+
+

राजा महेन्द्रको मृत्यु भएको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते ९:३९

१० चैत, चितवन । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल ट्रष्टका बीच शुक्रवार सम्झौता भएको हो ।

महानगर प्रमुख रेनु दाहाल र नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल ट्रष्टको ७८औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो ।

महानगरपालिकाले भरतपुर भ्रमण वर्ष मनाइरहेको बेला ऐतिहासिक मानिएको दियालो बंगला दरबार खुला गर्ने सम्झौता महत्वपूर्ण हुने महानगर प्रमुख रेनु दाहालले बताइन् ।

बंगालालाई संग्राहलयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अगाडि बढेको उनको भनाइ छ ।

दरबारभित्र आवश्यक पर्ने पर्यटकीय पूर्वाधार निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने उनले बताइन् ।

दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालको भनाइ छ । अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भए पनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ ।

ट्रष्टले ऐतिहासिक एवम् सांकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको छ ।

शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । टिकट घर, शौचालय, पार्किङ्ग, गार्डेनिङ्गका लगायतका कामहरु हुँदैछन् ।

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेका थिए । २०२८ माघ ३ गते यो दरवारमा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राती ११ बजेतिर अचानक हृदयघात भएको थियो ।

उनलाई चिकित्सकहरुले बिहान पौने ४ बजे मृत घोषणा गरेका थिए । उनी एक महिना बस्ने भनेर सो बेला चितवन आएका थिए ।

विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ ।

राजा महेन्द्र बेलाबखत परिवारसहित यहीँ दरवारमा आएर बस्ने, नारायणी नदीको तटिय क्षेत्रमा घुम्ने गर्दथे । राजा वीरेन्ऽले २०५७ सालमा आˆनो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्ऽको तस्वीर देख्न सकिन्छ ।

भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा बेडरुम छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ ।

केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा पौडी पोखरी छ । मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियालीे, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरुले प्रयोग गरेका सामग्रीहरु यहाँका प्रमुख आकर्षण हुन् ।

दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?