसार महिला प्रहरीले मात्र मलाई समाऊ भनेपछि प्रहरीले उहाँलाई गिरफ्तार गरेनछ । सायद उहाँको शारीरिक अवस्थाका कारण प्रहरीले जोखिमको सम्भावना पनि देख्यो होला ।

पारिजात दिदीले पछि आउनेहरूलाई घटना विवरण सुनाएर अब त्यहाँ नरहन र गिरफ्तार साथीहरूको चासो गर्न भन्नुभयो । कोही न कोही साथी मलाई लिन पक्कै आउनुहुन्छ भन्ने उहाँमा विश्वास थियो । केही समयपछि कुमार राउतले उहाँलाई घर पुर्‍याइदिनु भएछ ।

आन्दोलनमा त्यो दिन लेखक कलाकारहरूले आवाज निकालेर जिन्दावाद र मुर्दावादको नारा लगाएनन् । चर्काचर्का स्वरमा भाषण गरेनन् । प्रहरीसँग दोहोरो भिडन्त गरेनन् । अरुबेला आवाज नहुनेहरूको आवाज बन्ने वर्ग त्यो दिन मौन बस्यो । प्रकृतिलाई समेत आवाज दिने वर्ग त्यो दिन मौन बस्यो। इतिहास, वर्तमान र भविष्यलाई आफ्नो प्रतिभाले पर्गेल्न सक्ने वर्ग त्यो दिन मौन बस्यो । रूप र सार दुवैमा दुनियाँलाई चिन्न र बुझ्न सक्ने वर्ग त्यो दिन मौन बस्यो।

त्यो दिन मौन मात्र बसेको हैन त्यो वर्ग मुखमा कालोपट्टी बाँधेर विरोधको उत्तम रूप प्रकट गरिरहेको थियो । आवाज नहुनेहरूले अति भएपछि आवाज निकालेर विरोध गर्छन् तर आवाज हुनेहरूले आवाज लुकाए भने विरोध हुन्छ । त्यही भयो त्यो दिन । त्यो आवाज लुकाएर गरेको विरोध बिहानीको उज्यालो जसरी नै फैलियो देशभरि र भौगोलिक सीमा नाघेर देश बाहिरसम्म पुग्यो । पुग्यो अन्य विभिन्न पेशा र व्यवसायमा संलग्न जनहरूका मनसम्म ।

चैत्र ३ गते लेखक कलाकारहरूले आवाज लुकाएर बोलेको आवाजको ज्योतिले शिक्षक, प्राध्यापकहरूलाई जागरुक गरायो। किसान मजदुरहरूलाई उत्साहित गरायो । राजनीतिक पार्टी र नेता कार्यकर्ताहरूमा आत्मविश्वासको धरोहर उभ्याइदियो ।

केही दिनभित्रमै आन्दोलनले गति लिन थालिहाल्यो । सडक आन्दोलनमा जनसहभागिता सघन हुन थाल्यो । सभाहरू व्यापक हुन थाले । आन्दोलनमा जागृतिका नयाँ नयाँ रूप ढङ्गहरू प्रकट हुन थाले। देशव्यापी रूपमा सडक आन्दोलन जिम्मेवारीबोध र आकर्षणको केन्द्र बन्न थाल्यो । अर्थात् चैत्र ३ को ऊर्जाले आन्दोलनलाई आत्मविश्वास दियो, साहस दियो र  आन्दोलन आधीँहुरी झैँ भएर प्रकट हुन थाल्यो।

अदम्य साहसका साथ कठोर दमन र यातना भोग्न तयार भएर त्यो दिन वृद्ध लेखक कलाकारहरूदेखि नवयुवा स्रष्टा सर्जकहरू त्यो आन्दोलनमा सहभागी भएका थिए। वरिष्ठता र कनिष्ठताको बीचको सिमाना भत्काएर सबै स्रष्टा सर्जकहरू त्यहाँ पुगेका थिए। वैचारिक विविधताको असजिलो नामेट गरेर स्रष्टा सर्जकहरू त्यहाँ पुगेका थिए। कोही कार्यक्रममै पुग्न सफलभए गिरफ्तारीमा परे, कति ढिला पुगे गिरफ्तारीबाट जोगिए र जानकारी एवं समाचार प्रवाह गर्ने माध्यम बने, कोही भने प्रहरीका ट्रक र भ्यानमा नअटेर गिरफ्तार हुनबाट बचेका थिए ।

२०४६ सालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण कडी बनेको ‘चैत्र ३’ लेखक कलाकारहरूको ‘गौरव दिवस’का रूपमा विधिवत स्थापित हुनुपर्नेमा कतै यसलाई भुल्न थालिएको त छैन ? यसको महत्वलाई उच्चतम् सम्मानका साथ सम्झना गरिनुपर्नेमा यो दिन विस्मृतिको छायातिर धकेलिंदै त छैन ? स्वास्थ्य र शारीरिक अस्वस्थताका बावजुद आन्दोलनमा होमिएका युद्धप्रसाद मिश्र, पारिजात र बासु शशी जस्ता श्रष्टाहरूमाथि अन्याय त भइरहेको छैन ? नयाँ आउने पिँढीसामु प्रज्वलित भइरहनुपर्ने दीप धिपधिपाइरहेको त छैन ?

लेखक कलाकारहरूका काम कहिल्यै सकिन्न । अहिले त झन काम सकिने वा कम हुने हैन उनीहरू सामु कामहरू त झन् झन् थपिइरहेको अवस्था आइरहेको देखिंदैछ । सामाजिक उत्तरदायित्वको भावना र जिम्मेवारीबोधको चेतना क्रमशः भुत्ते महसुस भइरहेको वर्तमान अवस्थामा  चैत्र ३ को कालजयी चेतनाको ज्योति अझ चम्किलो हुन आवश्यक भएको छ ।

स्रष्टा सर्जकहरूको त्यो महान दिनमा प्रत्यक्ष सहभागी हुने र त्यही दिनको विचार ज्योतिमा आलोकित हुने श्रष्टाहरू कतै त्यही दिनलाई बिर्सन लागिरहेका त छैनौं ? २०४६ साल चैत्र ३ को आन्दोलनमा सहभागी कृतिशेष अग्रज स्रष्टा सर्जकहरूप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान छ । रहेकाहरूलाई चैत्र तिनको कालजयी मार्गनिर्देशनको दीपलाई अझ चम्किलो र ज्योतिमय बनाउन आजकै दिनले उत्साहित बनाओस् । ‘चैत्र ३’ नेपाली लेखक कलाकारहरूका लागि साझा रूपमा सधैं सधैं ‘गौरव दिवस’का रूपमा विधिवत स्थापित हुन सकोस् ।

(लेखक उप्रेती युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?