+
+

थ्री एक्स थ्री बास्केटबलले देखाएको सम्भावना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ६ गते १८:४१

२९ भदौ, काठमाडौं । क्रिकेटमा टी-२० फर्म्याट र फुटसलजस्तै हो बास्केटबलको थ्री एक्स थ्री फर्म्याट । फुलकोर्ट बास्केटबल भन्दा फरक, थोरै खेलाडी, छिटो दिमाग लगाउनुपर्ने र हाफ कोर्टमा खेलिने भएकाले यसको रोमाञ्चकता छुट्टै छ ।

नेपाल बास्केटबल संघ (नेबा) र यस अन्तर्गतकै थ्री एक्स थ्री नेपाल बास्केटबलले संयुक्त रुपमा हालै महिला र पुरुषको खुला थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता  आयोजना गर्‍यो । जसमा पुरुषतर्फ टाइम्स ए र महिलातर्फ ललितपुर ए टिम च्याम्पियन बने ।

पुरुष ३२ र महिला ८ गरी ४० टोलीले खेलेको यस प्रतियोगिताले थ्री एक्स थ्री बास्केटबलको चर्चा बढाएको छ । जसमा बंगलादेशबाट समेत तीन टोली खेल्न आएका थिए ।

थ्री एक्स थ्री हाफ कोर्टमा खेलिन्छ र खेलाडी पनि एक टिममा जम्मा ३ जना हुन्छन् । दुवै टिमले एउटै बास्केटमा स्कोर गर्नुपर्छ ।

जम्मा १० मिनेटको खेलमा एक टिमले एक पटकमा जम्मा १२ सेकेण्ड मात्र बल होल्ड गर्न पाउँछ । यस्तै सुरुमा २१ अंक जोड्ने टिम खेल समय बाँकी रहेपनि स्वत: विजयी हुन्छ ।

नेबाका अध्यक्ष भीमसिंह गुरुङले थ्री एक्स थ्री फास्ट र माइन्ड गेम भएको बताए । ‘थ्री एक्स थ्रीमा प्रेडिक्ट गर्न सकिन्न  । यसमा सेकेण्डभरमा नतिजा उल्टिल्छ’, उनले भने, ‘थ्री एक्स थ्री मा साइजले फरक पार्दैन । यो फास्ट र टेक्निकल हुन्छ । यो एउटा माइन्ड गेम पनि हो । फास्ट खेल्ने र माइन्ड लगाउनेले खेल जित्न सक्छ ।’

यो प्रतियोगितामा केही विदेशी खेलाडीसहित  १६० खेलाडीले सहभागिता जनाए । थ्री एक्स थ्रीको राष्ट्रिय टिम छनोटको आधार समेत मानिएको यस प्रतियोगिताबाट पुराना खेलाडीले आफूलाई निखार्ने र नयाँ खेलाडीले क्षमता देखाउने अवसर पाए ।

पछिल्लो समय स्कुलस्तरमा बास्केटबल गतिविधि बढेका छन् तर राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । भीम सिंह गुरुङ कार्यवाहक अध्यक्ष बनेपछि पूर्व अध्यक्ष लामा टेण्डीको स्मृतिमा महिला र पुरुषको राष्ट्रिय स्तरको प्रतियोगिता भएको थियो तर त्यसले निरन्तरता पाए ।

नेबाले पुरुषको लिग सञ्चालन गर्ने भनेपनि त्यसलाई थाती राख्दै क्लब च्याम्पियनसिप आयोजना गर्‍यो । त्यस्तै केही समयअघि यू-१९ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्‍यो । अहिले थ्री एक्स थ्री खुल्ला प्रतियोगिता भयो ।

थ्री एक्स थ्रीमा मस्ट भ्यालुएबल प्लेअर बनेकी ललितपुर ए की गरिसा सिलवालले धेरै पछि थ्री एक्स थ्री खेल्न पाउँदा खुशी लागेको र राम्रो प्रतियोगिता भएको बताइन् । ‘यसरी नै गेम भयो भने विदेशी खेलाडीहरु पनि आउनुहुन्छ र हामीलाई पनि राम्रो हुन्छ’, उनले भनिन् ।

पदकको सम्भावना

गत असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपाली महिला टोलीले थ्री एक्स थ्री बास्केटबलमा सहभागिता जनाएको थियो । गरिसासँगै श्रेया खड्का, रिन्छेन मोक्तान र मीना गुरुङले नेपालको तर्फबाट खेलेका थिए ।

पछिल्लो समय बास्केटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको न्यून सहभागिता छ । सन् २०१९ मा घरेलु मैदानमा १३औं साग खेलेपछि नेपालको पुरुष  र महिला टिमले जम्मा एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेले ।

महिलाले साबा च्याम्पियनसिप र पुरुष टिमले फाइभ नेसन टुर्नामेन्ट खेल्यो । त्यसपछिको अन्तर्राष्ट्रिय प्रतियोगिता १९औं एसियाड मात्र हो ।

नेबाले अब थ्री एक्स थ्री लाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो गर्न सक्ने खेलको रुपमा प्राथमिकतामा राखेको छ । अध्यक्ष गुरुङले फुलकोर्टमा भन्दा थ्री एक्स थ्री मा नेपालको सम्भावना धेरै रहेको बताए । ‘यसमा हामीले एसियामै राम्रो गर्ने गरी फोकस गरेर अघि बढेका छौं’, अध्यक्ष गुरुङले भने ।

खेलाडी भन्छन् : निरन्तर खेल भए राम्रो हुन्छ

थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताबाट खेलाडीहरु पनि उत्साहित छन् । तर यस्ता खालको प्रतियोगिता निरन्तर हुनुपर्ने  उनीहरुको भनाइ छ ।

पुरुषको प्रतियोगिता धेरै भएपनि महिलाको प्रतियोगिता थोरै छ । महिलामा कीर्तिपुर र ललितपुरले दुई दुई टिम बनाउँदा पनि जम्मा ८ टोली मात्र बने ।

टाइम्स ए बाट खेल्दै थ्री एक्स उपाधि जितेका राष्ट्रिय टिमका कप्तान सदिश प्रधानले निरन्तर भए खेलाडीको खेल सुधार हुँदै जाने बताए ।

‘पुरुषको थ्री एक्स थ्री भइरहेको छ । नयाँ आएका खेलाडीहरु पनि क्षमतावान छन्, एक्सपोजर मुख्य कुरा हो । जति अन्तर्राष्ट्रिय खेल खेल्न पाउँछौँ उति नै टिम राम्रो हुन्छ’, उनले भने ।

नेबा भीमसिंह गुरुङ सरकारले पूर्वाधार बनाइदिए आफूहरु धेरै काम गर्न सक्ने बताउँछन् । ‘१२ महिना प्रशिक्षण गर्ने भौतिक पूर्वाधार आवश्यक छ र यो सरकारले गर्नुपर्ने हो’, उनले भने, ‘प्रशिक्षण गर्ने अवसर पाए नेबाले अरु काम गर्न सक्छ र त्यसो भएमा निकट भविष्यमा हामी अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्छौँ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?