+
+

तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि बिहेको १६ वर्षपछि पत्नीसँग डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १६:४२

काठमाडौं । विवाहित जोडी या गर्लफ्रेण्ड ब्वायफ्रेण्डमा प्रायः एकजना पार्टनरको तर्फबाट धोका भएका घटना धेरै हुने गर्दछन् । यस्तोमा धोका खानेवाला किन त रोइकराई गर्दछन् कि त बदला लिन चाहन्छन् ।

एक दम्पतिको बिहे भएको १६ वर्ष भयो, तीनवटा बच्चाबच्ची पनि जन्मिए । छोराछोरीहरु राम्रैसँग हुर्किरहेका थिए र उनीहरुको सम्बन्ध गज्जबले चलिरहेको थियो । तर अकस्मात् एउटा गम्भीर धोकाको खुलासा भयो । १६ वर्षपछि जब ती व्यक्तिलाई आफ्नी पत्नीको कर्तूत थाहा भयो, तब उनी मर्माहत भए।

डिसेम्बर २००७ मा चेन जिक्सियनले आफूभन्दा ८ वर्ष कान्छी यू हुआ नामकी युवतीसँग पहिलो चिनाजानीपछि नै बिहे गरेका थिए । यू एकजना निकै सरल र व्यवहारिक महिला देखिन्थिन् । चेनका बुवाआमाले पनि बिवाहका लागि लामो समयदेखि चेनलाई दबाब दिइरहेको बेला यूसँग भेट भएपछि पहिलो नजरमै मन पराए र दायाँबायाँ केही नसोँचीकनै बिहे गर्ने निधो गरिहाले ।

बिहे भएको केही दिनपछि नै यू ले पति चेनसँग आफु गर्भवती भएको बताइन् । यस्तो सुन्दा चेन खुसीले गदगद भए।

यू ले छोरी जन्माइन् । त्यसपछि चेन गाडी चलाउने काम गर्नका लागि अर्को सहरमा गए । त्यसैले रोजगारीका कारणले गर्दा उनी वर्षको अधिकांस समय पत्नीबाट टाढै बस्न बाध्य भए र छोटो समयका लागि मात्रै घर आउँथे । वर्ष बित्दै गए । यू हुआले अर्की छोरी जन्माइन् । दोश्रो सन्तान प्राप्ति भएकोमा चेन अझै खुसी भए। तर सन् २०१९ जब यूले आफु तेश्रोपटक गर्भवती भएको बताइन् तब चाहीँ उनलाई पत्नीप्रति शंका लाग्यो ।

यसपटक चेनलाई थाहा थियो कि उनी गर्भ रहनुभन्दा अगाडि घरमै गएका थिएनन् । आफुहरुको भेट नै भई र संसर्ग नै नभइकन गर्भ कसरी रह्यो ? भन्ने विषयमा उनले पत्नीसँग कुरा गरे । यूले भने बच्चा चेनकै भएको जिद्दी गरिन् । पत्नीको जिद्दीका अगाडि चेनको केही लागेन् र उनले तेश्रो छोरी पनि आफ्नै स्वीकार्न बाध्य भए।

सन् २०२२ को नोभेम्बरमा चेन जिक्सियनले अन्ततः पत्नीको धोका तथा कर्तूत थाहा पाए । आफ्नी पत्नी यूको विवाहेत्तर सम्बन्ध रहेको र वू नामका एकजना पुरुषसँग उनको अवैध सम्बन्ध चलिरहेको उनले थाहा पाए । यू ले शांगराव सहरको एक अस्पतालमा चौथो छोरी जन्माएकी थिइन् ।

यस्तो तथ्य थाहा पाइसकेपछि पत्नीसँग झगडा गर्न एक्लै जानुको साटो एकजना वकिल बोलाए सो अस्पताल लगे । पत्नी यू ले सोही महिनामा त्यस अस्पतालमा गएर छोरी जन्माएकी थिइन् र त्यहाँ भर्नुपर्ने फाराममा बुवाको रुपमा चेनको नाम लेखेर ब्वायफ्रेण्डबाट नक्कली हस्ताक्षर गराएकी थिइन् ।

त्यसपछि यू हुआलाई आफ्ना यसअघिका तीनवटा सन्तानको वास्तविक पिता आफु भएको कुरामा पनि शंका लाग्यो । उनले पत्नीसँग डिभोर्सका लागि निवेदन दिए र त्योसँगै आफ्ना हरेक सन्तानको पितृत्व परीक्षण गराए । उक्त परीक्षणको नतिजा मर्माहत बनाउने खालको थियो । जुन तीनजना छोरीहरुलाई उनले आफ्नै भनेर पालनपोषण गरेका थिए तीमध्ये कुनैपनि बच्चा आफ्नो नभएको र उनीहरुको जैविक पिता अरु कोही पुरुष भएको पुष्टि भयो ।

त्यसबाट दुखी भएका चेनले पत्नी यूलाई डिभोर्सका लागि अदालत लगे । उनले डिभोर्ससँगै आफुमाथि भावनात्मक अपराध गरेको भन्दै त्यसको लागि क्षतिपूर्तिको समेत माग गर्दै निवेदन दिए।

उक्त पारिवारिक अदालतले सन् २०२३ को डिसेम्बर २३ मा डिभोर्सको मुद्दामा आफ्नो अन्तिम फैसला सुनाउँदै उनीहरुको सम्बन्ध विच्छेद हुने फैसला गर्यो । अदालतले चेन जिक्सियनलाई पहिलो र दोश्रो छोरीको जैविक पिता नभएता पनि अभिभावकत्वको अधिकार प्रदान गर्‍यो । त्यस्तै यू लाई पूर्वपति चेन जिक्सियनको सम्पत्तिमा कुनै दाबी गर्न नपाउने र पति र छोरीहरुका लागि मासिक गुजाराका लागि भत्ता उपलब्ध गराउनुपर्ने आदेश पनि दियो । एजेन्सीको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?