+
+

परराष्ट्रमन्त्री बेइजिङ जाने, बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर होला ?

दिपेश शाही दिपेश शाही
२०८० चैत ७ गते १९:३८

७ चैत, काठमाडौं। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ भ्रमणमा जाने तय भएको छ ।

चीनको हाइनान् प्रान्तमा १३ चैतदेखि बोआओ फोरम आयोजना हुँदैछ, जहाँ नेपालबाट को सहभागी हुने भन्ने टुंगिएको छैन । तर, त्यही बेला चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री श्रेष्ठको बेइजिङ जाने तय भएको हो ।

चीनको हाइनानमा हरेक वर्ष आयोजना गर्ने बोआओ फोरममा यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुखले सहभागिता जनाउँदै आएको भए पनि अघिल्लोपटक प्रधानमन्त्री पुष्पकमल प्रचण्ड भारत भ्रमणमा जानुपर्ने कारण देखाएर सहभागी भएका थिएनन् ।

यसपटक परराष्ट्रमन्त्री श्रेष्ठ फोरममा सहभागी हुने तयारी भइरहेको थियो । तर यही समयमा श्रेष्ठको बेइजिङ भ्रमण तय भएसँगै बोआओ फोरममा नेपालको सहभागिता अनिश्चित भएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ ११ चैतमा बेइजिङ प्रस्थान गर्नेछन् । त्यसको भोलिपल्ट १२ चैतमा चिनियाँ समकक्षी वाङसँग भेटवार्ता समेत तय भएको छ ।

बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर होला ?

नेपालमा गठबन्धन परिवर्तन भएको केही सातामा परराष्ट्रमन्त्री श्रेष्ठको बेइजिङ भ्रमण तय भएको छ ।

उच्च कूटनीतिक स्रोतका अनुसार सरकारले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को कार्यान्वयन सम्झौतामा हस्ताक्षरको तयारी गरेको छ । तर शीर्ष तहमा छलफल चलिरहेकाले हस्ताक्षर हुने/नहुने टुंगो लागिसकेको छैन ।

कार्यान्वयन सम्झौताको मस्यौदा भने चिनियाँ राजदूत छन सोङमार्फत चीनलाई पठाइ सकिएको स्रोतको दाबी छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा अर्थमन्त्री पुनले चिनियाँ राजदूत छनसँग केही चरणमा छलफल गरेका थिए ।

कार्यान्वयन सम्झौताको मस्यौदा तयार पार्न प्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायतले छलफल गरेका थिए ।

यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवलायले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार रुपक सापकोटाले आफूलाई जानकारी नभएको बताए ।

‘प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नै यसलाई छिट्टै अन्तिम रूप दिने भनिएको थियो । अहिले हस्ताक्षर नै हुन लागेको विषयमा भने मलाई जानकारी भएन’, सापकोटाले भने ।

प्रधानमन्त्री प्रचण्डको गत ६ असोजदेखि सम्पन्न एक साताभन्दा लामो भ्रमणका क्रममा यसलाई छिट्टै टुंगोमा पुर्‍याउने सहमति भएको थियो । त्यसबेला जारी भएको १३ बुँदे संयुक्त विज्ञप्तिमा नेपाल र चीनले छिट्टै बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।

नेपालले सन् १२ मे, २०१७ मा बीआरआईमा सहभागी हुने समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको ७ वर्ष बिते पनि नेपालमा बीआरआई अन्तर्गत कुनै आयोजना सुरु हुन सकेका छैनन् ।

नेपालले बीआरआई अन्तर्गत निर्माण गर्न ९ वटा परियोजना छनोट गरेको भए पनि दुई देशबीच त्यसमा सहमति जुटेको छैन ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?