+
+

फिल्म ‘महाजात्रा’को पोस्टर सेयर गर्दै ओली भन्छन्- समय मिलेमा म पनि हेर्छु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १२:०७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेर्ने चाहना राखेका छन् । फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा हेर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोष्टर हेरें । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु ।’

फिल्ममा ओलीको अभिरुचि नयाँ होइन । गत साता नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले अभिनेता राजेश हमालसँग दुई घण्टा फिल्म र कलाको बारेमा विमर्श गरेका थिए । उनले फिल्मले यथार्थ नभएर यो कलाको महत्वपूर्ण विधा भएको भन्दै यसको प्रशंसा गरेका थिए ।

एसिड आक्रमणको कथामा बन्न लागेको फिल्म ‘नमेटिने घाउ’मा उनी पूर्वप्रधानमन्त्रीकै भूमिकामा देखिंदैछन् । सन्देशमूलक भएकाले यो फिल्म खेल्न चाहेको उनको भनाइ छ ।

ओलीले त्यसअघि मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’ पनि हेरेका थिए । फिल्मको प्रिमियरमै पुगेर उनले यसको प्रशंसा गरे । त्यसअघि छक्कापञ्जा, ‘रातोघर’, क्याप्टेन लगायतका फिल्म पनि हलमै पुगेका हेरेका छन् ।

ओली बेलाबेलामा नाटक हेर्न पनि पुग्छन् । नाटक हेर्न शिल्पी थिएटरमा समयमै नपुग्दा भएको विवाद अहिलेसम्म सेलाइसकेको छैन । उनले आफ्ना राजनीतिक भाषणमा समेत फिल्मको किस्सा सुनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?